मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाकाे कार्यपालिकाकाे बैठक निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरे पछि स्थगित भएकाे छ ।
बुधबारकाे लागि निर्धारित कार्यपालिका बैठकमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधि उपस्थित नभएकाेले स्थगित भएकाे हाे । नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर राजेश बानियाँ, नौजना वडा अध्यक्ष र समाजवादीबाट निर्वाचित एकजना वडाध्यक्ष बुधबारकाे बैठकमा सहभागी नभएपछि बैठक सुरु नै नभई स्थगित भएकाे ।
अघिल्लो कार्यपालिका बैठकमा मेयर मीनाकुमारी लामाले कांग्रेस निकट वडाध्यक्षहरुलाई आफ्नो धारणा राख्ने समय नदिएपछि बैठकमा सहभागी नभएको उनीहरुले बताएका छन् । एमालेबाट निर्वाचित केही वडाध्यक्षहरु बैठकका लागि हेटौंडा उपमहानगरपालिकामा उपस्थित भए तर बैठक नबसेपछि फर्किए । हेटौंडा उपमहानगरको कार्यपालिका २९ सदस्यीय रहेको छ । बैठक आज (बिहीबार) बिहान ९ बजे बस्ने गरी पत्राचार भएकाे हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
हेटौडा उपमहानगरका प्रवक्ता समेत रहेका काँग्रेसको तर्फबाट निर्वाचित वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेले भने ‘अघिल्लो बैठकको एजेन्डामाथि छलफलको क्रममा मेयर लामाले वडाध्यक्षहरुलाई बोल्ने समय नदिएपछि विवाद सिर्जना भएको हो । ‘अघिल्लो बैठकमा एजेन्डामाथि छलफल गर्दा हामीले आफ्नो धारणा राख्न फ्लोर मागेका थियौं । तर, पाएनौं । त्यसकारण बुधबारकाे वैठकमा हामी सहभागी भएनौं’ उनले भने ।
नगर प्रमुखकाे सचिवालयले नगर प्रमुख लामाले समस्या समाधान गर्न आज बिहान ८ बजे कांग्रेसबाट निर्वाचित नगर उपप्रमुख तथा वडाध्यक्ष छलफल गर्ने जनाएको छ । ‘बिहान ८ बजे छलफलकाे लागि समय तोकिएकाे छ । सहमति भएपश्चात् कार्यपालिकाकाे बैठक संचालनकाे तयारीमा छौं’, सचिवालय स्रोतले भन्यो ।
यता हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देल चित्त नबुझेको कुराहरुलाई बैठकमा राख्नुपर्ने र बैठकमानै नआएर समस्याको समाधान नहुने बताउँछन् । कांग्रेसका उपमेयर सहित वडा अध्यक्षहरुलाई बिहीबारकाे बैठकमा सहभागि हुन समेत उनले आग्रह गरेका छन् । काँग्रेसबाट निर्वाचित उपमेयरसहित कार्यपालिका सदस्यहरूलाई उनले आग्रह गर्दै भने ‘समस्या छन् , समस्या साझा हुन्छन् । दलगत हुँदैन, नगरकाे नगरबासीका समस्या नै हाम्राे प्राथमिक विषय हाे । बैठकमा सहभागी बनाैँ, समाधान खाेजाै, जिम्मेवार बनाैँ ।’ उनले भने ‘स्थानीय तहमा प्रतिपक्ष हुँदैन’ ।

