मकवानपुर । मकवानपुर मनहरी ५ बसन्तपुर कि कान्छिमाया रुम्बा नजिकैको वनमा घाँस काट्न गएको बेला २०८१ पुस १४ गते बाघको अक्रमणमा परिन् । बाघले घटना स्थलमै उनको ज्यान लियो ।
७२ वर्षीया कान्छिमायाको ज्यान गएपछि परिवारले १० लाख ५० हजार रुपैयाँ क्षतिपुर्ति पायो । स्थानीय मनहरी गाउँपालिकाले संस्कार खर्च सहयोग स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्यो । पर्सा राष्ट्रिय निकुञ्जले १० हजार रुपैयाँ क्षतिपुर्ति स्वरुप परिवारलाई उपलब्ध गरायो । तर यो राहतले मात्रै उनीहरुको परिवारको क्षति पुरिएन । “हामीले आमा गुमायौ, पैसाले त्यो कसरी परिपूरण हुन्छ र ?” छोरा समिर भन्छन् ।
यस्तै आक्रमणमा परेकी थिइन मनहरी गाउँपालिका ४ कि ६५ वर्षीय राधादेवी अधिकारी पनि । २०७९ फागुनमा राधादेवीलाई घाँस काट्न गएको बेला जंगली हात्तिले आक्रमण गरेको थियो । २०७९ फागुनमा हेटौंडा १८ का ३० वर्षीय देव वाइवाको पनि हात्तिकै आक्रमणबाट ज्यान गएको थियो । उनीहरु सबैलाई राष्ट्रिय निकुञ्जले १०/१० लाख, प्रदेश सरकारले १ लाख र स्थानीय सरकारले ५० हजार उपलब्ध गराएको थियो । आर्थिक राहत पाए पनि परिवारको सदस्य गुमाउँदाको पीडामा मल्मह नलाग्ने बताउँछन् राधादेवीकी छोरा राम अधिकारी ।
एकसाता अघिमात्रै मकवानपुर मनहरी ४ नयाँबस्तिकी कान्छिमाया प्रजाको २ वटा बाख्रा बाघले खायो । उनलाई यसबारे क्षतिपुर्ति पाइन्छ भन्ने समेत जानकारी छैन । “बेच्ने बेला भएको थियो, अझै ठुलो बनाएर बेचौला भनेर राखेको थिएँ, बाघले खायो” कान्छिमाया भन्छिन् “दशैताका ७ हजार दिंदा नबेचेर राखेको थिएँ ।” मनहरी ४ को नयाँबस्तिमा नै बाघले हैरानी दिने गरेको उनीहरु बताउँछन् । “मान्छेहरु धेरै हुँदा भीडभाड हुँदा खास डर हुँदैन, बस्तिमा सुनसान भयो भने बाघ पस्ने डर हुन्छ, बस्तिकै आडमा वन छ” उनले भनिन् ।
मनहरी गाउँपालिका पर्सा राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएकोले पनि यहाँका स्थानीयहरुले वन्यजन्तुको आक्रमण बेलाबेलामा खेप्नु परेको मनहरी ५ का वडा अध्यक्ष दीपन्द्र अधिकारी बताउँछन् । पर्सा राष्ट्रिय निकुञ्जबाट आउने बाघले मात्रै हैन, हात्ति, मृग, बाँदरहरुले पनि अन्नबाली नष्ट गर्नेगरेको कारण आफूहरु आजित भएको नयाँबस्तिकी फूलमाया प्रजाले बताइन् । “भिœयाउने बेला भएको बाली नाश गर्छ, कुरेर बस्नु पर्छ, अरु काम गर्नु की बालि कुर्नु हुन्छ” फूलमायाले भनिन् ।
यता मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका ५ सोलिथुम भन्ने स्थानमा पनि ३ साता अघि फरक किसानहरुको बाघले ३ वटा बाख्रा मारेको वडा अध्यक्ष दीपेश दाहालले बताए ।
“बेलाबेलामा बाघले किसानलाई दुख दिइरहन्छ, मानवीय क्षति भएको छैन तर भय÷त्रासको अवस्था छ” दाहालले भने । यहाँ बाघले मात्रै हैन, मृग, हरिण, बाँदर, डेडुले हैरान पार्ने गरेको छ किसानलाई । “अन्नबाली खाने र नाश गर्ने समस्या धेरै छ, संगै घरपालुवा जनावरको क्षति पनि हुने गरेको छ” दाहालले भने ।
