मकवानपुर । बागमती प्रदेशका उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गरिएको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौंडाले बुधबार उत्कृष्ट बिद्यालयलाई हेटौडामा पुरस्कृत गरेकाे हाे ।
निर्देशनालयले ५ सामुदायिक र ५ संस्थागत विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको हो । शिक्षा विकास निर्देशनालयले छनौट गरेका सामुदायिक तर्फका मेघा माध्यमिक विद्यालय तेखापुखु भक्तपुर, बलम्बु माध्यमिक विद्यालय चन्दागिरि नगरपालिका काठमाडौँ, पृथ्वी माध्यमिक विद्यालय विदुर–४ नुवाकोट, तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौं र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल काठमाडौं उत्कृष्ट भएका थिए ।
त्यस्तै संस्थागत तर्फका ह्विज किड्स इन्टरनेशनल स्कुल बालुवाटार काठमाडौं, रिलायन्स इन्टरनेशनल एकेडेमी बुढानीलकण्ठ काठमाडौं, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्णेश्वर काठमाडौं, शाकरी स्कुल छाउनी काठमाडौं र माउन्ट ग्लोरी इङ्ग्लिस बोर्डिङ हाइस्कुल उत्कृष्ट भएका थिए । उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयहरूलाई क्रमशः १ लाख रुपैयाँ, ८० हजार, ७० हजार, ६० हजार र ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको छ । निवन्ध लेखन प्रतियाेगितामा स्कृति चौलागाई बाँसबारी माध्यमिक विद्यालय काठमाडौं प्रथम, सुमना बुढाथोकी स्याउरी भूमि माध्यमिक विद्यालय शिवपुरी नुवाकोट द्वितीय, अविना कार्की भालेश्वर माध्यमिक विद्यालय पनौती काभ्रे तृतीय भएका थिए ।
प्रथम द्वितीय र तृतीयलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगदसहित मुख्यमन्त्री बहादुर सिंह लामा, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, शिक्षा विकास निर्देशनालय हेटौंडाका निर्देशक दिपेन्द्र सुवेदी लगायतकाले पुरस्कृत गरेका थिए ।
मकवानपुर । बागमती प्रदेशसभाको बैठक ६ असोज आइतबारकाे लागि आह्वान गरिएको छ । १६ साउनदेखि स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको हो ।
विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै १६ साउनमा स्थगित गरिएकाे प्रदेशसभा बैठक ६ असोज आइतबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा संसदीय समितिहरूबाट पारित भएका विधेयकका प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची रहकाे बताइएकाे छ । बैठकको कार्यसूची तय गर्न ५ असोज शनिबार कार्यसम्पादन समितिको बैठक समेत आह्वान गरिएको छ । शनिवार दिउँसो ३ बजे बस्ने बैठकले सभाकाे कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
गुप्ताका अनुसार ६ असोजमा बस्ने प्रदेशसभा बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट पारित भएको दुई वटा र उद्योग पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा प्रतिवेदन संसदमा प्रस्तुत हुनेछन् । बागमती प्रदेश सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन रहेका छन् ।
समितिहरूबाट दफावार छलफल गरी संशोधनसहित पारित भएका विधेयकका प्रतिवेदनहरू प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको र तीनै विधेयकका प्रतिवेदनहरूमाथि सदनमा छलफल हुने सचिवालयले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामाले सबैले मिलेर वातावरण संरक्षण गर्नु पर्ने बताएका छन् । मानव र वातावरण विच घनिष्ठ सबन्ध रहेकोले वातवरण संरक्षण गर्नु पर्ने उनले बताए ।
