मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाकाे कार्यपालिकाकाे बैठक निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरे पछि स्थगित भएकाे छ ।
बुधबारकाे लागि निर्धारित कार्यपालिका बैठकमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधि उपस्थित नभएकाेले स्थगित भएकाे हाे । नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर राजेश बानियाँ, नौजना वडा अध्यक्ष र समाजवादीबाट निर्वाचित एकजना वडाध्यक्ष बुधबारकाे बैठकमा सहभागी नभएपछि बैठक सुरु नै नभई स्थगित भएकाे ।
अघिल्लो कार्यपालिका बैठकमा मेयर मीनाकुमारी लामाले कांग्रेस निकट वडाध्यक्षहरुलाई आफ्नो धारणा राख्ने समय नदिएपछि बैठकमा सहभागी नभएको उनीहरुले बताएका छन् । एमालेबाट निर्वाचित केही वडाध्यक्षहरु बैठकका लागि हेटौंडा उपमहानगरपालिकामा उपस्थित भए तर बैठक नबसेपछि फर्किए । हेटौंडा उपमहानगरको कार्यपालिका २९ सदस्यीय रहेको छ । बैठक आज (बिहीबार) बिहान ९ बजे बस्ने गरी पत्राचार भएकाे हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
हेटौडा उपमहानगरका प्रवक्ता समेत रहेका काँग्रेसको तर्फबाट निर्वाचित वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेले भने ‘अघिल्लो बैठकको एजेन्डामाथि छलफलको क्रममा मेयर लामाले वडाध्यक्षहरुलाई बोल्ने समय नदिएपछि विवाद सिर्जना भएको हो । ‘अघिल्लो बैठकमा एजेन्डामाथि छलफल गर्दा हामीले आफ्नो धारणा राख्न फ्लोर मागेका थियौं । तर, पाएनौं । त्यसकारण बुधबारकाे वैठकमा हामी सहभागी भएनौं’ उनले भने ।
नगर प्रमुखकाे सचिवालयले नगर प्रमुख लामाले समस्या समाधान गर्न आज बिहान ८ बजे कांग्रेसबाट निर्वाचित नगर उपप्रमुख तथा वडाध्यक्ष छलफल गर्ने जनाएको छ । ‘बिहान ८ बजे छलफलकाे लागि समय तोकिएकाे छ । सहमति भएपश्चात् कार्यपालिकाकाे बैठक संचालनकाे तयारीमा छौं’, सचिवालय स्रोतले भन्यो ।
यता हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देल चित्त नबुझेको कुराहरुलाई बैठकमा राख्नुपर्ने र बैठकमानै नआएर समस्याको समाधान नहुने बताउँछन् । कांग्रेसका उपमेयर सहित वडा अध्यक्षहरुलाई बिहीबारकाे बैठकमा सहभागि हुन समेत उनले आग्रह गरेका छन् । काँग्रेसबाट निर्वाचित उपमेयरसहित कार्यपालिका सदस्यहरूलाई उनले आग्रह गर्दै भने ‘समस्या छन् , समस्या साझा हुन्छन् । दलगत हुँदैन, नगरकाे नगरबासीका समस्या नै हाम्राे प्राथमिक विषय हाे । बैठकमा सहभागी बनाैँ, समाधान खाेजाै, जिम्मेवार बनाैँ ।’ उनले भने ‘स्थानीय तहमा प्रतिपक्ष हुँदैन’ ।
मकवानपुर । नेकपा (एमाले) को ११ औं महाधिवेशन हुने तयारी संगै मकवानपुर एमालेले प्रतिनिधि चयन प्रक्रिया अगाडि बढाएकाे छ । मंसिर २७–२९ गते काठमाडौंमा हुने महाधिवेशनकाे लागि प्रतिनिधि चयन गर्न एमाले मकवानपुरले मंगलबारबाट प्रक्रिया अगाडि बढाएकाे हाे ।
मंगलबार जिल्लाबाट प्रतिनिधि छनाैट गर्न मतदाता नामावली प्रकाशित गरेकाे पार्टीले बुधबारसम्म उम्मेदवारी दर्ताकाे समय दिएकाे थियो ।बुधबारसम्म उम्मेदवारकाे नामावली दर्ता तथा नामावली प्रकाशनकाे समय तोकिएकाेमा हेटौडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले मकवानपुर क्षेत्र नं. १ बाट खुला तर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएका छन्।
