मकवानपुर – नेकपा एमाले मकवानपुरले ४ मंसिरमा हुने चुनावमा ‘हेभिवेट नेता’ भन्दै पुरानालाई नै टिकट दिने सम्भावना बढेसँगै युवा नेताहरूको दौडधुप बढेको छ । एमालेले हेभीवेट उम्मेवदार छान्ने कसरत गरेपछि युवाहरूले दाबी गर्न थालेका हुन् । युवालाई प्राथमिकता दिनुपर्ने माग उठिरहेको बेला पार्टी भने गठबन्धनसँग जित्नुपर्ने भन्दै हेभिवेट नेताको पक्षमा रहेको देखिन्छ।
जिल्लाको प्रतिनिधिसभा क्षेत्र १ मा एमालेको तर्फबाट तीन जनाले उम्मेदवारी दिने चर्चा सुरु भएको छ । वर्तमान सांसद कृष्णप्रसाद दाहाल, निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र एमालेका जिल्ला सचिवालय सदस्य मदन कुमार दाहालले उम्मेदवार बन्ने चर्चा सुरु भएको हो ।
सचिवालय सदस्य दाहाल स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरको लागि इच्छुक थिए । पार्टीले अनन्त पौडेललाई टिकट दिएपछि दाहाल ब्याक भएका थिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका कृष्ण दाहाल, एमाले प्रदेश कमिटीका सदस्य खुलाल र मकवानपुरका चर्चित अधिवक्ता समेत रहेका मदन दाहालले प्रतिनिधि सभामा चुनावमा उम्मेदवारी रहने मनसाय बनाएपछि गठबन्धनमा पनि सोही अनुरुपको तयारी सुरु भएको छ ।
मकवानपुरमा प्रतिनिधि सभाको लागि दुई वटा मात्रै निर्वाचन क्षेत्र रहेकोले पार्टीमा लामो समयदेखि काम गरिरहेका पाका नेताहरू र युवा पुस्ताहरू उत्तिकै जोसिएर लागेका छन् ।
नेकपा एमालेका तर्फबाट क्षेत्र १ मा पटक-पटक चुनाव जितेका कृष्ण दाहाल संघीय अर्थ समितिको सभापति समेत हुन् । उनी यो पटकको चुनावमा आफू विजयी हुने दाबीका साथ चुनावी मैदानमा उत्रिन लागेका हुन् । त्यस क्षेत्रको प्रत्येक वडा र टोल टोलसम्म पुगेका दाहाल गठबन्धनबाट जो चुनाव लड्न आए पनि आफूले जित्ने बताउँछन् ।
यसैगरी जिल्ला समन्वय समितिको प्रमुख भएर मकवानपुरको हेटौंडा र पूर्वी क्षेत्रमा समेत राम्रो काम गरेको अनुभवी खुलाल पार्टीले टिकट दिएमा प्रतिनिधि सभामानै चुनाव लड्ने तयारीमा छन् । पार्टीमा जिल्लाको नेतृत्व पनि गरिसकेको र जनताकै माझमा रहेर निरन्तर काम गरिरहेकाले फेरि पनि जनभावना अनुसार काम गर्ने तयारीका साथ चुनाव लड्ने बताउँछन् ।
यसैगरी एमालेका जिल्ला सचिवालय सदस्य समेत रहेका अधिवक्ता मदन दाहाल अहिले देशैभरी जस्तै मकवानपुरका नागरिकले पनि परिवर्तन चाहेको र युवा उम्मेदवारको माग बढेकाले उम्मेदवारी दिने तयारीमा छन् । आमनागरिकले परिवर्तन चाहने अनि पार्टीले उम्मेदवार सधैँ पुराना अनुहारलाई मात्र बनाउने परिपाटीको अन्त्य गर्नुपर्ने उनको दबाब छ । ‘अहिले आम नागरिकले युवा उम्मेदवारमा आशा र भरोसा राख्न थालेका छन्’ दाहाल भन्छन्, ‘पार्टीले विश्वास गरेर टिकट दिएमा चुनाव लड्न म तयार छु ।’ दाहाल नेकपा एमाले मकवानपुरको सचिवालय सदस्यका रुपमा तेस्रो कार्यकालमा रहेर काम गर्दै छन् ।
