मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ । हेटौंडा ८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेल्पबक्स प्याकेजिंङ कार्टुन फ्याक्ट्रीमा आइतबार मध्यराती आगालागी भएको हो ।
काठमाडौ १९ का संजीव मानन्धरले संचालन गरिरहेको फ्याक्ट्री आगालागीबाट पुर्ण रुपमा जलेर नष्ट भएको तर मानवीय क्षति नभएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको जनाइएको छ।
प्रहरीका अनुसार आगलागीको कारण थाहा भएको छैन । घटनामा भएको क्षतीको विवरण समेत हालसम्म प्राप्त नभएको मकवानपुर प्रहरीले जनाइएको छ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले कुनैपनि अस्पतालको परिकल्पना नर्स बिना गर्न नसकिने बताएका छन् । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा ‘चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८१/८२ को तर्जुमा गोष्ठी कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
उनले अस्पताललाई नर्स अपरिहार्य रहेकाे बताउँदै नर्सको महत्व अस्पतालको सेवासुविधासँग जोडिएको विषय भएको धारणा व्यक्त गरे । अस्पताल व्यवस्थापनका विषयमा विशेषज्ञ डाक्टरहरुको मात्रै कुरा उठ्ने र तालिममा पनि नर्सको सहभागिता कम भएको मन्त्री श्रेष्ठको भनाई छ । नर्स विना अस्पताल व्यवस्थित हन नसक्ने उनले बताए । डाक्टर र नर्सलाई समान अवसर प्रदान गर्नु पर्ने समेत उनले आग्रह गरे । डक्टरले पर्याप्त सुविधा पाइरहँदा नर्सलाई पनि सेवा सुविधा दिन कञ्जुसाई गर्न नहुने उनले बताए ।
नेपाल सरकारले दिएको सुविधालाई समान रुपमा प्रयोग गर्न र संस्थाको सम्पूर्ण विकासमा समानता हुन आवश्यक भएको उनले बताए । औषधीको प्रयोग गर्दा अनावश्यक खर्च नगर्न चिकित्सकहरुलाई सुझाव दिनुका साथै औषधीको गुणस्तरलाई पनि ध्यान दिन आग्रह गरे । प्राप्त बजेटबाट थोरै कार्यक्रम गर्न सकिए पनि त्यसमा गुणस्तरीयता कायम गर्दै नागरिकले अनुभूति गर्न सक्ने गरी काम गर्नुपर्नेमा उनको भनाई थियाे । चिकित्सकहरुलाई आफ्नो क्षमता अधिकतम स्वास्थ्य क्षेत्रमा लगाउन र काम गर्ने दौरानमा आर्थिक मुनाफाको पछि नलाग्न उनको निर्देशन समेत दिए ।
निर्देशनालयका निर्देशक दिपक तिवारीको अध्यक्षतामा दुईदिनसम्म सञ्चालित कार्यक्रममा विभिन्न अस्पतालका प्रमुखहरुले आफ्ना प्रस्तुतीकरण प्रस्तुत गर्नुका साथै आगामी २०८१÷८२ का लागि रणनीतिक महत्वका योजनाका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य निकायका निर्देशक, प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्ट, जनस्वास्थ्य कार्यलयका प्रमुख र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुखलगायतको उपस्थिति थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा डा. महेश मास्के पारिजात स्मृति साहित्य सम्मान २०८० बाट सम्मानित भएका छन् । ३१ औँ पारिजात स्मृति दिवसको अवसरमा बुधबार साहित्यकार एवम् स्वास्थ्य सेवी मास्केलाई सहित्यकार पारिजातको स्मृतिमा स्थापित सम्मान प्रदान गरिएको हो ।
साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्थाले हेटौंडा–१० नम्बर वडा कार्यालयसँगको सहकार्यमा १५ हजार सय ५५ रुपैयाँ राशीको सम्मान मास्केलाई प्रदान गरिएको हो । पारिजात स्मृति केन्द्रका पूर्वअध्यक्षसमेत रहेका मास्केले पारिजातको व्यक्तित्व र कृतित्वको प्रवद्र्धनका साथै नेपाली साहित्य र स्वास्थ्य क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान प्रदान गरिएको हो ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जे तमाङ, सङ्गम अध्यक्ष डिबी वर्तौला, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतले मास्केलाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । बुधबार हेटौंडा बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण गरि पारिजात स्मृति कार्यक्रम गरिएकाे हाे ।
पारिजात स्मृति सम्मान गर्दै डा. मास्केले आफूले सम्मानबापत प्राप्त गरेको नगदमा त्यति नै रकम थपेर साहित्य सङ्गमकाे अक्षयकोषलाई सहयोग गरेका थिए । साहित्यको उन्नयनमा लागेको संस्थालाई थप मजबुत बनाउनको लागि आफूले पाएको सम्मानमा रकम थप गरी सहयोग गरेको मास्केले बताए । स्वास्थ्य क्षेत्रको विकासमा विभिन्न निकायमा बसेर भूमिका निर्वाह गरेका मास्केले २०४१ सालमै ‘भोकका कैदीहरुसँग’ कविता सङ्ग्रह प्रकाशित गरेका थिए । मास्के चीनका लागि नेपालका पूर्वराजदूतसमेत हुन् ।
कार्यक्रममा साहित्यकार शान्तिप्रिय वन्दनाले पारिजातले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेकी थिइन् । कार्यक्रममा पारिजातका कविता वाचन गरिएका थिए ।
गत फागुन २१ गतेकाे राष्ट्रिय सत्तासमिकरण फेरबदलपछि सरकार फेरबदलकाे परिदृष्यमा बागमती प्रदेश सरकार पनि रहेकाे थियाे । बागमती प्रदेशमा बदलिएकाे सत्तासमिकरण अनुसारका दललाई मनाउन समेत बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हम्मेहम्मे परेको थियाे । सत्तासमिकरणका दलहरुले समेत बार्गेनिङ्न गरेका कारण अप्ठ्याराेमा परेका जम्कट्टेलले मुख्यमन्त्री पद जाेगाउन एक दलकाे सांसद अपहरण गरेकाे समेत आराेप खेप्नु परेकाे थियाे ।
त्यति मात्रै हाेइन प्रदेश सभामा विश्वासकाे मत लिन ताेकिएकाे समयमा समेत नेकपा एकिकृतका सांसदलाई मन्त्रीमा नियुक्त गरी भाेलीपल्ट मात्रै सपथ कार्यक्रम गराएका थिए । न्युनतम बहुमत मात्रै प्राप्त गरे सत्ताबाट विमुख हुनबाट जाेगिएका उनलाई अझै संकट नटरेकाे राजनीतिक वृतमा देखिदै आएकाे छ ।
१२ मन्त्रालय रहेकाे बागमतीमा अहिले विनाविभागीय मन्त्री समेत १३ जना मन्त्री छन् । जम्कट्टेल भने मन्त्रालयको संख्या बढाएर भएपनि तत्काललाई सत्ताकाे संकट टार्ने दाउमा रहेकाे देखिन्छन भने सत्तारुढ दल नेकपा एमाले कुनै पनि हालतमा मन्त्रालयकाे संख्या बढाउन नहुने अडानमा रहेकाे छ । यता विना विभागीय मन्त्री एकिकृत समाजवादीकी रमा आले मन्त्री नियुक्ति हुँदा नै विश्वासकाे मत पछि मन्त्रालय दिने सहमति भएकाेले मन्त्रालयकाे जिम्मेवारी पाउनु पर्नेमा अडिक छन् । जम्कट्टेल मन्त्रालय संख्या बढाउने तयारी भएकाे बताउँछन् तर त्याे काम गर्नु अहिलेकाे समयमा असम्भव जस्तै छ ।
यसअघि १४ मन्त्रालय रहेकाे बागमतीमा मन्त्रालयकाे संख्या बढि भएकाे भन्दै सत्तापक्ष र प्रतिपक्षसमेतबाट आलाेचन भएकाेले कार्यदल गठन गरी मन्त्रालयकाे संख्या १२ कायम गरिएकाे थियाे । यसअघि कायम भएकाे मन्त्रालय संख्या समेत राजनीतिक दललाई भाग पुर्याउन भएकाे नत्र प्रदेशमा १२ मन्त्रालय समेत बढी भएकाे सर्वसाधारणदेखि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले आवाज उठाउने गरेका छन् ।
