मकवानपुर । बागमती प्रदेश सभाकाे बैठक सरकार, सत्तापक्ष दल र प्रमुख प्रतिपक्ष दलबिच ५ बुँदे सहमति भए पछि संचालन भएकाे छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक अवरोध गरेकाे थियाे । शुक्रबारकाे पाँच बुँदे सहमतिसँगै बागमती प्रदेशसभाको अवरोध हटेको छ ।
प्रतिपक्ष दलले बजेटप्रति उठाएका असहमतिका सवालमा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट छलफलका लागि टेबल गर्नुअघि वक्तव्यमार्फत बजेटकाे विवरण सच्चाएर किताब प्रकाशन गरी ल्याएको जानकारी गराउने पहिलो सहमति भएकाे थियाे । त्यसैगरी प्राविधिक र कानूनी कार्यविधि मिलाई बजेट सन्तुलित बनाउने पनि सहमति भएको छ ।
त्यस्तै प्रतिपक्ष दलहरूको मागअनुसार कार्यक्रम विवरणमा समावेश भएका कार्यक्रम शीर्षकमा सिलिङभित्रको अपुग रकम थप गर्न सरकार पक्ष सहमति भएको छ । सहमति पत्रमा मुख्यमन्त्री शालिकराम जम्मकटटेल, आर्थिक मन्त्री जगन्नाथ थपलिया, सांसद कृष्ण खनाल तथा प्रतिपक्षका तर्फबाट बहादुरसिंह लामा र उद्धव थापाले हस्ताक्षर गरेका छन् ।
प्रदेश सरकारकाे तर्फबाट गत असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सभमा प्रस्तुत गरेकाे बजेटकाे विरोध गर्दै प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले प्रदेश सभाकाे बिहीबारकाे बैठक अवरोध गरेकाे थियाे । तीन पक्षिय सममतिपछि प्रदेश सभाकाे बैठकमा बजेटमाथिकाे दफावार छलफल शुक्रबारकाे बैठकमा भइरहेकाे छ ।
सहमतीका बुँदाहरु
१) प्रतिपक्ष दलले उठान गरेको सवालमा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट छलफलको लागी टेबल गर्नु अघि बक्तब्य मार्फात पेनड्राइभमा भएको विवरण प्राविधिक त्रुटि भएको र सच्याई किताब प्रकाशन गरी ल्याएको जानकारी गराउने ।
२) प्राबिधिक, कानूनी, कार्यबिधि मिलाई बजेट सन्तुलित बनाउने बारे सहमती भयो ।
३) प्रतिपक्ष दलहरूले माग गरे बमोजिम कार्यक्रम बिवरणमा समावेश भएको कार्यक्रम शिर्षकमा शिलिङ भित्रको अपुग रकम थप गर्ने सहमति भयो । थप रकम रकमान्तर गरी सुनिश्चितको लागि आझै मन्त्री स्तरीय निर्णय गरी प्रतिपक्ष दलहरूलाई आश्वस्त पार्ने ।
४) विषयगत मन्त्रालयमा रहेको अवन्डामा रहेको रकम प्रतिपक्ष दलहरूले प्रास्तव गरे बमोजिमको प्रकृति मिल्ने खालको शिर्षकमा बजेट व्यवस्था गर्ने सहमत भयो । सुनिश्चितको लागि आझै मन्त्री स्तरीय निर्णय गरी प्रतिपक्ष दलहरूलाई आश्वस्त पार्ने ।
५) सहमती बमोजिम सदन सुचारू गर्ने ।
मकवानपुर । मकवानपुरकाे १० वटै पालिका मध्ये सबै भन्दा बढी उजुरी हेटौडा उपमहानगरपालिकाकाे रहेकाे तथ्याङ्कले देखाएकाे छ । चालु आर्थिक वर्षकाे जेठ मसान्तसम्म हेटौडा उपमहानगरपालिकाकाे उजुरी १८५ वटा परेकाे तथ्याङ्क बुधबार एक कार्यक्रममा प्रस्तुत गरिएकाे हाे ।