मङ्गलवार हेटौंडा उपमहानगरपालिका – ९ स्थित दिव्य बाल उद्यान बेतखोल्सीमा भएको वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री लामाले पछिल्लो समय वन जङ्गल विनाश हुने क्रम दिनप्रति दिन बढ्नाले मानवलाई प्रत्यक्ष असर गरिरहेको बताए । ‘पछिल्लो समय अव्यवस्थित बसोबास ,जंगलको भू–माग अतिक्रमण लगायतले वातावरणलाई प्रत्यक्ष असर गरिरहेको छ’ उनले भने ‘त्यसको प्रत्यक्ष असर मानव जातीले भोग्नु परेको छ ।’
यस्तै कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री सुरज लामिछानेले वातावरण संरक्षणको निम्ति हाल भएका बनजंगलको संरक्षण गर्दे अन्य खाली क्षेत्रहरूमा वृक्षारोपण गर्दे जानुपर्ने बताए । उनले बनजंगलमा वोट बिरुवा रहे मात्र मानव अस्तिव रहने बताए । विरुवाको विनास हुने क्रम रहे मानवातिको अस्तिवनै संकटमा रहेन उनले बताए । ।
यसैगरी कार्यक्रममा प्रदेशका वन तथा वातावरण मन्त्रालयका मन्त्री कृष्ण प्रसाद सिलवालले लामो समयपछि प्राप्त संघीयता सहितको संविधान समावेशी रहेको बताए । यस्तै उनले नागरिकलाई प्रत्यक्ष रूपमा अनुभव गर्ने गरी आएको संविधानले वडा–वडा सिंहदरबार र आफ्नै घर आँगनमा सरकार भएको अनुभूति दिलाएको बताए । उनले सिंहदरबारको अधिकार वडा–वडामा आएको बताउँदै वडाबाटै धेरै काम सहज रूपमा जनताले गर्न पाएको बताए ।
अहिले भएको संविधानले नेपाली जनताको आवश्यकता र औचित्यकै आधारमा धेरै मौलिक हकहरु समेत समावेश गरेर सुनमा सुगन्ध छरेको उनले बताए । सिलवालले संविधान दिवसको अवसरमा मन्त्रालयले गरेको वृक्षारोपण कार्यक्रमले समाजलाई मानव र जगतविचको सम्बन्धलाई जोड्ने समेत विश्वास ब्यक्त गरे ।
प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस,२०८१ भव्यताका साथ मनाउने सन्दर्भमा मुख्यमन्त्री लामाको अध्यक्षतामा गत १८ गते बसेको बैठकको ३ दिन मनाउने निर्णय गरेको थियो । सोही अनुसार पहिलो दिन वृक्षारोपण र खलकुदको कार्यक्रम आयोजना गरिएकाे हो । वृक्षारोपण कार्यक्रममा प्रदेशका मन्त्रीहरू,सचिव,कर्मचारीहरूलगायतको सीथानिय जनप्रतिनिहरुको अतिथ्यता रहेको थियो ।
अध्यक्ष कालाखेतीले बनाइदिए एकल महिलाकाे लागि घर
Tags: No Comments
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफूले पाउने सेवा सुविधाकाे रकमले मनहरी गाउँपािलकाका एक जना एकल महिलाकाे लागि घर बनाइ दिएका छन् । मनहरी ५ बसन्तपुरकी एकल महिला सोनी राईलाई एककोठे घर निर्माण गरेर उनले मंगलबार हस्तान्तरण गरे।
गत स्थानीय तह निर्वाचनका बेला कालाखेतीले घोषणा गरेका थिए निर्वाचित भएपछि सुविधाकाे रुपमा पाइने राज्यको रकम आफूले नलिएर जनताको सेवामा खर्च गर्ने। सोही अनुसार गाउँपालिका अध्यक्ष कालाखेतीले सुविधा वापत प्राप्त गर्दै आएकाे रकम सामाजिक सेवामा खर्च गर्ने गरेका छन्।
साेही अनुसार उनले मनहरी ५ बसन्तपुरमा लामो समयदेखि आवासविहीन रहँदै आएकी राईलाई पक्की घर बनाएर हस्तान्तरण गरिएको हो। सेवा सुविधा जम्मा गर्नका लागि कालाखेतीले व्यक्तिगत बैंक खाता प्रयोग नगरी अध्यक्ष सामाजिक सुरक्षा कोष खडा गरेका छन्। सोही कोषबाट उनले आफ्नो सेवा सुविधा वापतकाे रकमले मनहरीकै एकल महिला राईलाई घर बनाइदिएर हस्तान्तरण गरेका हुन्।
८ वर्ष अघि सोनीका श्रीमान काठ काट्न जाँदा लडेर मृत्यु भएकाे थियाे । उनी लामो समयदेखि बसन्तपुरमा सानो छाप्रोमा जीवनयापन गर्दै आएकी थिइन्। घामपानी समेत नछेक्ने छाप्रोमा बस्दै आएकी उनलाई अध्यक्ष कालाखेतीले घर बनाइदिए पछि दंग छिन् । ‘ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै आएकी सोनी बस्दै आएकाे छाप्रोमा पानी चुहिन्थ्यो। हावाहुरीले समस्या पार्थ्यो। तपाईंहरू सबैको सहयोगले घर बन्यो एकदमै खुसी छु,’ सोनीले भनिन्।
