मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफूले पाउने सेवा सुविधाकाे रकमले मनहरी गाउँपािलकाका एक जना एकल महिलाकाे लागि घर बनाइ दिएका छन् । मनहरी ५ बसन्तपुरकी एकल महिला सोनी राईलाई एककोठे घर निर्माण गरेर उनले मंगलबार हस्तान्तरण गरे।
गत स्थानीय तह निर्वाचनका बेला कालाखेतीले घोषणा गरेका थिए निर्वाचित भएपछि सुविधाकाे रुपमा पाइने राज्यको रकम आफूले नलिएर जनताको सेवामा खर्च गर्ने। सोही अनुसार गाउँपालिका अध्यक्ष कालाखेतीले सुविधा वापत प्राप्त गर्दै आएकाे रकम सामाजिक सेवामा खर्च गर्ने गरेका छन्।
साेही अनुसार उनले मनहरी ५ बसन्तपुरमा लामो समयदेखि आवासविहीन रहँदै आएकी राईलाई पक्की घर बनाएर हस्तान्तरण गरिएको हो। सेवा सुविधा जम्मा गर्नका लागि कालाखेतीले व्यक्तिगत बैंक खाता प्रयोग नगरी अध्यक्ष सामाजिक सुरक्षा कोष खडा गरेका छन्। सोही कोषबाट उनले आफ्नो सेवा सुविधा वापतकाे रकमले मनहरीकै एकल महिला राईलाई घर बनाइदिएर हस्तान्तरण गरेका हुन्।
८ वर्ष अघि सोनीका श्रीमान काठ काट्न जाँदा लडेर मृत्यु भएकाे थियाे । उनी लामो समयदेखि बसन्तपुरमा सानो छाप्रोमा जीवनयापन गर्दै आएकी थिइन्। घामपानी समेत नछेक्ने छाप्रोमा बस्दै आएकी उनलाई अध्यक्ष कालाखेतीले घर बनाइदिए पछि दंग छिन् । ‘ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै आएकी सोनी बस्दै आएकाे छाप्रोमा पानी चुहिन्थ्यो। हावाहुरीले समस्या पार्थ्यो। तपाईंहरू सबैको सहयोगले घर बन्यो एकदमै खुसी छु,’ सोनीले भनिन्।
सोनुलाई ओत लाग्ने घर नभएको र आफैँ बनाउन सक्ने अवस्था नभएको भन्दै उनका छिमेकीहरूले अध्यक्ष कालाखेतीलाई जानकारी गराएका थिए। उक्त पक्की घर २ लाख १५ हजार रुपैयाँ खर्चिएर बनाइएको हाे । सोनीको परिवारमा उनीबाहेक कोही छैनन् । गाउँपालिका अध्यक्ष कालाखेतीले एकल महिला बर्खामा चुहिने छाप्रोमै दिन काटिरहेको खबर पाएपछि सेवा सुविधाकाे रकमले नै घर बनाइदिने निर्णय गरेको बताउँछन्। ‘स्थिती निकै दयनिय देखेपछि स्थानीयहरुले जानकारी गराए। म उहाँको घरमै गएर हेरेँ। स्थिती निकै दयनिय देखेपछि आफ्नाे सेवा सुविधाकाे रकम जम्मा हुने कोषको रकमले उहाँलाई एककोठे पक्की घर बनादिएकाे हुँ’ उनले भने ।
निर्वाचित भएपछि उनले सेवा सुविधा वापतको रकम विपन्न परिवारका लागि उपचारमा सहयोग, विभिन्न चाडपर्वमा रासन सामग्री हस्तान्तरण लगायतका सामाजिक कार्यमा सहयोग गर्दै आएका छन्।