अख्तियार दुरुपयाेग अनुसन्धान आयोगकाे कार्यालय हेटौडा कार्यालयले भ्रष्ट्राचार नियन्त्रण र सुशासन प्रवर्धन विषयक पालिका स्तरीय अन्तरक्रियामा उक्त तथ्याङ्क प्रस्तुत गरिएकाे हाे । अख्तियार हेटौडा कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सुरेन्द्र घिमिरे अघिल्लाे आर्थिक वर्षकाे दायित्व सारिएकाे ११३ समेत हेटौंडा उपमहानगरपालिकाकाे उजुरी संख्या २५८ रहेकाे जानकारी दिए ।
हेटौडा उपमहानगरपालिका पछि साेही अवधीमा मकवानपुर गढी गाउँपालिकाकाे ३४ उजुरी परेकाेमा अघिल्लाे आवकाे समेत १९ गरी ५५ वटा उजुरी रहेकाे घिमिरेले बताए । यसैगरी चालु आवकाे जेठ मसान्तसम्म इन्द्र सरोवर र कैलाश गाउँपालिकाकाे ४/४ वटा उजुरी परेकाे छ भने कैलाशकाे अघिल्लाे आवकाे ५ दायित्व सारिएपछि ९ उजुरी रहेकाे छ । तर इन्द्रसरोवरकाे अघिल्लाे आवकाे दायित्व सरेर चालु आवमा एउटा पनि उजुरी आएकाे छैन ।

यस्तै मनहरी गाउँपालिका बकैया गाउँपालिका थाहा नगरपालिका राक्सिराङ्ग भीमफेदी बागमती गाउँपालिकाकाे जेठ मसान्तसम्मकाे उजुरी संख्या क्रमशः २७,१४,१४,११,१० र ८ रहेकाे घिमिरेले बताए । उनकाे अनुसार ती पालिकाहरुमा अघिल्लाे आवबाट क्रमशः १०, १२, ५, ११, ५ र ३ उजुरी दायित्व सरेर आएकाे छ ।

यस्तै हेटौडाकाे फर्छ्यौट उजुरी १७९ वटा बाँकी ११९ वटा उजुरी रहेका छन् भने मकवानपुरगढीकाे ३९ वटा फर्छ्याौट हुँदा १४ वटा बाँकी रहेकाे छ । थाहानगरकाे १६ वटा उजुरी फर्छ्यौट भएकाेमा ३ वटा बाँकी, राक्सिराङ्गकाे ११ वटा फर्छ्यौट हुँदा ११ वटै वटा उजुरी फर्छ्यौट बाँकी रहेकाे छ । भीमफेदीकाे ६ वटा फर्छ्यौट हुँदा ९ वटा फर्छ्यौट बाँकी रहेकाे छ । बागमतीकाे ५ वटा फर्छ्यौट भएकाेमा ६ वटा फर्छ्यौट हुन बाँकी रहेकाे छ ।कैलाशकाे ६ वटा उजुरी फर्छ्यौट भएकाेमा ३ वटा फर्छ्यौट हुन बाँकी रहेकाे देखिन्छ । इन्द्रसरोवरकाे ३ वटा उजुरी फर्छ्यौट भएकाेमा १ वटा फर्छ्यौट हुन बाँकी रहेकाे तथ्याङ्क प्रस्तुत गरिएकाे थियाे ।
यसैगरी अख्तियारकाे हेटौडा कार्यालयमा सबै भन्दा बढी बारा जिल्लाकाे उजुरी दर्ता भएकाे छ । बारा जिल्लाकाे चालु आवकाे जेठ मसान्तसम्म ५८७ वटा उजुरी दर्ता भएका छन् । यसैगरी अघिल्लाे आवकाे दायित्व सरेर २०१ आएकाे गरी ७८८ उजुरी बारा जिल्लाकाे देखिन्छ । यस्तै रौतहट उजुरी पर्ने गरेकाे आधारमा दोस्राे जिल्ला रहेकाे छ । रौतहटमा जेठ मसान्तसम्म ४८४ उजुरी दर्ता भएकाे छ । अघिल्लाे आवबाट सरेर आएका १९९ वटा उजुरी समेत गरी रौतहटकाे उजुरी संख्या ६८३ रहेकाे छ ।
यस्तै अख्तियारमा पर्सा जिल्लाकाे ४३४ उजुरी जेठ मसान्तसम्म दर्ता भएका छन् । गत आवकाे दायित्व सरेर आएका १७३ समेत गरी पर्सामा ६०७ उजुरी दर्ता भएका हुन् । मकवानपुर जिल्लाकाे जेठ मसान्तसम्म ३११ उजुरी परेकाे छ । गत आवबाट १८३ उजुरी दायित्व सरेर आएकाे समेत गरी यो संख्या ४९४ रहेकाे छ । चितवनकाे जेठ मसान्तसम्म १८१ उजुरी दर्ता भएकाेमा गत आवबाट १८१ दायित्व सरेर आएकाे छ । यस्तै दोलखाकाे ४० धादिङ्गकाे २३ काभ्रेपलाञ्चोकको २२ नुवाकाेटकाे १७ रसुवाकाे ८ सिन्धुपाल्चाेककाे ५ रामेछापकाे ४ वटा उजुरी अख्तियारकाे हेटौडामा दर्ता भएकाे छ ।