दलहरु बिच सहमती कायम गरेर मन्त्रालयको संख्या बढाएर विना विभागीय मन्त्रीको व्यवस्थापन गर्ने सरकारको तयारी रहेकोबेला सत्ता समिकरण निर्माणको चरणमा मन्त्रालयको संख्य नबढाउने सर्त सम्झौता रहेकाे थियाे । यसबाट समेत सम्झौता एकातिर व्यवहार अर्काे तीर देखिदैछ । तर वर्तमान राजनीतिक परिस्थितिका कारण मन्त्रालयको संख्या वृद्धि गर्नु उचित हुँदैन ।
मुख्यमन्त्रीकाे पद बचाउन बढाइएका मन्त्री व्यवस्थापनमा चुनौति थपिएपछि बागमतीमा मन्त्रालय विभाजनलाई विकल्पकाे रुपमा लिइएकाे बताइन्छ । मुख्यमन्त्री जम्कट्टेलले सरकारलाई पूर्णता दिँदै गत चैत २० मा १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त गरेका थिए ।
रोजेको २ मन्त्रालय वा मन्त्रालय विभाजन गरी ३ मन्त्रीको प्रस्ताव एकिकृत समाजवादीका विना विभागीय मन्त्रीको व्यवस्थापनको लागि सरकारकाे तर्फबाट अघि सारिएकाे छ । सरकारले एकीकृत समाजवादीलाई उक्त प्रस्ताव राखेकाे हाे । एकीकृत समाजवादीलाई ३ मन्त्री कायम रहे मन्त्रालय विभाजन गरेर विभागीय जिम्मेवारी तोक्ने र एक फिर्ता गरी २ मन्त्री लिएको खण्डमा मन्त्रालय हेरफेर गरी रोजेको मन्त्रालय दिन सक्ने गरी प्रस्ताव गरेका हुन् । यसले समेत उनी संघीय सहमति अनुसार बागमतीकाे मुख्यमन्त्रीमा कायम रही रहने निश्चित देखिन्छ । एसले मात्रै पनि उनलाई दिएकाे समर्थ फिर्ता लिदै सरकारबाट बाहिरिएकाे खण्डमा सरकारकाे विकल्प खाेज्नु पर्ने अवस्था रहन्छ । निर्णायक भूमिकामा रहेकाे एसलाई कसरी लिएर अघि बढ्छन् त्याे भने भाेलीका दिनमा हुने राजनीतिक ट्याकटिस वा उथलपुथलले बताउनेछ ।
बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका मन्त्री हेरफेर हुने भएकाे समेत चर्चा चल्न थालेकाे छ। एसले हालका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ र श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साललाई मन्त्रीबाट फिर्ता बाेलाएर १ जना नयाँ अनुहारमा सरकारमा सहभागी गराउने कसरत गरेकाे छ । मन्त्रलाय बढाउने नहुनेमा अडिक एमाले सम्झौता अनुसार समाजवादीलाई ३ मन्त्रालयमात्रै दिइनु पर्ने बताउँछ । बागमती प्रदेशमा यसअघिको माओवादी, कांग्रेस र एकीकृत समाजवादीको सत्ता गठबन्धनमा मन्त्री नियुक्त भएका उनीहरू मन्त्रीपदबाट हट्न लागेका हुन्।
एसले सरकारबाट २ मन्त्री फिर्ता बाेलाएर १ पठाउदाँ भने मन्त्रालयकाे संख्या र मन्त्रीकाे सन्तुलन विग्रदैन् । यो दलहरु वीच भएकाे सहमती सम्झौता अनुकुल हाे भने मन्त्रालय संख्या बढाउँदा आउने समस्याकाे समेत हल हाे । तर यसमा एसले अहिले उठाएकाे उल्लेखित मुद्दाले कतिकाे गति लिन्छ त्याे भने हेर्न बाँकी छ ।
तीन मन्त्री रहेको एकीकृत समाजवादीलाई मागेकै दुई मन्त्रालय दिनेगरी एक मन्त्री ब्याक गराउने सहमती जुटेको एसकाे भनाई रहेकाे छ । उसले मुख्यमन्त्रीसमक्ष भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र खानेपानी उर्जा तथा सिँचाइ मन्त्रालयमध्ये एक आफूले पाउनुपर्ने सर्त राखेको छ । सर्तअनुसार अघि बढ्ने मौखिक सहमती भएको बताइए पनि सरकारकाे तर्फबाट एसलाई दिएकाे २ विकल्प मध्ये मन्त्रालय संख्या बढाउनु पर्ने अवस्था आए नेकपा एमालेले विरोध वा समर्थन के हुने हाे त्याे समयले देखाउँछ । बागमती मन्त्रालयकाे संख्या घटाउन पर्ने आवाज उठाउने एमाले अग्रपंतिमा पर्दछ ।
