मकवानपुर । सरकारले निजामति प्रशासनकाे सर्वोच्च पद मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबारकाे मन्त्रिपरिषद् बैठकले हाल रक्षा मन्त्रालयका सचिव रहेका अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।
हालका मुख्यसचिव एकनारायण अर्याल मंसिर १० गतेबाट अनिवार्य अवकाश जादैछन् । एकनारायण अवकासमा जानु अघि वरिष्ठता, समन्वय क्षमता, संस्थागत बुझाइ र कार्यक्षमताकाे आधारमा सुमनलाई मुख्यसचिवमा नियुक्त गर्ने सरकारले निर्णय गरेकाे बताइएकाे छ । प्रशासनिक नेतृत्वकाे पद मुख्य सचिवमा अर्यालसहित प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्कर आकांक्षी रहेका थिए।
काे हुन सुमन?
- २६ असार २०२५ मा काठमाडौंको जोरपाटीमा जन्म
- त्रिभुवन विश्वविद्यालयबाट स्नातक उत्तीर्ण २०५२ साल । सोही वर्ष सरकारी सेवा प्रवेशका लागि फाराम भरेका ।
- १९ वैशाख २०५३ मा केन्द्रीय तथ्याङ्क विभागमा शाखा अधिकृतको रूपमा नियुक्ति ।
- २०६६ सालमा उपसचिवमा बढुवा ।
- २०६८ सालमा सहसचिवमा बढुवा । प्रदेश सचिवका रुपमा समेत कार्यरत ।
- १९ माघ २०७७ मा सचिवमा बढुवा ।
- सचिवमा बढुवा हुनु अघि विभागको महानिर्देशक ।
- सचिव बढुवाको ५८ महिनापछि ८ मंसिर २०८२ मा मुख्यसचिवमा नियुक्त ।
- २५ असार २०८३ सम्म अर्थात आठ महिना सो पदमा बहाल रहने ।
- अर्याल महानिर्देशक भएकै बेला केन्द्रीय तथ्याङ्क विभागले इतिहासमै पहिलो पटक आर्थिक गणना सम्पन्न गरेको थियो ।
- अर्याल आर्थिक योजना तथा तथ्याङ्क सेवामा प्रवेश गरी नेपाल सरकारको सचिवमा बढुवा हुने पहिलो प्रशासक ।
- अर्यालले राष्ट्रिय योजना आयोगमा रहँदा १५ औं राष्ट्रिय योजनाको खाका तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाे ।
यसैगरी सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकपछि ९ वटा निर्णय सार्वजनिक भएको छ ।
१. युरोपियन युनियनको ‘Green and Reliable Energy for Economic Prosperity in Nepal’ परियोजनाका लागि २ कराेड ३५ लाख ८० हजार युरो अनुदान स्वीकार गर्ने।
२. भैरहवा विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्ने, त्यहाँको भाडादर २० बाट घटाई ५ रुपैयाँ प्रति वर्गमिटर कायम गर्ने।
३. विद्युत् नियमन आयोगलाई ‘South Asia for Infrastructure Regulation’ को सदस्यता स्वीकारका लागि अनुमति दिने।
४. नेपाल प्रहरीको संरचनाभित्रै पद मिलान तथा दरबन्दी थप–घट गर्ने र संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी काम थाल्न स्वीकृति।
५. भदौ २३ र २४ का आन्दोलनमा घाइतेहरूको उपचार र राहत उपलब्ध गराउने, साथै सेवा–सहयोगका लागि हेल्प डेस्क गठन गरी १० जना स्वयंसेवकलाई चार महिनासम्म मासिक १५ हजार रुपैयाँ खाजा–खर्च उपलब्ध गराउने।
६. प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने।
७. भूमि सम्बन्धी अध्यादेश नवौं संशोधन–२०२२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
८. वन तथा वातावरण मन्त्रालयअन्तर्गत २०८२/८३ देखि सञ्चालन हुने एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाका लागि अधिकृतस्तरका ३७ दरबन्दी स्वीकृत गर्ने।
९. मुख्य सचिव एकनारायण अर्यालको अनिवार्य अवकाशपछि सचिव सुमनराज अर्याललाई नयाँ मुख्य सचिवको जिम्मेवारी दिने।