सोनुलाई ओत लाग्ने घर नभएको र आफैँ बनाउन सक्ने अवस्था नभएको भन्दै उनका छिमेकीहरूले अध्यक्ष कालाखेतीलाई जानकारी गराएका थिए। उक्त पक्की घर २ लाख १५ हजार रुपैयाँ खर्चिएर बनाइएको हाे । सोनीको परिवारमा उनीबाहेक कोही छैनन् । गाउँपालिका अध्यक्ष कालाखेतीले एकल महिला बर्खामा चुहिने छाप्रोमै दिन काटिरहेको खबर पाएपछि सेवा सुविधाकाे रकमले नै घर बनाइदिने निर्णय गरेको बताउँछन्। ‘स्थिती निकै दयनिय देखेपछि स्थानीयहरुले जानकारी गराए। म उहाँको घरमै गएर हेरेँ। स्थिती निकै दयनिय देखेपछि आफ्नाे सेवा सुविधाकाे रकम जम्मा हुने कोषको रकमले उहाँलाई एककोठे पक्की घर बनादिएकाे हुँ’ उनले भने ।
निर्वाचित भएपछि उनले सेवा सुविधा वापतको रकम विपन्न परिवारका लागि उपचारमा सहयोग, विभिन्न चाडपर्वमा रासन सामग्री हस्तान्तरण लगायतका सामाजिक कार्यमा सहयोग गर्दै आएका छन्।
चितवन । चितवनकाे भरतपुरस्थित औद्योगिक प्रदर्शनीमा बडादशैँ स्वदेशी जुत्ता चप्पल व्यापार मेला मंगलवारदेखि सुरु भएको छ । असोज २४ गतेसम्म सञ्चालन हुने मेलाको बागमती प्रदेशको उद्योग वाणिज्य, भूमि व्यवस्था तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्घाटन गरिन् ।
मेलाको उद्घाटन गर्दै मन्त्री तामाङले नेपाल धेरै वस्तुको उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताइन् । ‘स्थानीय स्रोत साधन उपयोग हामी सबै लाग्नु पर्छ’ मन्त्री तामाङले भनिन् ‘मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिन जरुरी छ ।’
चितवन उद्योग संघले स्वदेशी उत्पादनलाई प्रवर्दन गर्ने उदेश्यले मेला २०८१ अन्तर्गत स्वदेशी जुत्ताचप्पल व्यापार मेला आयोजना गरेको हो । फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसनका अध्यक्ष रुद्र न्यौपानेले जुत्ता चप्पलको चोरी पैठारी रोकिने हो भने नेपाल १८ महिनामा आत्मनिर्भर बन्न सक्ने बताए । ‘सिंहदरबारभित्र पनि नेपाली जुत्ता चप्पलको प्रयोग गर्नु पर्छ’ उनले भने । उत्पादकले पनि इमानदारपूर्वक गुणस्तरमा ध्यान दिएर काम गर्नु पर्ने उनले बताए ।
चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले संघले बिगत २०४७ सालदेखि उद्यमशिलता विकास र राज्यलाई मजबुत बनाउने उद्धेश्यले विभिन्न कामहरु गर्दै आएको बताए। राज्यले लिएको औद्योगिक अभियानलाई संघले सँधै साथ दिइरहेको उनले जनाकारी दिए ।
मेला दैनिक बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने मेलाको सहआयोजक संस्था वेश ग्लोबल प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा आठ कम्पनीका तीन हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा पाउन सकिन्छ । मेलामा ४० वटा स्टल छन् । नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु महिला, पुरुष, बच्चा सबैलाई समेटिनेगरी आकर्षक छुटमा खरिद गर्न सकिने उपाध्यायले बताए ।
मेलामा ३५ हजार जोर जुत्ताचप्पलको बिक्री हुने र दुई करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेकाे छ । त्यस्तै मेलाको करिब एक लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको गरिएकाे छ । प्रत्येक दिन जुत्ताचप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिनेछ । जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । साथै असोज २१ गते लक्की ड्र मार्फत खोलिने कुपन मध्येबाट एक जनालाई २५ हजार रुपैयाँ बराबरको उपहार प्रदान गरिनेछ ।