मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बिहीबार बिहानकाे लागि बाेलाइएकाे छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१।०८२ को विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । बैठकमा प्रदेशको आर्थिक तथा मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले गत असार १ गते प्रस्तुत गरेको बजेट वक्तव्य र विभिन्न मन्त्रालयको बजेट शिर्षकमा छलफल प्रारम्भ हुने उनले जानकारी दिए ।
सरकारको विनियोजित बजेटमाथि असार ८ गते भित्रै छलफल सम्पन्न गरि पारित गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएकाे छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री थपलियाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोडकाे बजेट प्रदेश सभमा असार १ गते प्रस्तुत गरेका थिए ।
कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएकाे छ । चालु आर्थिक वर्षकाे लागि ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएकाे प्रदेश सरकारले आगामी आवकाे लागि मन्त्रीले चाल् आवकाे भन्दा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका थिए ।

