काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनको सूचीमा हेटौंडा-काठमाडौं ४२ कि.मि. पोडवे पनि समावेश रहेको छ ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जानुपूर्व पोड्वे लगायतका परियोजना मन्त्रिपरिषदको बैठकबाट एजेन्डाको रुपमा पास भइसकेको छ । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको बीआरआई कार्यान्वयनको सूचीमा यो परियोजना समावेश रहेको छ ।
सत्तारुढ दलका मुख्य सचेतक एवम् एमाले सांसद महेश वर्तौलाले केही समय अघि सदनमा हेटौंडा–काठमाडौं सार्वजनिक यातायात पोडवे संचालन गर्नुपर्ने बताएका थिए ।
१९८२ सालमा नै हेटौंडाको चौकिटोलदेखि काठमाडौंको टेकु भन्सार सम्म रोपवे संचालन भएको थियो । अहिले भिमफेदी–कुलेखानी भएर यात्रा गर्दा तारमा झुण्डिरहेको रोपवेका डिब्बा देख्न सकिन्छ । जीर्ण अवस्थामा भएको रोपवेकै ठाउँमा आधुनिक सार्वजनिक यातायातको साधन पोडवे संचालन गर्न सकिन्छ भनेर बर्तौलाले विषय उठान गर्दै आएका हुन् ।
बीआरआईमा यो परियोजना हस्ताक्षर भएर कार्यान्वयन हुन सके हेटौंडा–काठमाडौंको जोखिमपूर्ण यात्रा सहज हुनेछ । अहिले हेटौंडाबाट काठमाडौंको छोटो मार्ग भएर करिब ३ घण्टा भन्दा बढी जोखिमपूर्ण यात्रा गर्नु पर्छ । लामो यात्रा गर्दा नारायणघाट–मुग्लिन भएर यात्रा गर्नुपर्ने बाध्यता छ ।
पोडवे संचालनमा आउँदा करिब आधा घण्टाकै समयमा हेटौंडा-काठमाडौं यात्रा गर्न सकिन्छ । यसले काठमाडौंसंग हेटौंडालगायत आसपासका जिल्ला र प्रदेशहरु तथा छिमेकी राष्ट्र भारतको पहुँच वृद्धि हुने बताइएको छ ।

