मकवानपुर । मकवानपुरकाे हेटौडामा भएकाे चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ४ काे पोल्टामा परेकाे छ । बुधबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएकाे खेलकाे सडनडेथमा वडा नम्बर ४ ले र वडा नम्बर १४ लाई ६–५ गोलले हराउँदै उपाधीमाथि कब्जा जमाएकाे हाे ।
उपाधीसँगै वडा नम्बर ४ ले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । उपविजेतामा चित्त बुझाएकाे वडा नम्बर १४ ले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्याे । प्रतियाेगिताका विजेता तथा उपविजेता टिमलाई नगर प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाले पुरस्कार वितरण गरेका थिए ।
फाइनलखेलकाे निर्धारित समयमा दुवै टिमले १/१ गाेलकाे बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएकाे थियाे । खेलको ६२ औं मिनेटमा वडा नम्बर ४ का लागि दीपेश भण्डारीले गोल गर्दै अग्रता दिलाए । खेलकाे निर्धारित समयकाे १० मिनेट बाँकी रहँदा उपविजेता टोलीका लागि अनुप राना मगरले गोल गर्दै खेललाई बराबरी गरे । ट्राइब्रेकरमा समेत दुवै टिमबाट बराबर गोल भएपछि सडनडेथबाट उपाधीकाे छिनाेफानाे भएकाे हाे । टाइब्रेकरमा २–२ गोलको बराबरी भएपछि सडनडेथबाट विजेताको टुंगो लागेको हो ।
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा प्रतियोगिताको साविक उपविजेता वडा नम्बर १५ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै १४ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो । यस्तै, मंगलबार नै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १३ लाई सडनडेथमा ५–४ गोलले हराउँदै वडा नम्बर ४ फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताअन्तर्गत् तृतीय स्थानका लागि बुधबार बिहान भएकाे खेलमा बडा नम्बर १५ ले वडा नम्बर १३ लाई हराएकाे थियाे । उपमहानगरपालिकाका १९ वटै वडाकाे सहभागिता रहेकाे खेलकाे उद्घाटन गत २४ गते भएकाे हाे । तृतीयस्थानमा रहेकाे वडा नम्बर १५ ले ५० हजार रुपैया प्राप्त गर्दा चौथोस्थानमा रहेकाे वडा नम्बर १३ ले २५ हजार रुपैया प्राप्त गरेकाे थियाे ।
तेस्राे संस्करणकाे मेयर कपकाे उपाधी ११ नम्बर वडाले हात पारेकाे थियाे । प्रतियोगिताको पहिलो र दोस्रो संस्करणकाे उपाधी १० नम्बर वडाले जितेको थियो । हेटौडा उपमहानगरपालिकाकाे सहयाेग तथा नगर खेलकुद विकास समितिकाे व्यवस्थापनमा प्रतियाेगिता संचालन भएकाे थियाे ।