जिल्ला पार्टी कार्यालय, हेटौंडा उम्मेदवारी दर्ता गरेका सिग्देलले सामाजिक सञ्जालमार्फत पार्टी सदस्यहरूलाई प्रतिनिधि छनोटसहित सबै प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। उनले पार्टी एकता, नीति तथा नेतृत्व निर्माणमा महाधिवेशनको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सबैको सहयोग र साथको अपेक्षा व्यक्त गरेका छन्।
राष्ट्रिय महाधिवेशनका लागि मकवानपुरकाे क्षेत्र नं १ बाट ४ हजार १०९ जना, क्षेत्र नं २ बाट ४ हजार २६४ जना र दलित क्षेत्रबाट २६२ जना महाधिवेशन प्रतिनिधि छनाैटका लागि मतदाता रहेका छन । क्षेत्र नं १ बाट खुला ४ जना, महिला ३ जना र युवा १ जना गरी ८ जना तथा क्षेत्र नं २ बाट खुला ४ जना, महिला ३ जना र युवा १ जना गरी ८ जना निर्वाचित हुने एमाले मकवानपुरका सदस्य शिवहरी दाहालले जनाकारी दिए । यसै गरी जिल्ला भरीबाट दलित क्षेत्र तर्फ हुने १ जना प्रतिनिधि सहित १७ जना प्रतिनिधि छनौट गरिने उनले बताए ।
एमाले मकवानपुरका अनुसार जिल्लामा प्रतिनिधि चयनका लागि आगामी १३ गते निर्वाचन हुने छ भने बुधबार नै उम्मेदारकाे नामावली दर्ता पश्चात प्रकाशन गर्ने कार्यक्रम रहेकाे छ ।
४ ३ युवा
मकवानपुर । प्रत्येक वर्ष २५ नोभेम्वरदेखि १० डिसेम्बरसम्म मनाइने लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान मंगलबारबाट सुरु भएकाे छ । प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौँ’ (Unite To End Digital Violence Against All Women And Girls ) भन्ने नाराका साथ यो वर्षकाे लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान संचालन गरिएकाे हाे ।
हेटौडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले हिंसाको प्रतिकार गर्नुपर्ने बताइन् । अभियान सुरु भएकाे अवसरमा मंगलबार हेटौंडामा आयोजना गरिएकाे किशोरी संवाद कार्यक्रममा उनले यस्तो बताएकी हुन् । ‘जुनसुकै हिंसाको विरुद्दमा खुलेर बोल्नुपर्छ’ उनले भनिन् ‘हिंसा जति सह्यो अझ बढी हिंसा गर्न तर्फ प्रेरित हुन्छन् ।’
यसैगरी माइती नेपालकी कार्यक्रम संयोजक माया लामाले लैङ्गिक हिंसाको प्रकृति अहिले परिवर्तन भएको बताइन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ कात्तिक २९ गते निर्णयबाट हरेक वर्ष नोभेम्बर २५ तारिखबाट महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई दिवसका रूपमा मनाउने घोषणा गरेकाे उनले जानकारी दिइन् । अभियानकाे प्रभावकारी कार्यान्वयनकाे लागि विभिन्न गतिविधि र कार्यक्रम गरी दिवस मनाउँन थालिएको उनले बताइन् ।
‘महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ’ उनले भननिन् ‘लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालका रूपमा स्थापित गर्नु पर्छ ।’ त्यसो नगरेसम्म कुनै पनि देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसात् गरिसकेको उनकाे भनाई रहेकाे छ । नेपाल सरकारले लैङ्गिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियानमूलक र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उनले जनकारी दिइन् ।