यि केही प्रतिनिधि घटनाहरु मात्रै हुन्। पर्सा राष्ट्रिय निकुञ्ज आसापासमा बसोबास गर्नेहरुलाई बेलाबेलामा वन्यजन्तुको आक्रमणले सताइरहन्छ । जब जब वन्यजन्तुहरुले मानव बस्तिमा समस्या सिर्जना गर्छ अनि आवाज सुन्ने गरिन्छ, “जनवारलाई बचाएर मान्छेको नाश गर्न पाइदैन ।” अर्थात मान्छेको हत्या गर्ने जनावरलाई संरक्षण आवश्यक छैन । यस्ता मत बोक्ने एउटा जमात बन्छन्, जसले जनावर र मान्छेबीच द्वन्द्व सुरु हुनसक्छ ।
मानवीय क्षतिको पीडामा आउने यस्ता आक्रोशात्मक आवाजमा केही सत्यता हुनसक्ने भएपनि जनावरलाई माया गर्नै नहुने भन्ने धारणा पनि गलत भएको जिल्ला वन कार्यलयका अधिकृत वसन्त गौतम बताउँछन् । फराकिलो सोच राखेर हेर्दा पृथ्वी सबैको साझा घर हो ।
पर्सा निकुञ्जमा पानीको श्रोतहरु कम छन् । गर्मी र सुख्खा हुँदा पानीको खोजिमा त्यहाँका जनावरहरु बाहिर आउने गरेको हुनसक्ने निकुञ्जका संरक्षण अधिकृत रामचन्द्र खतिवडा बताउँछन् ।
एउटा उहाहरण हो बाघ । मकवानपुरको सिमाना जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा अहिले ४१ वटा बाघ छन् । निकुञ्जको कारण आफूहरुलाई समस्या भइरहेको गुनासो गर्ने आसापासका स्थानीयहरु बाघको सङ्ख्या बढेकोमा भने खुसी देखिदैनन् ।
“बाघ बढ्यो, हुन त खुसी हुनु पर्ने हो तर जंगलबाट बाहिर आएर हामीलाई सताउँछ दुख दिन्छ”मनहरी प्रतापपुरका सन्त लामाले भने “सरकारले बाघ बढाउनको लागि लगानी गर्छ हाम्रो सुरक्षाको लागि वास्तै गदैन ।” स्थानीयहरुले बाघको सवालमा उत्साह नदेखाउनु र बाघको भविष्य चिन्ताजनक हुनुमा भने संयोग देखिन्छ । पछिल्लो समय जलवायु परिवर्तनको कारण बाघको प्रजननमै समस्या हुने प्रक्षपण गर्न थालिएको छ । अबको समयमा पनि जलवायु परिवर्तनको असरलाइ ध्यानमा राखेर काम गरिएन भने विस्तारै बाघको अस्तित्व संकटमा पर्न सक्ने एक अध्ययनले देखाएको छ ।
नेपालमा सन् २०१० मा १२१ वटा बाघ थिए । यहीवर्ष नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता विश्वमञ्चमा गर्यो । प्रतिवद्धताको समय पुरा हुँदा अर्थात सन् २०२२ मा बाघको सङ्ख्या ३५५ मा पुग्यो । नेपालले सन् २०१८ देखि २२ को ४ वर्षमा १२० वटा बाघको सङ्ख्या बढायो । सरकारी तथ्याङ्क अनुसार सन् २०२२ मा चितवन निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सामा ४१, बाँकेमा २५ र शुक्लाफाँटामा ३६ वटा बाघ छन् ।
बाघले आफ्फ्नो क्षेत्र कायम गर्छ । क्षेत्र त्यहाँको घाँसे मैदान र आहारा प्रजातिको संख्याको आधारमा निक्र्यौल हुन्छ। पर्याप्त आहारा नपाएमा, अर्को बाघसँगको लडाइँमा पराजित भएमा, घाइते, रोगी, बुढो भएमा बाघले आफ्नो क्षेत्र छाड्न सक्छ। त्यसैले बाघका लागि व्यवस्थित वासस्थान महत्वपूर्ण हुन्छ । बाघको संख्या बढाउन ठूलो रकम खर्च गरियो। त्यो अनुसार तोकिएको अवधिमा संख्या झन्डै तेब्बर पुग्यो। तर संख्या बढेपछि त्यसको व्यवस्थापनमा जति काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन । संरक्षित क्षेत्रका लागि योजना, बजेट पहिलेभन्दा बढी हुनुपथ्र्यो, तर घटाइएको छ यसले गर्दा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न सकिएको छैन, र मानवसँग बाघको द्वन्द्व बढ्दो छ ।
