मकवानपुर । मकवानपुरकाे हेटौडामा डा. महेश मास्के पारिजात स्मृति साहित्य सम्मान २०८० बाट सम्मानित भएका छन् । ३१ औँ पारिजात स्मृति दिवसको अवसरमा बुधबार साहित्यकार एवम् स्वास्थ्य सेवी मास्केलाई सहित्यकार पारिजातको स्मृतिमा स्थापित सम्मान प्रदान गरिएको हो ।
साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्थाले हेटौंडा–१० नम्बर वडा कार्यालयसँगको सहकार्यमा १५ हजार सय ५५ रुपैयाँ राशीको सम्मान मास्केलाई प्रदान गरिएको हो । पारिजात स्मृति केन्द्रका पूर्वअध्यक्षसमेत रहेका मास्केले पारिजातको व्यक्तित्व र कृतित्वको प्रवद्र्धनका साथै नेपाली साहित्य र स्वास्थ्य क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान प्रदान गरिएको हो ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जे तमाङ, सङ्गम अध्यक्ष डिबी वर्तौला, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतले मास्केलाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । बुधबार हेटौंडा बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण गरि पारिजात स्मृति कार्यक्रम गरिएकाे हाे ।
पारिजात स्मृति सम्मान गर्दै डा. मास्केले आफूले सम्मानबापत प्राप्त गरेको नगदमा त्यति नै रकम थपेर साहित्य सङ्गमकाे अक्षयकोषलाई सहयोग गरेका थिए । साहित्यको उन्नयनमा लागेको संस्थालाई थप मजबुत बनाउनको लागि आफूले पाएको सम्मानमा रकम थप गरी सहयोग गरेको मास्केले बताए । स्वास्थ्य क्षेत्रको विकासमा विभिन्न निकायमा बसेर भूमिका निर्वाह गरेका मास्केले २०४१ सालमै ‘भोकका कैदीहरुसँग’ कविता सङ्ग्रह प्रकाशित गरेका थिए । मास्के चीनका लागि नेपालका पूर्वराजदूतसमेत हुन् ।
कार्यक्रममा साहित्यकार शान्तिप्रिय वन्दनाले पारिजातले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेकी थिइन् । कार्यक्रममा पारिजातका कविता वाचन गरिएका थिए ।