यता जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा पनि हेभिवेट भन्दै बागमती प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेलसहित पुरानै नेताको चर्चा रहेको छ । यो क्षेत्रमा एमालेबाट पाका नेता पौडेलसहित युवा नेता महेश बर्तौला, र रामेश्वर रानाको उम्मेदवारी रहने उनीहरू निकट स्रोतले जनाएको छ ।
मकवानपुर । मकवानपुर जिल्ला कैलाश गाउँपालिका ५ की सजिना दर्लामी मगर आगामी दिनमा सिलाई सिपबाट आत्मा निर्भर बन्न सक्नेमा ढुक्क छिन् ।
२९ वर्षिया सजिनालाई आफ्नै गाउँठाउँमा बसेर आफ्नै पसिनामा जिउने रहर थियो तर, सिपको अभावमा थिइन् उनी । माइती नेपालबाट ४ महिने सिलाई सिप सिकेपछि आफूमा आत्माबल बढेको बताउँछिन् उनी । “माइती नेपालले तालिमपछि फिल्ड भिजिट गरायो, लगाबले काम गरे मनग्गे कमाइ गर्न सकिन्छ भन्ने लाग्यो” उनले भनिन् ।
माइती नेपाल मकवानपुरमा सिलाई सीप सिकेका ४५ औ व्याजका किशोरी र महिलालाई फिल्ड भिजिट गराएको थियो । माइती नेपालबाटै सिप सिकेर लामो समयदेखि आफ्नै व्यवसाय सञ्चालन गरिरहेकी हेटौंडा १८ हटियाकी शुसिला घिमीरेसँग भेटेपछि व्यवसाय सञ्चालन गर्ने जोश बढेको कैलाश गाउँपालिका १ कि गोरी तामाङले बताइन् ।

सिलाई प्रशिक्षणपछि जीवनपयोगी सीप समेत सिकेर फर्केन लागेका किशोरीहरूलाई यसरी फिल्ड भिजिट गराउँदा उनीहरुलाई प्रेरणा हुने माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । “अग्रजको व्यवसायिकता देखेर आफूहरूले पनि त्यसैगरी व्यवसाय सन्चालन गर्ने हिम्मत जाग्ने लामाले बताइन् ।
फिल्ड भिजिटमा जांदा आफूहरूलाई काम गरेर आत्मनिर्भर बन्ने हौसला मिलेको सहभागीहरुले बताए । पढाइ छुटे पनि सिपलाई व्यवहारमा ल्याउन सकेमा जीवनमा परनिर्भर रहन नपर्ने उनीहरुले बताए । फिल्ड भिजिटमा माइती नेपाल मकवानपुर प्रमुख माया लामा, फिल्ड सुपरभाईजर मन लामालगायत २० जना किशोरीहरू सहभागी थिए । तालिममा सिकेको सिपलाई व्यवहारमा उतारेर किशोरीहरू आत्म निर्भर हुंदा बैदेशिक रोजगारको चाह कम हुने र बेचबिखनमा पर्ने जोखिम पनि घट्ने प्रमुख लामाले बताइन् ।

फिल्ड भिजिटपछि किशोरी तथा माइती नेपालको टोली हेटौंडा १८ मा घरदैलो कार्यक्रम समेत गरेका छन् । घरदैलो कार्यक्रममा माइती नेपालद्वारा प्रकाशित ब्रुसरहरु प्रदान गरिएको लामाले बताइन् । बेचबिखनबाट बच्नको लागि सचेत रहन अनुरोध गर्दै टोलीले पर्चा पब्लेट पनि वितरण गरेको थियो।
टोलीले हेटौंडा १८ गुम्बा डाँडाको पर्यटकीय पार्कको समेत अनुगमन तथा अवलोकन गरेको थिए ।
मकवानपुर । जिल्ला समन्वय समितिले आर्थिक बर्ष २०७९–८० को लागि ११ करोड ४६ लाख ५ हजार ४७९ रुपैयाँ बजेट पेश गरेको छ ।
