काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट एकल महिला तथ्याङ्क सार्वजनिक गरेको छ । सोमवार सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेको छ ।
तथ्याङ्क कार्यालयले जनगणनाको तथ्याङ्कबाट छुट्टै अध्ययन गरी सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकल महिलामा विधुवा महिला बढी रहेको छ । कार्यालयले विधवा,सम्बन्ध विच्छेद,भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क अध्ययन गरी सार्वजनिक गरिएकाे हाे । नेपालको ६६ लाख ६० हजार ८४१ घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला/विधवा,सम्बन्धविच्छेद,भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएकाे छ ।
तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालका अनुसार ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखिएको छ । उनले कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेको तथ्याङ्ले देखाएको बताए । एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको छ ।
विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेको पाइएकाे कार्यक्रममा जानकारी दिइएकाे थियाे । कम्तीमा एकजना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत देखिए छ । सिलवालले १० वर्ष वा सो भन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला रहेको बताए । तथ्याङ्कले विदुर २.२ प्रतिशत तथा विधवा महिलाको संख्या ६.६ प्रतिशत रहेको देखाएकाे छ ।