बारा जिल्लाको गत आवकाे समेत गत जेठ मसान्तसम्म ४३६ उजुरी फर्छ्योट भएकाेमा ३५२ वटा उजुरी फर्छ्योट हुन बाँकी रहेकाे छ । रौतहटकाे ३८१ उजुरीकाे फर्छ्यौट हुँदा ३०२ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेकाे छ । पर्साकाे ३८२ वटा फर्छ्यौट हुँदा २२५ वटा उजुरी बाँकी रहेकाे तथ्याङ्कले देखाउँछ । जेठ मसान्तसम्म मकवानपुरकाे ३०५ उजुरी फर्छ्यौट हुँदा १८९ उजुरी बाँकी रहेकाे छ ।
यस्तै चितवनकाे १४७ फर्छ्यौट १२१ उजुरी बाँकी, दोलखा २८ फर्छ्यौट १२ उजुरी बाँकी, धादिङ्गकाे १० फर्छ्यौट १३ उजुरी बाँकी, काभ्रेकाे १८ फर्छ्यौट ४ उजुरी बाँकी, नुवाकाेटकाे १६ फर्छ्यौट १ उजुरी बाँकी, रसुवाकाे ७ फर्छ्यौट १ उजुरी बाँकी, सिन्धुपाल्चाेककाे ४ फर्छ्यौट १ उजुरी बाँकी र रामेछापकाे १ फर्छ्यौट ३ उजुरी फर्छ्यौट हुन बाँकी रहेकाे अख्तियार हेटौडाले प्रस्तुत गरेकाे तथ्याङ्कमा उल्लेख छ ।

मकवानपुर । बागमती प्रदेश सभाकाे बैठक प्रतिपक्ष दलले अवरोध गरेका छन् । बागमती प्रदेशसभाकाे आजकाे बैठकमा आर्थिक वर्ष २०८१/०८२ बजेट माथिको छलफल सुरु गरिएको थियाे ।
बजेट पुनः लेखनलगायतकाे माग गर्दै प्रतिपक्ष दल नेपाली काङ्ग्रेस तथा राप्रपाले वैठक अवरोध गरेपछि बैठक स्थगित गरिएकाे छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको सिद्धान्त र प्राथमिकतामा दिएको सुझावहरुलाई समावेश नगरिएको, प्रदेशको आर्थिक बृद्दिदर न्यून भएको, अर्थ मन्त्रालयको अर्थ विविध खर्चलाई चालु खर्चमा राखिएको, प्रदेशको एकल अधिकारको रुपमा रहेको प्रदेश अस्पतालमा बजेटको ब्यबस्था नगरिएको, हिसाब किताबको सिलिङ नमिलेको र आय व्ययको विवरण नै नमिलेको भन्दै बिहीबार कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन् ।
यसैगरी बैठकमा प्रतिपक्ष दलका सांसदहरूले बजेट सिस्टमलाई नै उलङ्घन गरेर बजेट कार्यक्रम परक पर्ने गरी पुस्तिका ल्याएको भन्दै विरोध गरेका थिए । उनीहरूले संसद् बैठकमा नाराबाजी समेत गरेका छन् । सांसदहरूले ‘बजेट पुनःलेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए । आजकाे लागि बाेलाइएकाे प्रदेशसभा बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी सुरु भएको थियाे ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथि छलफलका लागि बिहान ११ बजे आह्वान गरिएको बैठक १ बजे सुरु भएको थियाे । प्रतिपक्ष दलका सांसदहरूको विरोध पश्चात् सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बिहीबार बिहानकाे लागि बाेलाइएकाे छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१।०८२ को विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । बैठकमा प्रदेशको आर्थिक तथा मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले गत असार १ गते प्रस्तुत गरेको बजेट वक्तव्य र विभिन्न मन्त्रालयको बजेट शिर्षकमा छलफल प्रारम्भ हुने उनले जानकारी दिए ।
