मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित सडकखण्डबाट लागूऔषध नाईट्रोभेट स्पास्मो प्रोक्सीकोन सहित हेटौंडा १५ का २१ वर्षीय जलजला स्याङ्बो र बकैया गाउँपालिका ७ का २१ वर्षीय आशिष बोम्जनलाई पक्राउ गरेकाे हाे
उनीहरुलाई हेटौंडा ९ बाट लागूऔषध नाईट्रोभेट ५ सय ८५ ट्याब्लेट, स्पास्मो प्रोक्सीकोन २ सय ८८ ट्याब्लेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । बुधबार उक्त सडकखण्डमा ज ८ प ५६५ र ना ३६ प ६९६१ नम्वरको मोटरसाईकललाई रोकी चेकजाच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध बरामद भएपछि स्याङ्बाे र बाेम्जनलाई मोटरसाइकलसहित पक्राउ गरेको सापकाेटाले बताए ।
पक्राउ परेका उनीहरुलाई बिहीबार मकवानपुर जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । हेटौंडामा रहेकाे पाथिभरा मन्दिरमा विहीबारबाट ‘पाथीभरा महोत्सव एवं कोटिहोम महायज्ञ’ सुरु भएको छ । हेटाैडा -१ भैरवडाँडा स्थित पाथिभरा मन्दिरमा हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले मन्दिरमा दिप प्रज्वलन गर्दै ‘पाथीभरा महोत्सव एवं कोटिहोम महायज्ञ’ को उद्घाद्धन गरेका हुन् ।
कोटिहोम महायज्ञ फागुन २६ गतेबाट २०७९ बैशाख १ गतेसम्म १ महिना संचालन हुने आयोजक पाथीभरा मन्दिर संरक्षण समितिले जनाएको छ । राष्ट्र शान्ती र धार्मीक पर्यटकीय स्थलको रुपमा प्रवद्धनको लागि कोटिहोम महायज्ञ सुरु गरिएको समितिले जनाएको छ । मन्दिर स्थापना भएदेखिनै वर्षेनी कोटीहोम यज्ञ गर्दै आएको भएपनि यस वर्ष भने बृहत रुपमा महायज्ञ सुरु गरिएको पाथीभरा मन्दिर संरक्षण समितिले जनाएको छ ।
कोटीहोममा हरेक दिन बिहान हवन,दिउँसो कथा वाचन र साँझमा पितृमोक्ष आरती तथा भजन किर्तन हुने आयोजकले जनाएको छ । कोटिहोमले शान्ति, मानव कल्यान,सुस्वास्थ्य तथा पितृ उद्धार हुने विश्वास रहेको छ । कोटिहोमले पृथ्वीमा बसोवास गर्ने सवै प्रकारका प्राणीहरुका लागि वातावरण स्वस्थ हुने पनि विश्वास रहेको छ ।
महायज्ञमा मन्दिर निर्माणको लागि स्वतः स्फुर्त सहयोग गर्न सकिने बताइएकाे छ । महायज्ञमा देशको विभिन्न मन्दिरहरुबाट २ दर्जन पुराेहितहरुको उपस्थिति रहेको छ । महायज्ञमा दैनिक सयौ श्रद्धालुभक्तजनले अवलोकन गर्ने अनुमान रहेको छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा १६ जना नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । मकवानपुरगढी ५ नम्बर वडाका वडा सदस्य सुकराम थिङ सहित उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिङ बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् । उनी सहित पार्टी प्रवेश गर्नेलाई कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा जिल्ला सदस्य कालु घलान, प्रतिनिधि सभा क्षेत्र २ को सचिव बलराम घिमिरे, पूर्व संघीय सभापति यतिराज सापकोटा, गाउँपालिका सभापति राजविर मुक्तान, वडा सभापति दिपेश दाहाल लगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । हेटौंडामा राजश्व प्रवर्द्धनको लागि घुम्ती शिविर संचालन गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा बुधबार) राजश्व प्रवर्द्धनका लागि व्यवसाय दर्ता र नविकरण घुम्ती शिविर संचालन गरिएको हाे ।
हेटौंडा उपमहानगरपालिका कार्यालयले आयोजना गरेकाे व्यवसाय दर्ता र नविकरण घुम्ती शिविरकाे उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका छन् । मेयर महतले राजश्व सम्बन्धी दर्ता तथा नविकरण लगायतका काम वडा स्तरबाट नै गर्नका लागि शिविर संचालन गरेको बताए । उपमहानगरपालिका कार्यालयमै गएर लिनुपर्ने सेवा वडा स्तरमा दिनका लागि वडा–वडामा घुम्ती शिविर संचालन गरिएकाे राजश्व शाखा प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाकाे ११ नम्बरबाट सुरु गरेको व्यवसाय दर्ता र नविकरण शिविर ३, १२ र १९ नम्बरमा संचालन भएको छ । हेटौंडाकाे ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ मा भने केही दिन भित्रै उक्त कार्यक्रम संचालन गरिने राजश्व शाखा प्रमुख श्रेष्ठले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले भन्सार छलीका कपडा सहित २ जनालाई पक्राउ गरि कपडा बरामद गरेको छ। भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको कुर्तासुरुवाल, सुरुवालको थानको कपडा, टावेलसहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे प्रहरी टाेलीले मंगलबार हेटौंडा १० स्थित पुर्वपश्चिम लोकमार्गमा पर्सा बीरगंज महानगरपालिका वडा नं ३ बस्ने १९ वर्षीय तवकिर जोगी र बीरगंज महानगरपालिका वडा नं २ बस्ने १८ वर्षीय निराज आलमले ल्याएकाे उक्त कपडा चेकजाँच गर्दा भन्सार छली ल्याएकाे पाइएकाेले पक्राउ गरिएकाे मकवानपुर प्रहरी निमित्त प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए ।
उनीहरुले भन्सार छली गरेर ल्याएको कपडा १ लाख ५ हजार ७ सय मुल्य बराबरको रहेको बताइएकाे छ । कपडा सहित उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको सापकाेटाले बताए ।