हेटौडा उपमहानगरपालिकाको आयोजना तथा मानव अधिकार तथा मानव बेचविखन बिरुद्दको संजालको समन्वयमा गरिएकाे किशोरी संवाद कार्यक्रममा संजाल अध्यक्ष आरती पाठकले सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको बताइन् । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएकाे अभियान अन्तर्गत हिलामाथि हुने हिंसाविरुद्ध जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्दै आएकाे उनले बताइन् ।
लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेकाे बताइएकाे छ । नोभेम्बर २५ देखि डिसेम्बर १० का बिचमा पर्ने अन्य दुई महत्त्वपूर्ण दिवसलाई पनि यही १६ दिने अभियानअन्तर्गत मनाउने गरिएको छ । जसमा डिसेम्बर १ एड्स दिवस र डिसेम्बर १० मा विश्व मानव अधिकार दिवस पर्दछन् । यस अभियानअन्तर्गत विश्वव्यापी रूपमै महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाइ, सूचना/शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, गोलमेच छलफललगायत कार्यक्रम गरी मनाउने गरिएको छ ।
नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । २१ औँ शताब्दीमा समेत महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न सकेको छैन ।
मकवानपुर । मकवानपुर मनहरी ५ बसन्तपुर कि कान्छिमाया रुम्बा नजिकैको वनमा घाँस काट्न गएको बेला २०८१ पुस १४ गते बाघको अक्रमणमा परिन् । बाघले घटना स्थलमै उनको ज्यान लियो ।
७२ वर्षीया कान्छिमायाको ज्यान गएपछि परिवारले १० लाख ५० हजार रुपैयाँ क्षतिपुर्ति पायो । स्थानीय मनहरी गाउँपालिकाले संस्कार खर्च सहयोग स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्यो । पर्सा राष्ट्रिय निकुञ्जले १० हजार रुपैयाँ क्षतिपुर्ति स्वरुप परिवारलाई उपलब्ध गरायो । तर यो राहतले मात्रै उनीहरुको परिवारको क्षति पुरिएन । “हामीले आमा गुमायौ, पैसाले त्यो कसरी परिपूरण हुन्छ र ?” छोरा समिर भन्छन् ।
यस्तै आक्रमणमा परेकी थिइन मनहरी गाउँपालिका ४ कि ६५ वर्षीय राधादेवी अधिकारी पनि । २०७९ फागुनमा राधादेवीलाई घाँस काट्न गएको बेला जंगली हात्तिले आक्रमण गरेको थियो । २०७९ फागुनमा हेटौंडा १८ का ३० वर्षीय देव वाइवाको पनि हात्तिकै आक्रमणबाट ज्यान गएको थियो । उनीहरु सबैलाई राष्ट्रिय निकुञ्जले १०/१० लाख, प्रदेश सरकारले १ लाख र स्थानीय सरकारले ५० हजार उपलब्ध गराएको थियो । आर्थिक राहत पाए पनि परिवारको सदस्य गुमाउँदाको पीडामा मल्मह नलाग्ने बताउँछन् राधादेवीकी छोरा राम अधिकारी ।
एकसाता अघिमात्रै मकवानपुर मनहरी ४ नयाँबस्तिकी कान्छिमाया प्रजाको २ वटा बाख्रा बाघले खायो । उनलाई यसबारे क्षतिपुर्ति पाइन्छ भन्ने समेत जानकारी छैन । “बेच्ने बेला भएको थियो, अझै ठुलो बनाएर बेचौला भनेर राखेको थिएँ, बाघले खायो” कान्छिमाया भन्छिन् “दशैताका ७ हजार दिंदा नबेचेर राखेको थिएँ ।” मनहरी ४ को नयाँबस्तिमा नै बाघले हैरानी दिने गरेको उनीहरु बताउँछन् । “मान्छेहरु धेरै हुँदा भीडभाड हुँदा खास डर हुँदैन, बस्तिमा सुनसान भयो भने बाघ पस्ने डर हुन्छ, बस्तिकै आडमा वन छ” उनले भनिन् ।