समन्वय समिति उपप्रमुख सानुकाजी लुईंटेलल जिल्ला सभामा उक्त बजेट पेश गरेका हुन् । बजेट कार्यान्वयन गर्ने स्रोतकोरुपमा संघीय अनुदानबाट १ करोड ४० लाख १७ हजार, बागमती प्रदेश सरकार अनुदानबाट ७५ लाख, प्राकृतिक स्रोतको रोयल्टी बााबाँडपाँडबाट १३ लाख बजेट पेश गरीएको हो ।
यसैगरी विविध कोष खातामा रहेको २२ लाख ४४ हजार, जिल्ला विकास समितिको मौज्दात कोषबाट ८ करोड ८८ लाख, कोरोना आपतकालीन कोषको १२ लाख गरी ११ करोड ४६ लाख ५ हजार ४७९ रुपैयाँको बजेट पेश गरेका थिए ।
समन्वय समितिले सन्तुलित, दिगो र गुणस्तरीय विकास, रोजगारी सृजना र गरिबी निवारण, खेलकुद र पर्यटन विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा प्राकृतिक स्रोतको सदुपयोग प्रवद्र्धन, सामाजिक न्याय तथा लैङ्गिक जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेको समन्वय समिति प्रमुख ललितबहादुर घलानले बताए ।
जिल्ला सभामा मकवानपुर जिल्लाको १० पालिका मध्ये कार्यसम्पादनमा उत्कृष्ट भएका पालिकाहरुलाई सम्मान पनि गरिएको थियो ।
स्थानीय तहहरुले वार्षिक रुपमा गरेको कार्य प्रगति मूल्यांकनलगायतका आधारमा मकवानपुरको १० पालिकामध्ये विकट राक्सिराङ गाउँपालिका प्रथम घोषित भएको छ ।
स्थानीय तह संस्थागत स्वमूल्यांकन कार्यविधि २०७८ को अंकभारमा ६३ दशमलव २ प्रतिशत अंक प्राप्त गर्दै यो पालिका प्रथम भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
जिल्ला समन्वय समिती आन्तरिक मुल्याङ्कनको आधारमा प्रत्येक वर्ष जिल्लाका ३ स्थानीय तहलाई प्रथम, द्वितीय र तृतीय घोषणा गरी सम्मानपत्र प्रदान गर्दै आएको छ । जिल्ला समन्वय समितिको मूल्यांकनअनुसार ईन्द्रसरोवर गाउँपालिका दोस्रो र बागमती गाउँपालिका तेस्रो भएका छन् ।
मकवानपुर । गैरकानूनी गतिविधिमा संलग्न रहेकाे कारण कैद ताेकिएकाे व्यक्ति कति समय फरार रहन सक्ला ? ६ वर्ष कैद छल्नका लागि ७ दशकभन्दा बढी समयदेखि फरार रहने व्यक्ति पनि मकवानपुरमा छन् ।
वि.स २००२ माघ २३ मा चोरीडकैती मुद्दामा दिलिप पाख्रिन, कोमल खत्री र ठुले चौरेललाई तत्कालीन चिसापानी अदालतले ६ वर्ष कैद र ३ हजार १ सय ७२ रुपैयाँ जरिवाना तोक्यो ।
६ वर्ष कैद तोकिएका उनीहरु कैद तोकिएको ७७ वर्ष नाघ्दासम्म पक्राउ परेका छैनन् । उनीहरु एउटा उदाहरण मात्रै हुन् । अदालतबाट दोषी ठहर भई कैद र दण्ड जरिवाना तोकिएका मकवानपुरका २ हजार ९ सय १५ जना अभियुक्तहरू अझै फरार नै छन् । फरार सूची लम्बिने क्रम जारी छ, तर प्रहरी प्रशासनले फरार अभियुक्तलाई खोजि तथा नियन्त्रणमा खासै चासो देखाएको छैन ।
उनीहरूको ज्यूँदो रहेको वा नरहेको भन्ने बारेमा समेत प्रहरी प्रशासन तथा अदालत जानकार छैन । तत्कालिन पीडितहरुको अवस्था र उनीहरुको मनोदशाको अवस्थाबारे त झन् चासो राखिदैन ।
