मकवानपुर । प्रत्येक वर्ष २५ नोभेम्वरदेखि १० डिसेम्बरसम्म मनाइने लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान मंगलबारबाट सुरु भएकाे छ । प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौँ’ (Unite To End Digital Violence Against All Women And Girls ) भन्ने नाराका साथ यो वर्षकाे लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान संचालन गरिएकाे हाे ।
हेटौडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले हिंसाको प्रतिकार गर्नुपर्ने बताइन् । अभियान सुरु भएकाे अवसरमा मंगलबार हेटौंडामा आयोजना गरिएकाे किशोरी संवाद कार्यक्रममा उनले यस्तो बताएकी हुन् । ‘जुनसुकै हिंसाको विरुद्दमा खुलेर बोल्नुपर्छ’ उनले भनिन् ‘हिंसा जति सह्यो अझ बढी हिंसा गर्न तर्फ प्रेरित हुन्छन् ।’
यसैगरी माइती नेपालकी कार्यक्रम संयोजक माया लामाले लैङ्गिक हिंसाको प्रकृति अहिले परिवर्तन भएको बताइन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ कात्तिक २९ गते निर्णयबाट हरेक वर्ष नोभेम्बर २५ तारिखबाट महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई दिवसका रूपमा मनाउने घोषणा गरेकाे उनले जानकारी दिइन् । अभियानकाे प्रभावकारी कार्यान्वयनकाे लागि विभिन्न गतिविधि र कार्यक्रम गरी दिवस मनाउँन थालिएको उनले बताइन् ।
‘महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ’ उनले भननिन् ‘लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालका रूपमा स्थापित गर्नु पर्छ ।’ त्यसो नगरेसम्म कुनै पनि देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसात् गरिसकेको उनकाे भनाई रहेकाे छ । नेपाल सरकारले लैङ्गिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियानमूलक र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उनले जनकारी दिइन् ।
हेटौडा उपमहानगरपालिकाको आयोजना तथा मानव अधिकार तथा मानव बेचविखन बिरुद्दको संजालको समन्वयमा गरिएकाे किशोरी संवाद कार्यक्रममा संजाल अध्यक्ष आरती पाठकले सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको बताइन् । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएकाे अभियान अन्तर्गत हिलामाथि हुने हिंसाविरुद्ध जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्दै आएकाे उनले बताइन् ।
लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेकाे बताइएकाे छ । नोभेम्बर २५ देखि डिसेम्बर १० का बिचमा पर्ने अन्य दुई महत्त्वपूर्ण दिवसलाई पनि यही १६ दिने अभियानअन्तर्गत मनाउने गरिएको छ । जसमा डिसेम्बर १ एड्स दिवस र डिसेम्बर १० मा विश्व मानव अधिकार दिवस पर्दछन् । यस अभियानअन्तर्गत विश्वव्यापी रूपमै महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाइ, सूचना/शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, गोलमेच छलफललगायत कार्यक्रम गरी मनाउने गरिएको छ ।
नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । २१ औँ शताब्दीमा समेत महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न सकेको छैन ।