मनहरी गाउँपालिका पर्सा राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएकोले पनि यहाँका स्थानीयहरुले वन्यजन्तुको आक्रमण बेलाबेलामा खेप्नु परेको मनहरी ५ का वडा अध्यक्ष दीपन्द्र अधिकारी बताउँछन् । पर्सा राष्ट्रिय निकुञ्जबाट आउने बाघले मात्रै हैन, हात्ति, मृग, बाँदरहरुले पनि अन्नबाली नष्ट गर्नेगरेको कारण आफूहरु आजित भएको नयाँबस्तिकी फूलमाया प्रजाले बताइन् । “भिœयाउने बेला भएको बाली नाश गर्छ, कुरेर बस्नु पर्छ, अरु काम गर्नु की बालि कुर्नु हुन्छ” फूलमायाले भनिन् ।
यता मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका ५ सोलिथुम भन्ने स्थानमा पनि ३ साता अघि फरक किसानहरुको बाघले ३ वटा बाख्रा मारेको वडा अध्यक्ष दीपेश दाहालले बताए ।
“बेलाबेलामा बाघले किसानलाई दुख दिइरहन्छ, मानवीय क्षति भएको छैन तर भय÷त्रासको अवस्था छ” दाहालले भने । यहाँ बाघले मात्रै हैन, मृग, हरिण, बाँदर, डेडुले हैरान पार्ने गरेको छ किसानलाई । “अन्नबाली खाने र नाश गर्ने समस्या धेरै छ, संगै घरपालुवा जनावरको क्षति पनि हुने गरेको छ” दाहालले भने ।
यि केही प्रतिनिधि घटनाहरु मात्रै हुन्। पर्सा राष्ट्रिय निकुञ्ज आसापासमा बसोबास गर्नेहरुलाई बेलाबेलामा वन्यजन्तुको आक्रमणले सताइरहन्छ । जब जब वन्यजन्तुहरुले मानव बस्तिमा समस्या सिर्जना गर्छ अनि आवाज सुन्ने गरिन्छ, “जनवारलाई बचाएर मान्छेको नाश गर्न पाइदैन ।” अर्थात मान्छेको हत्या गर्ने जनावरलाई संरक्षण आवश्यक छैन । यस्ता मत बोक्ने एउटा जमात बन्छन्, जसले जनावर र मान्छेबीच द्वन्द्व सुरु हुनसक्छ ।
मानवीय क्षतिको पीडामा आउने यस्ता आक्रोशात्मक आवाजमा केही सत्यता हुनसक्ने भएपनि जनावरलाई माया गर्नै नहुने भन्ने धारणा पनि गलत भएको जिल्ला वन कार्यलयका अधिकृत वसन्त गौतम बताउँछन् । फराकिलो सोच राखेर हेर्दा पृथ्वी सबैको साझा घर हो ।
पर्सा निकुञ्जमा पानीको श्रोतहरु कम छन् । गर्मी र सुख्खा हुँदा पानीको खोजिमा त्यहाँका जनावरहरु बाहिर आउने गरेको हुनसक्ने निकुञ्जका संरक्षण अधिकृत रामचन्द्र खतिवडा बताउँछन् ।
एउटा उहाहरण हो बाघ । मकवानपुरको सिमाना जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा अहिले ४१ वटा बाघ छन् । निकुञ्जको कारण आफूहरुलाई समस्या भइरहेको गुनासो गर्ने आसापासका स्थानीयहरु बाघको सङ्ख्या बढेकोमा भने खुसी देखिदैनन् ।
“बाघ बढ्यो, हुन त खुसी हुनु पर्ने हो तर जंगलबाट बाहिर आएर हामीलाई सताउँछ दुख दिन्छ”मनहरी प्रतापपुरका सन्त लामाले भने “सरकारले बाघ बढाउनको लागि लगानी गर्छ हाम्रो सुरक्षाको लागि वास्तै गदैन ।” स्थानीयहरुले बाघको सवालमा उत्साह नदेखाउनु र बाघको भविष्य चिन्ताजनक हुनुमा भने संयोग देखिन्छ । पछिल्लो समय जलवायु परिवर्तनको कारण बाघको प्रजननमै समस्या हुने प्रक्षपण गर्न थालिएको छ । अबको समयमा पनि जलवायु परिवर्तनको असरलाइ ध्यानमा राखेर काम गरिएन भने विस्तारै बाघको अस्तित्व संकटमा पर्न सक्ने एक अध्ययनले देखाएको छ ।
