मकवानपुर । जिल्लास्तरीय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जीएस निकेतनले जितेको छ । नेपाल रेडक्रस सोसाइटी, मकवानपुरको आयोजना एवं जुनियर रेडक्रस सर्कल शारदा मावि, आमभन्ज्याङ्गकाे व्यवस्थापनमा आयोजित शिक्षक भलिबलकाे उपाधी जीएसले हात पारेकाे हाे ।
शारदा माविकाे स्वर्ण जयन्तीकाे अवसरमा शुक्रबारबाट सुरु प्रतियोगिता अन्तरगत आइतबार फाइनल खेल भएकाे थियो । आइतबार भएकाे फाइनलमा जिएसले शारदालाई २०-२५, २५-२३, २५-२०, २५-१७ ले पराजित गर्दै उपाधी हात पारेकाे हाे । उपाधीसँगै जिएसले ५० हजार रुपैंया नगद सहित रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएकाे शारदाले ३० हजार रुपैंया नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यसैगरी सान्त्वना हुँदै प्रजा जागृती मावि राक्सिराङ्ग र सुन्दरीदेवि मावि थाहानगरले १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
शनिबार भएकाे पहिलो सेमिफाइनलमा जिएसले प्रजा जागृतिलाई २५–१७, २५–२२ र २५–९ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेकाे थियाे । त्यस्तै शनिबार नै भएकाे दोश्रो सेमिफाइनलमा शारदाले सुन्दरीदेवीलाई २५–१८, २५–१७ र २५–१७ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका थियाे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी जीएसका अमित मिश्र, उत्कृष्ट कोच जीएसकै इश्वर लामिछाने, उत्कृष्ट डिफेन्डर जिएसका आयुशा सिङ्ग, उत्कृष्ट सेटर जीएसका बिनोद श्रेष्ठ घोषित भए । यस्तै उत्कृष्ट स्पाइकर शारदाका आशिष घलान घोषित भए । प्रतियोगितामा मकवानपुरका २४ वटा विद्यालयको सहभागीता रहेको थियो ।
प्रतियोगिताकाे बिजेता टोलीलाई नेपाल रेडक्रस सोसाइटी, मकवानपुरका उपमन्त्री एवं जिल्ला जुनियर युवा सामितिको संयोजक शिवहरि दाहाल, जिल्ला सदस्य पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई,मकवानपुर गढी -५ का वडा अध्यक्ष दिपेश दाहाल तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज सापकोटाले पुरस्कार वितरण गरेका थिए ।