बागमतीमा मन्त्रालयको संख्या नबढ्ने एसकाे भनाइ रहेपनि त्याे दोस्राे विकल्प नहाेला भन्न सकिदैन् । मुख्यमन्त्रीले विकल्पसहितकाे प्रस्ताव एससँग राखेपछि मन्त्रालय संख्या बढ्ने सम्भावना उत्तिकै रहन्छ । राजनीतिमा असम्भव केही हुदैन भन्ने नेताहरुले अव के गर्छन् त्याे भने हेर्न बाँकी छ । मन्त्रीसंख्या १२ कायम गर्ने र त्यही अनुसार व्यवस्थापन गर्दै अघि बढ्न सक्नु पर्छ । सुशासन र पारदर्शिता कायम राख्ने हाे भने अझै मन्त्रालयकाे संख्या घटाउँदा नै सरकारले जस लिने स्थान सुरक्षित गर्नेछ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा भएकाे चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ४ काे पोल्टामा परेकाे छ । बुधबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएकाे खेलकाे सडनडेथमा वडा नम्बर ४ ले र वडा नम्बर १४ लाई ६–५ गोलले हराउँदै उपाधीमाथि कब्जा जमाएकाे हाे ।
उपाधीसँगै वडा नम्बर ४ ले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । उपविजेतामा चित्त बुझाएकाे वडा नम्बर १४ ले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्याे । प्रतियाेगिताका विजेता तथा उपविजेता टिमलाई नगर प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाले पुरस्कार वितरण गरेका थिए ।
फाइनलखेलकाे निर्धारित समयमा दुवै टिमले १/१ गाेलकाे बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएकाे थियाे । खेलको ६२ औं मिनेटमा वडा नम्बर ४ का लागि दीपेश भण्डारीले गोल गर्दै अग्रता दिलाए । खेलकाे निर्धारित समयकाे १० मिनेट बाँकी रहँदा उपविजेता टोलीका लागि अनुप राना मगरले गोल गर्दै खेललाई बराबरी गरे । ट्राइब्रेकरमा समेत दुवै टिमबाट बराबर गोल भएपछि सडनडेथबाट उपाधीकाे छिनाेफानाे भएकाे हाे । टाइब्रेकरमा २–२ गोलको बराबरी भएपछि सडनडेथबाट विजेताको टुंगो लागेको हो ।
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा प्रतियोगिताको साविक उपविजेता वडा नम्बर १५ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै १४ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो । यस्तै, मंगलबार नै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १३ लाई सडनडेथमा ५–४ गोलले हराउँदै वडा नम्बर ४ फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताअन्तर्गत् तृतीय स्थानका लागि बुधबार बिहान भएकाे खेलमा बडा नम्बर १५ ले वडा नम्बर १३ लाई हराएकाे थियाे । उपमहानगरपालिकाका १९ वटै वडाकाे सहभागिता रहेकाे खेलकाे उद्घाटन गत २४ गते भएकाे हाे । तृतीयस्थानमा रहेकाे वडा नम्बर १५ ले ५० हजार रुपैया प्राप्त गर्दा चौथोस्थानमा रहेकाे वडा नम्बर १३ ले २५ हजार रुपैया प्राप्त गरेकाे थियाे ।
तेस्राे संस्करणकाे मेयर कपकाे उपाधी ११ नम्बर वडाले हात पारेकाे थियाे । प्रतियोगिताको पहिलो र दोस्रो संस्करणकाे उपाधी १० नम्बर वडाले जितेको थियो । हेटौडा उपमहानगरपालिकाकाे सहयाेग तथा नगर खेलकुद विकास समितिकाे व्यवस्थापनमा प्रतियाेगिता संचालन भएकाे थियाे ।