मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदका लागि मतदान सम्पन्न भएको छ । आइतबार साँझ ५ बजेसम्म भएको मतदानमा ६८.९ प्रतिशत मत खसेको छ ।
२ वटा मतदानस्थलमा कायम गरिएको ९ वटा मतदान केन्द्रमा कुल ८ हजार ५६ मतदाता मध्ये ५ हजार ४ सय ८४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४ हजार ४ सय २८ मतदाता रहेको प्रतिभा आधारभूत विद्यालयको ५ मतदान केन्द्रमा ३ हजर १० मत खसेको छ । प्रतिभा मतदान केन्द्रमा १ हजार ६ सय ३७ महिला र १ हजार ३ सय ७२ पुरुषले मतदान गरेका छन् । यसैगरी विष्णुज्योति आधारभूत विद्यालयमा रहेको ४ वटा मतदान केन्द्रमा २ हजार ४ सय ७४ मत खसेको छ । त्यहाँ महिला १ हजार ३ सय ९ र पुरुष १ हजार १ सय ६५ मतदाताले मतदान गरेका छन् ।
मतदान सम्पन्न भएसँगै मतपेटिका मतगणनास्थल हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा ल्याइएकाे छ । सर्वदलीय बैठक वसी मतगणनाकाे निर्णय गरिने छ । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौंडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो । वडा अध्यक्ष पदमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

