काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनको सूचीमा हेटौंडा-काठमाडौं ४२ कि.मि. पोडवे पनि समावेश रहेको छ ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जानुपूर्व पोड्वे लगायतका परियोजना मन्त्रिपरिषदको बैठकबाट एजेन्डाको रुपमा पास भइसकेको छ । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको बीआरआई कार्यान्वयनको सूचीमा यो परियोजना समावेश रहेको छ ।
सत्तारुढ दलका मुख्य सचेतक एवम् एमाले सांसद महेश वर्तौलाले केही समय अघि सदनमा हेटौंडा–काठमाडौं सार्वजनिक यातायात पोडवे संचालन गर्नुपर्ने बताएका थिए ।
१९८२ सालमा नै हेटौंडाको चौकिटोलदेखि काठमाडौंको टेकु भन्सार सम्म रोपवे संचालन भएको थियो । अहिले भिमफेदी–कुलेखानी भएर यात्रा गर्दा तारमा झुण्डिरहेको रोपवेका डिब्बा देख्न सकिन्छ । जीर्ण अवस्थामा भएको रोपवेकै ठाउँमा आधुनिक सार्वजनिक यातायातको साधन पोडवे संचालन गर्न सकिन्छ भनेर बर्तौलाले विषय उठान गर्दै आएका हुन् ।
बीआरआईमा यो परियोजना हस्ताक्षर भएर कार्यान्वयन हुन सके हेटौंडा–काठमाडौंको जोखिमपूर्ण यात्रा सहज हुनेछ । अहिले हेटौंडाबाट काठमाडौंको छोटो मार्ग भएर करिब ३ घण्टा भन्दा बढी जोखिमपूर्ण यात्रा गर्नु पर्छ । लामो यात्रा गर्दा नारायणघाट–मुग्लिन भएर यात्रा गर्नुपर्ने बाध्यता छ ।
पोडवे संचालनमा आउँदा करिब आधा घण्टाकै समयमा हेटौंडा-काठमाडौं यात्रा गर्न सकिन्छ । यसले काठमाडौंसंग हेटौंडालगायत आसपासका जिल्ला र प्रदेशहरु तथा छिमेकी राष्ट्र भारतको पहुँच वृद्धि हुने बताइएको छ ।
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट एकल महिला तथ्याङ्क सार्वजनिक गरेको छ । सोमवार सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेको छ ।
तथ्याङ्क कार्यालयले जनगणनाको तथ्याङ्कबाट छुट्टै अध्ययन गरी सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकल महिलामा विधुवा महिला बढी रहेको छ । कार्यालयले विधवा,सम्बन्ध विच्छेद,भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क अध्ययन गरी सार्वजनिक गरिएकाे हाे । नेपालको ६६ लाख ६० हजार ८४१ घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला/विधवा,सम्बन्धविच्छेद,भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएकाे छ ।
तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालका अनुसार ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखिएको छ । उनले कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेको तथ्याङ्ले देखाएको बताए । एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको छ ।
विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेको पाइएकाे कार्यक्रममा जानकारी दिइएकाे थियाे । कम्तीमा एकजना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत देखिए छ । सिलवालले १० वर्ष वा सो भन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला रहेको बताए । तथ्याङ्कले विदुर २.२ प्रतिशत तथा विधवा महिलाको संख्या ६.६ प्रतिशत रहेको देखाएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१२ को स्थानीय तह उपनिर्वाचनमा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी विजयी भएका छन् ।
तिवारी ५०३ मतअन्तरले विजयी भएका हुन् । कुल खसेको ५ हजार ४८४ मत खसेकोमध्ये ७६ बदर भएको छ । सदर मत ५ हजार ४ सय ८ मतमध्ये तिवारीले २ हजार ६३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रविनकुमार प्रधानले १ हजार ५ सय ६० मत ल्याएका छन् । यस्तै नेकपा एमालेका राजेश नगरकोटीले १ हजार ३ सय ९८ ल्याएका छन् । वडामा ८ हजार ५३ मतदाता रहेका थिए ।
यसैगरी, वडा अध्यक्षको प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रेमबहादुर भ्लोनले १७८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशावीर बलले ८३ मत ल्याएका छन् । नेकपा (एकीकृत समाजवादीका)का बलराम बलले ७३ मत पाए । ७८ मत बदर भएको छ ।
तिवारी २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा पनि १२ नम्बर वडाको वडा अध्यक्ष पदका उम्मेदवार थिए ।यसअघि माओवादीले जितेको वडामा काङ्ग्रेस विजयी भएको हो ।
उपनिर्वाचन पछि उपमहानगरपालिकाको १९ वडामा एमाले र कांग्रेसको समान ९/९ वडा अध्यक्ष र नेकपा समाजवादीको १ वडा अध्यक्ष रहेको छ ।
मकवानपुर । ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ कलाकार नीर शाहलाई प्रदान गरिने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस वर्षकाे लागि उक्त पुरस्कार शाहलाई प्रदान गरिने जानकारी दिएको हो ।