नेपालमा सन् २०१० मा १२१ वटा बाघ थिए । यहीवर्ष नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता विश्वमञ्चमा गर्यो । प्रतिवद्धताको समय पुरा हुँदा अर्थात सन् २०२२ मा बाघको सङ्ख्या ३५५ मा पुग्यो । नेपालले सन् २०१८ देखि २२ को ४ वर्षमा १२० वटा बाघको सङ्ख्या बढायो । सरकारी तथ्याङ्क अनुसार सन् २०२२ मा चितवन निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सामा ४१, बाँकेमा २५ र शुक्लाफाँटामा ३६ वटा बाघ छन् ।
बाघले आफ्फ्नो क्षेत्र कायम गर्छ । क्षेत्र त्यहाँको घाँसे मैदान र आहारा प्रजातिको संख्याको आधारमा निक्र्यौल हुन्छ। पर्याप्त आहारा नपाएमा, अर्को बाघसँगको लडाइँमा पराजित भएमा, घाइते, रोगी, बुढो भएमा बाघले आफ्नो क्षेत्र छाड्न सक्छ। त्यसैले बाघका लागि व्यवस्थित वासस्थान महत्वपूर्ण हुन्छ । बाघको संख्या बढाउन ठूलो रकम खर्च गरियो। त्यो अनुसार तोकिएको अवधिमा संख्या झन्डै तेब्बर पुग्यो। तर संख्या बढेपछि त्यसको व्यवस्थापनमा जति काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन । संरक्षित क्षेत्रका लागि योजना, बजेट पहिलेभन्दा बढी हुनुपथ्र्यो, तर घटाइएको छ यसले गर्दा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न सकिएको छैन, र मानवसँग बाघको द्वन्द्व बढ्दो छ ।
संरक्षित क्षेत्र विस्तार गर्ने, राम्रो व्यवस्थापन गरेर बाघलाई त्यहाँबाट बाहिर निस्कनु पर्ने जरुरी नै नहुने गरी व्यवस्थापन गरिए मानवसँगको रिसिइवी नै रहदैन । स्थानीयवासीलाई पनि उपयुक्त जिविकोपार्जनका लागि सहयोग गरेमा बाँचे आधारको खोजिमा मानव जंगल प्रवेश नै गर्दैनन् । यसले पनि वन्यजन्तुसँगको सम्बन्ध सुमधुर हुन सक्ने मध्यवर्ति क्षेत्र काउन्सिलका पूर्व अध्यक्ष पदम बहादुर तितुङले बताए । मानव बस्ती नजिकको जंगलमा सिसिटिभी क्यामरा जडान गरेर नियमित निगरानी गर्ने हो भने समस्याग्रस्त बाघबाट हुने क्षति नियन्त्रण गर्न सकिन्छ ।
हालकै अवस्थाको वातारण रहदा र यो भन्दा बिग्रेमा झनै समस्या हुनसक्ने खतिवडाले बताए । “वातावारणीय अवस्था सुधार भएन भने विकराल अवस्था आउन सक्छ,” खतिवडाले भने । वर्तामान अवस्थाको जलवायु परिवर्तनको असरलाई मध्येनजगर गर्दै यससँग मुकाविला गर्नेतर्फ ध्यान नदिएको बाघलाई समस्या हुने देखिन्छ । यसैगरी बढ्दो शहरीकरण, औद्योगिक क्षेत्रको वृद्धि, वन विनाशलगायत गतिविधिहरू बढेको अवस्थामा सन् २०९० सम्ममा संरक्षित क्षेत्रभित्र बाघको स्थान ८२० वर्ग किलोमिटरमा खुम्चिनेछ अनुमान गरिएको छ ।
उनका अनुसार त्यतिखेर हाल संरक्षित क्षेत्रभन्दा बाहिर रहेको ३ हजार १३ वर्ग किलोमिटर क्षेत्रलाई बाघले आफ्नो वासस्थान बनाउन थाल्नेछ । सन् २०५० मा संरक्षित क्षेत्रमा ३ हजार ५०३ र बाहिर ५ हजार ३९२, सन् २०७० मा संरक्षित क्षेत्रमा २ हजार ६ र बाहिर ३ हजार ४१६ वर्ग किलोमिटर क्षेत्र बाघको वासस्थान बन्न सक्ने आंकलन छ ।