सरकारको विनियोजित बजेटमाथि असार ८ गते भित्रै छलफल सम्पन्न गरि पारित गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएकाे छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री थपलियाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोडकाे बजेट प्रदेश सभमा असार १ गते प्रस्तुत गरेका थिए ।
कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएकाे छ । चालु आर्थिक वर्षकाे लागि ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएकाे प्रदेश सरकारले आगामी आवकाे लागि मन्त्रीले चाल् आवकाे भन्दा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका थिए ।
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) १० औं राष्ट्रिय महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि चयन गरिएको छ । असार १६-२० मा हुने पार्टीकाे महाधिवेशनमा मकवानपुरबाट ४१ जना प्रतिनिधि छानिएका हुन् ।
बुधबार मकवानपुरको दुई वटै निर्वाचन क्षेत्रबाट ३२ जना तथा पार्टी केन्द्रीय नेतृत्वको विभिन्न पदमा रहेका अन्य ९ जनासहित ४१ जना प्रतिनिधि चयन गरिएकाे पार्टीले जनाएकाे छ । मकवानपुरको क्षेत्र नम्बर १ मा १ हजार ५ सय २० संगठित सदस्यमध्ये १२ जना प्रतिनिधी छनौट भएका छ्न् ।
क्षेत्र नम्बर १ बाट खुल्लातर्फ यादव गजुरेल, तिलक अधिकारी, ध्रुव भुजेल, कबिन पन्त, दुर्गा दहाल, सफल अधिकारी रहेका छन् । यस्तै, दलित तर्फबाट कल्पना बिक चयन हुँदा पेशागत तर्फ लोकनाथ दहाल, महिलातर्फबाट सीता अधिकारी, गायत्री सुवेदी र विष्णु लामा प्रतिनिधि चयन भएका छन् । यसैगरी युवातर्फ किशोरकुमार टण्डन महाधिवेशनमा प्रतिनिधी छनौट भए ।
मकवानपुरको क्षेत्र नम्बर २ मा संगठित सदस्य २ हजार २ सय ४६ रहेकोमा खुल्लातर्फबाट बिष्णु दहाल, गौतम बुद्ध लामा, जीवन लामा, कृष्ण चेपाङ, किरण मान बल, किशोर बर्तौला, टङ्क मोक्तान, सानुकाजी गोपाली, समीर श्रेष्ठ, यादव बर्तौला, सगुन स्याङतान, कृष्ण तमाङ प्रतिनिधिमा चयन भए ।
यस्तै, दलित तर्फ एम मिजार प्रतिनिधि चयन हुँदा युवातर्फबाट अरुण बर्तौला, महिला तर्फबाट बेगम बराल, जुना देवी श्रेष्ठ मल्ल, लक्ष्मीकुमारी रुम्बा रहेका छन् । यस्तै, ट्रेड युनियन महासंघबाट नारायणप्रसाद अधिकारी र रास्ट्रिय उद्योगी व्यवसायी महासंघबाट रजनी तिवारी प्रतिनिधीमा छनौट भएका छन् ।
पार्टीको केन्द्रीय कमिटीको विभिन्न पदमा रहेकाहरु महाधिवेशनमा स्वतः प्रतिनिधी हुने व्यवस्था अनुसार स्थायी कमिटी सदस्य ललितकुमार बस्नेत, विरोध खतिवडा, पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, गोमा तिमल्सिना, रामचन्द्र बल, मीनाकुमारी लामा, राजाराम स्याङतान र गोविन्दराम चेपाङ प्रतिनिधिमा स्वतः रहने छन् ।