स्वेदशीमात्रै हैनन्, विदेशीहरु पनि फरार सूचीमा छन् । फरार सूचीमा ९५ जना विदेशी नागरिक छन्रु। दोषी ठहर भएर पनि फरार रहेकाहरूको सूची जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा पठाइने गरे पनि अझै धेरै अभियुक्त पक्राउ नपरेका जिल्ला अदालतका श्रेस्तेदार तीर्थराजभट्टराईले बताए ।
केही वर्षयता दोषी ठहर भई फरार भएकाहरूको सेवा सुविधा रोक्का गर्न अदालतले जिल्लास्थित विभिन्न सरकारी निकाय र स्थानीय तहहरूलाई परिपत्र गर्दै आएको छ । सोही आधारमा गत वर्ष मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले लागूऔषध सम्बन्धी मुद्दामा फरार ४ जनाको सेवा सुविधा रोकेको थियो ।
फैसलाअनुसारको दण्ड जरिवाना संकलन नहुँदा जिल्ला अदालतले उठाउनु पर्ने जरिवाना रकम पनि बढ्दो रहेको छ । हालसम्म ३२ करोड ६२ लाख ३४ हजार १ सय ८२ रुपैयाँ बक्यौता रहेको । त्यस्तै, कैद लगत ३ हजार ७ सय ६६ वर्ष १ महिना ९ दिन पुगेको छ । यो आँकडा पछिल्लो एक वर्षमा १ सय ११ वर्ष थपिएको हो।
“कैद र जरिवाना तोकिएकाहरु कति राधी लुकीछिपी हिँडिरहेकै छन्” अधिवक्ता ईश्वर ढकाल भन्छन् “अदालतको गरिमा फैसलामा भन्दा कार्यान्वयनमा रहन्छ ।” थोरै जनशक्ति कामको चाप धेरै भएको कारण पनि निगरानी गर्न नसकिएको सम्बन्धित पक्षको दाबि छ । प्रहरीले दैनिक काम गर्न नै जनशक्ती अपुग गभएको बताउँदै आएको छ । गत आर्थिक वर्ष ०७८/७९ मा मकवानपुर प्रहरीले १ सय २६ जना फरार अभियुक्तलाई पक्रेर कैद र जरिवाना भुक्तानीका लागि अदालतमा उपस्थित गराएको थियो ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले कसुर प्रमाणित भइसकेका र फरार रहेका व्यक्ति पक्राउ गर्न सबै क्षेत्रका प्रहरीलाई अनुरोग गर्दै परिपत्र गरेको बताए । “दोषीलाई पक्रेर सजाय दिलाउन सके मात्र पीडितलाई न्यायको अनुभूति मिल्छ, त्यसमा प्रहरीको ध्यान रहन्छ नै” कार्कीले भने ।
न्यायको अन्तिम आशाको केन्द्र अदालत हो, अदालतको फैसला कार्यान्वन नहुँदा पीडितको आशा र भरोसा टुट्दै जान्छ । “बर्सेनि जरिवाना र कैदको बक्यौता वृद्धि हुनु र दोषीहरू फरार भइरहनुले अदालतको फैसला कार्यान्वयनप्रति मात्र होइन, फैसलाको औचित्यमाथि नै प्रश्न उठ्ने गर्छ” अधिवक्ता अप्सरा बस्नेत भन्छिन् “पीडितको हौसला बढाउँदै, न्यायको सम्मानार्थ पनि फैसला कार्यान्वन अनिवार्य छ ।”
जरिवाना र कैदको बक्यौता उठाउन अदालतले डोर पठाउने मात्र नभई प्रहरी प्रशासनसँग सहकार्य गर्दै आएको श्रेस्तेदार भट्टराईले दाबी गरेरु। केही वर्षयता स्थानीय तहसँग पनि सहकार्य अघि बढाइएको उनको भनाइ छरु। यसैबीच, जिल्ला अदालतले गत आवमा ६० प्रतिशतभन्दा बढी मुद्दाको फैसला गरेको छरु। अदालतमा एक वर्षमा ३ हजार २३ वटा मुद्दा दर्ता भएका थिएरु। तीमध्ये १ हजार ८ सय १ थान मुद्दा फर्स्यौट भएको श्रेस्तेदार भट्टराईले जानकारी दिए।