प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठले १ लाख राशीको पुरस्कार गीतकार शाहलाई प्रदान गरिने निर्णय भएको जानकारी दिए । मूलतः चलचित्र निर्माण, निर्देशन एवम् अभिनयमा समर्पित शाह २०३२ सालदेखि निरन्तर नेपाली गीत लेखनमा समेत सक्रिय स्रष्टा हुन । उनले नेपाली गीत संगीतमा पुर्याएकाे योगदानको कदर गर्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
नेपाली गीत लेखनको क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर कलम चलाउदै आएका कलाकार शाहका पर्खी बसें आउला भनी.., बादल बनाइदेऊ.., गहिराइमा डुब्दै नडुब .. लगायतका गीत चर्चामा छन् । आगामी माघ १५ गते हेटौँडामा एक विशेष समारोहकाबीच नीर शाहलाई पुरस्कार समर्पण गरिने बताइएको छ । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा २०६४ सालमा पुरस्कारकाे स्थापना गरेका हुन् । २०६४ सालमा अम्बर गुरुङलाई ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिएकाे थियाे ।
त्यसपछि अम्बर गुरुङ- २०६४ प्रेमध्वज प्रधान- २०६५ भक्तराज आचार्य – २०६६, फत्तेमान राजभण्डारी- २०६७, शान्ति ठटाल- २०६८, दीप श्रेष्ठ- २०६९, प्रकाश श्रेष्ठ- २०७०, न्हुच्छेबहादुर डङ्गोल- २०७१, मीरा राणा- २०७२, कर्म योञ्जन- २०७३, चेतन कार्की- २०७४, दावा ग्याल्मो- २०७७, दीपक जङ्गम- २०७८, किरण प्रधान २०७९, राजेन्द्र थापा- २०८० पुरस्कृत भएका छन् । स्थापना हुँदा ५० हजार रुपैंया रहेकाे उक्त पुरस्कारकाे राशी २०६७ सालबाट बृद्धि गरी १ लाख रुपैंया पुऱ्याइएको छ ।
वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा तरङ्ग साँस्कृतिक परिषद्को पहलमा ७ भाद्र २०५९ मा स्थापना भएको भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रकाे संस्था हाे । देश तथा विदेशमा रही नेपाली वाङमयकाे क्षेत्रमा उल्लेखनीय योगदान पुन्याउँदै आएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको यो संस्थाले मकवानपुरको माटोबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको प्रतिष्ठानले जनाकारी दिएकाे छ ।
प्रतिष्ठान आफैंले स्थापना गरेकाे भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार (२०७७), भीम विराग राष्ट्रिय साहित्य पुरस्कार (२०८०), भीम विराग राष्ट्रिय कला पुरस्कार (२०८०), भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार (२०८१) प्रदान गर्दै आएकाे छ । यसैगरी प्रतिष्ठानले तुलसीमाया – शिवकुमारी सिर्जनशील नारी पुरस्कार ( सस्थापक मुक्तिगोविन्द वैद्य, २०६०), भीम – मथुरा बाल प्रतिभा पुरस्कार (संस्थापक विन्दुगोपाल गोर्खाली, २०६०), कमला भवानी सङ्गीत पुरस्कार (सस्थापक घनश्यामशङ्कर शर्मा, २०६५) प्रदान गर्दै आएकाे छ ।
यस्तै शीला नारी सङ्गीत पुरस्कार (संस्थापक आशीष श्रेष्ठ, २०६५), हर्षनर बज्राचार्य स्मृति स्वर्ण पुरस्कार (संस्थापक ज्योतिरत्न बज्राचार्य, २०६६), विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार (सस्थापक चुनु बानियाँ, २०७०), चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार (संस्थापक रामबहादुर पाख्रिन, २०७१), मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार (संस्थापक देवप्रसाद श्रेष्ठ/दीपकप्रसाद श्रेष्ठ, २०७३), अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार (संस्थापक रोशन सेन गुप्ता, २०७४ ) पुरस्कार समेत प्रदान गर्दै आएकाे छ ।
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदका लागि मतदान सम्पन्न भएको छ । आइतबार साँझ ५ बजेसम्म भएको मतदानमा ६८.९ प्रतिशत मत खसेको छ ।
२ वटा मतदानस्थलमा कायम गरिएको ९ वटा मतदान केन्द्रमा कुल ८ हजार ५६ मतदाता मध्ये ५ हजार ४ सय ८४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४ हजार ४ सय २८ मतदाता रहेको प्रतिभा आधारभूत विद्यालयको ५ मतदान केन्द्रमा ३ हजर १० मत खसेको छ । प्रतिभा मतदान केन्द्रमा १ हजार ६ सय ३७ महिला र १ हजार ३ सय ७२ पुरुषले मतदान गरेका छन् । यसैगरी विष्णुज्योति आधारभूत विद्यालयमा रहेको ४ वटा मतदान केन्द्रमा २ हजार ४ सय ७४ मत खसेको छ । त्यहाँ महिला १ हजार ३ सय ९ र पुरुष १ हजार १ सय ६५ मतदाताले मतदान गरेका छन् ।
मतदान सम्पन्न भएसँगै मतपेटिका मतगणनास्थल हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा ल्याइएकाे छ । सर्वदलीय बैठक वसी मतगणनाकाे निर्णय गरिने छ । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौंडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो । वडा अध्यक्ष पदमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।