मकवानपुर । बागमती प्रदेश सभाकाे बैठक प्रतिपक्ष दलले अवरोध गरेका छन् । बागमती प्रदेशसभाकाे आजकाे बैठकमा आर्थिक वर्ष २०८१/०८२ बजेट माथिको छलफल सुरु गरिएको थियाे ।
बजेट पुनः लेखनलगायतकाे माग गर्दै प्रतिपक्ष दल नेपाली काङ्ग्रेस तथा राप्रपाले वैठक अवरोध गरेपछि बैठक स्थगित गरिएकाे छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको सिद्धान्त र प्राथमिकतामा दिएको सुझावहरुलाई समावेश नगरिएको, प्रदेशको आर्थिक बृद्दिदर न्यून भएको, अर्थ मन्त्रालयको अर्थ विविध खर्चलाई चालु खर्चमा राखिएको, प्रदेशको एकल अधिकारको रुपमा रहेको प्रदेश अस्पतालमा बजेटको ब्यबस्था नगरिएको, हिसाब किताबको सिलिङ नमिलेको र आय व्ययको विवरण नै नमिलेको भन्दै बिहीबार कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन् ।
यसैगरी बैठकमा प्रतिपक्ष दलका सांसदहरूले बजेट सिस्टमलाई नै उलङ्घन गरेर बजेट कार्यक्रम परक पर्ने गरी पुस्तिका ल्याएको भन्दै विरोध गरेका थिए । उनीहरूले संसद् बैठकमा नाराबाजी समेत गरेका छन् । सांसदहरूले ‘बजेट पुनःलेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए । आजकाे लागि बाेलाइएकाे प्रदेशसभा बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी सुरु भएको थियाे ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथि छलफलका लागि बिहान ११ बजे आह्वान गरिएको बैठक १ बजे सुरु भएको थियाे । प्रतिपक्ष दलका सांसदहरूको विरोध पश्चात् सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