अदालतको फैसलापछि फैसला कार्यान्वन नहुँदा समाजका गैरकानूनी गतिविधिमा रोकावट आउने अपेक्षा गिर्दै आउँछ । पीडितलाई न्यायको अनुभुति हुन्न भने अपराधमा संलग्न रहनेहरुको मनोवल उच्च हुने अधिवक्ता तथा अधिकारकर्मी जगन्नाथ सुवेदी बताउँछन् ।
“पिडित आफूले पूर्ण न्यायको आभाष गर्नको लागि पनि फैसलाको कार्यान्वन अनिवार्य छ” सुवेदीले भने “अपराध गर्ने र फरार रहने हो भने, समाजमा यस्ता गलत गतिविधिको नियन्त्रयण संभव छैन ।”
मकवानपुर । प्रदेश र संघीय चुनावको तयारीको लागि वर्तमान गठबन्धन सरकार विधि प्रक्रिया बिना कर्मचारी सरूवा गरेको बताइएको छ ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाले वर्तमान सरकारले हतार हतार यस्तो कार्य गरेको बताए ।”चुनावको मिति घोषणा गर्नु रहेछ अनि यति धेरै हतारिएर कर्मचारी चलाईएको रहेछ” कोईरालाले भने ।
सरकारले बिधि र प्रक्रिया नपुर्याईकन उच्चस्तरका कर्मचारी सरूवा गरेको प्रति पेशागत संगठनको ध्यानाकर्षण भएको उनले बताए ।
स्थानीय तहहरूमा दैनिक ज्यालादारी र करारको कर्मचारी हटाउने र सोहि प्रकृतिको कर्मचारी भर्ति गर्न सुरू गरिएको प्रति पनि संगठनले सच्चिनको लागि अनुरोध गरेको उनले बताए । “एउटा विधिमा भर्ना भएका अस्थायी, ज्यालादारी करारका कर्मचारीलाई हटाउने र सोहि पदमा आफ्नालाई भर्ति गर्ने क्रम चलेको प्रति संगठनले सबै तिर ध्यानाकर्षण गराएपछि मन्त्रालयहरूले संगठनको अनुरोधलाई उदृढ गर्दै कर्मचारी ननिकाल्न सर्कुलर जारी भएको उनले बताए ।
संगठनको प्रथम बागमती प्रदेश अधिवेशनको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । संगठनले आफ्नो हितमा मात्रै नभई जनताको हितमा जोडिएर काम गरेको बताए । संगठनले देशको ६८ जिल्लामा सहकारी संचालन गर्दै आएको छ । जसमा ३ अरब पुँजी रहेको छ । पुँजीलाई सही र प्रभावकारी ढङ्गले सन्चालन गर्दै आएको कोइरालाले बताए ।
सहकारी मार्फत रक्तदान सेवा, वृक्षरोपण, स्थायी पार्क निर्माण जस्ता काम गरिरहेको कोइरालाले बताए । यसैगरी स्वास्थ शिविर संचालन, शित लहरमा न्यानो कपडा वितरण, बाढि पहिरो पीडितलाई सहयोग प्रदान जस्ता जनताको सेवामा कर्मचारी संगठन लागिपरेको उनले बताए ।
यसैबीच नेपाल निजामती संगठन बागमती प्रदेश कार्य समितिको भोली हुने प्रथम प्रदेश अधिवेशनको सबै तयारी पुरा भएको आयोजकले जनाएको छन् ।
भोलि हुने अधिवेशनले २९ सदस्यीय कार्यसमिति चयन गर्ने छ । अधिवेशनमा ५ सयभन्दा बढि कर्मचारी सहभागी हुनेछन । अधिवेशनमा १३ जिल्लाका ९८ जना प्रतिनिधिले सहभागीता जनाउने प्रदेश इन्चार्ज अर्यालले बताए ।
संगठनले भोलि बिहान् प्रभात फेरि आयोजना गर्ने र त्यसपछि अधिवेशनको उद्घाटन गर्ने संगठनका प्रदेश इन्चार्ज बिष्णुप्रसाद अर्यालले बताए । पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले अधिवेशनको उद्घाटन गरेछन् । नेपालको १ लाख २५ हजार कर्मचारीहरू विभिन्न पेशागत संगठनमा आवद्ध छन् ।