संरक्षित क्षेत्र विस्तार गर्ने, राम्रो व्यवस्थापन गरेर बाघलाई त्यहाँबाट बाहिर निस्कनु पर्ने जरुरी नै नहुने गरी व्यवस्थापन गरिए मानवसँगको रिसिइवी नै रहदैन । स्थानीयवासीलाई पनि उपयुक्त जिविकोपार्जनका लागि सहयोग गरेमा बाँचे आधारको खोजिमा मानव जंगल प्रवेश नै गर्दैनन् । यसले पनि वन्यजन्तुसँगको सम्बन्ध सुमधुर हुन सक्ने मध्यवर्ति क्षेत्र काउन्सिलका पूर्व अध्यक्ष पदम बहादुर तितुङले बताए । मानव बस्ती नजिकको जंगलमा सिसिटिभी क्यामरा जडान गरेर नियमित निगरानी गर्ने हो भने समस्याग्रस्त बाघबाट हुने क्षति नियन्त्रण गर्न सकिन्छ ।
हालकै अवस्थाको वातारण रहदा र यो भन्दा बिग्रेमा झनै समस्या हुनसक्ने खतिवडाले बताए । “वातावारणीय अवस्था सुधार भएन भने विकराल अवस्था आउन सक्छ,” खतिवडाले भने । वर्तामान अवस्थाको जलवायु परिवर्तनको असरलाई मध्येनजगर गर्दै यससँग मुकाविला गर्नेतर्फ ध्यान नदिएको बाघलाई समस्या हुने देखिन्छ । यसैगरी बढ्दो शहरीकरण, औद्योगिक क्षेत्रको वृद्धि, वन विनाशलगायत गतिविधिहरू बढेको अवस्थामा सन् २०९० सम्ममा संरक्षित क्षेत्रभित्र बाघको स्थान ८२० वर्ग किलोमिटरमा खुम्चिनेछ अनुमान गरिएको छ ।
उनका अनुसार त्यतिखेर हाल संरक्षित क्षेत्रभन्दा बाहिर रहेको ३ हजार १३ वर्ग किलोमिटर क्षेत्रलाई बाघले आफ्नो वासस्थान बनाउन थाल्नेछ । सन् २०५० मा संरक्षित क्षेत्रमा ३ हजार ५०३ र बाहिर ५ हजार ३९२, सन् २०७० मा संरक्षित क्षेत्रमा २ हजार ६ र बाहिर ३ हजार ४१६ वर्ग किलोमिटर क्षेत्र बाघको वासस्थान बन्न सक्ने आंकलन छ ।
पृथ्वीको तापक्रम बढ्दै जाँदा वन्यजन्तुको प्रजनन क्षमतामा पनि असर पर्न सक्ने संरक्षण अधिकृत खतिवडा बताउँछन् । “यसको असर बाघमा मात्रै नभएर उसका सिकार प्रजाति र सिकार प्रजातिको आहारा, वासस्थान, वनस्पतिमा पनि पर्छ” उनले भने।
तातोपनाले हिउँ पग्लने सवालमात्रै अहिले चर्चामा छ, यसको असर त सवत्र पर्छ नै । पहिलो असर यस्तै हात्ति, गैडा, गोहीहरुलाई पर्ने उनको तर्क छ । जलवायु परिवर्तनले तापक्रम बढ्छ, हिमालमा हिउँको मात्रा घट्छ अनि नदीमा पानीको मात्रा घट्दै जान्छ। पानी कम हुँदाको सबभन्दा धेरै असर त हात्ती र गैंडाजस्ता ठूला शाकाहारी जनावरलाई पर्छ । हात्तीलाई दिनमै २ सय लिटरजति पानी चाहिन्छ। गैंडालाई आहाल बस्न घोल अनिवार्य हुन्छ । यस्तै असर मृग, हरिणजस्ता साना प्रजाति अनि वनमा पनि पछ । “वन र सिकार नै मासिएपछि बाघ कसरी बाँच्छ, अनि वनबाट बाहिरीने संभावना बढ्छ” खतिवडाले भने “यसले मान्छे, घरपालुवा जनावर टार्गेटमा पर्न थालेका हुन् ।” समग्रमा यसको असर वनस्पति, जीवजन्तु र वातावरण वा इकोसिस्टममा नै पर्ने उनले बताए ।