पृथ्वीको तापक्रम बढ्दै जाँदा वन्यजन्तुको प्रजनन क्षमतामा पनि असर पर्न सक्ने संरक्षण अधिकृत खतिवडा बताउँछन् । “यसको असर बाघमा मात्रै नभएर उसका सिकार प्रजाति र सिकार प्रजातिको आहारा, वासस्थान, वनस्पतिमा पनि पर्छ” उनले भने।
तातोपनाले हिउँ पग्लने सवालमात्रै अहिले चर्चामा छ, यसको असर त सवत्र पर्छ नै । पहिलो असर यस्तै हात्ति, गैडा, गोहीहरुलाई पर्ने उनको तर्क छ । जलवायु परिवर्तनले तापक्रम बढ्छ, हिमालमा हिउँको मात्रा घट्छ अनि नदीमा पानीको मात्रा घट्दै जान्छ। पानी कम हुँदाको सबभन्दा धेरै असर त हात्ती र गैंडाजस्ता ठूला शाकाहारी जनावरलाई पर्छ । हात्तीलाई दिनमै २ सय लिटरजति पानी चाहिन्छ। गैंडालाई आहाल बस्न घोल अनिवार्य हुन्छ । यस्तै असर मृग, हरिणजस्ता साना प्रजाति अनि वनमा पनि पछ । “वन र सिकार नै मासिएपछि बाघ कसरी बाँच्छ, अनि वनबाट बाहिरीने संभावना बढ्छ” खतिवडाले भने “यसले मान्छे, घरपालुवा जनावर टार्गेटमा पर्न थालेका हुन् ।” समग्रमा यसको असर वनस्पति, जीवजन्तु र वातावरण वा इकोसिस्टममा नै पर्ने उनले बताए ।
मकवानपुर । जिल्लास्तरीय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जीएस निकेतनले जितेको छ । नेपाल रेडक्रस सोसाइटी, मकवानपुरको आयोजना एवं जुनियर रेडक्रस सर्कल शारदा मावि, आमभन्ज्याङ्गकाे व्यवस्थापनमा आयोजित शिक्षक भलिबलकाे उपाधी जीएसले हात पारेकाे हाे ।
शारदा माविकाे स्वर्ण जयन्तीकाे अवसरमा शुक्रबारबाट सुरु प्रतियोगिता अन्तरगत आइतबार फाइनल खेल भएकाे थियो । आइतबार भएकाे फाइनलमा जिएसले शारदालाई २०-२५, २५-२३, २५-२०, २५-१७ ले पराजित गर्दै उपाधी हात पारेकाे हाे । उपाधीसँगै जिएसले ५० हजार रुपैंया नगद सहित रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएकाे शारदाले ३० हजार रुपैंया नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यसैगरी सान्त्वना हुँदै प्रजा जागृती मावि राक्सिराङ्ग र सुन्दरीदेवि मावि थाहानगरले १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
शनिबार भएकाे पहिलो सेमिफाइनलमा जिएसले प्रजा जागृतिलाई २५–१७, २५–२२ र २५–९ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेकाे थियाे । त्यस्तै शनिबार नै भएकाे दोश्रो सेमिफाइनलमा शारदाले सुन्दरीदेवीलाई २५–१८, २५–१७ र २५–१७ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका थियाे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी जीएसका अमित मिश्र, उत्कृष्ट कोच जीएसकै इश्वर लामिछाने, उत्कृष्ट डिफेन्डर जिएसका आयुशा सिङ्ग, उत्कृष्ट सेटर जीएसका बिनोद श्रेष्ठ घोषित भए । यस्तै उत्कृष्ट स्पाइकर शारदाका आशिष घलान घोषित भए । प्रतियोगितामा मकवानपुरका २४ वटा विद्यालयको सहभागीता रहेको थियो ।
प्रतियोगिताकाे बिजेता टोलीलाई नेपाल रेडक्रस सोसाइटी, मकवानपुरका उपमन्त्री एवं जिल्ला जुनियर युवा सामितिको संयोजक शिवहरि दाहाल, जिल्ला सदस्य पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई,मकवानपुर गढी -५ का वडा अध्यक्ष दिपेश दाहाल तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज सापकोटाले पुरस्कार वितरण गरेका थिए ।