मकवानपुर । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे हेटाैडा कार्यालयमा हेटाैडा उपमहानगरपालिकाकाे उजुरी बढी परेकाे छ । मकवानपुरका १० स्थानीय तह मध्ये उपमहानगरपालिकाकाे आर्थिक वर्ष २०७८।०८९ मा धेरै उजुरी परेकाे अख्तियार हेटाैडा कार्यालयले जनाएकाे छ । आर्थिक वर्ष २०७७।०७८ मा भन्दा गत आर्थिक वर्षमा धेरै उजुरी परेका हुन् ।
मकवानपुर अन्य स्थानीय तह मध्ये गत आर्थिक वर्षमा सबै भन्दा धेरै उजुरी हेटौंडा उपमहानगरपालिकाको परेको अख्तियार दुरुपयोग अनुसंधान आयोगका सूचना अधिकारी विष्णुप्रभा सापकोटाले जानकारी दिए । आयोगको हेटौंडा स्थित कार्यालयले पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिकामा आर्थिक वर्ष २०७८।०७९ मा १ सय २४ वटा उजुरी परेका जानकारी गराइएकाे हाे । उपमहानगरपालिका सम्बन्धी आर्थिक वर्ष २०७७।०७८ मा ४५ वटा मात्र उजुरी परेका अख्तियारले जनाएकाे छ ।
यसैगरी विगत २ वर्षमा हेटाैडा पछि धेरै उजुरी परेका स्थानीय तहमा मनहरी गाउँपालिकाको ४२ वटा, बकैया गाउँपालिकाको २१ वटा, मकवानपुरगढी गाउँपालिकाको २० वटा, राक्सिराङ गाउँपालिकाको १६ वटा, कैलाश गाउँपालिकाकाे १२ वटा, भीमफेदी गाउँपालिकाको १२ वटा, थाहा नगरपालिकाकाे ८ वटा बागमती गाउँपालिकाको ६ वटा र इन्द्रसराेवर गाउँपालिकाकाे ४ वटा दर्ता भएकाे सूचना अधिकारी सापकोटाले बता ।
परेका उजुरीहरुको छानविन गर्ने र फच्यौट गर्ने काम भइरहेको अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमिरेले जानकारी दिए ।

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा सवारी दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । हेटाैडा १७ हटिया कठायत चोकस्थित धरान चतरा सडकखण्डमा बोलेरोले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा बिरगंज महानगरपालिका–१ बस्ने ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन् । बोलेरोको ठक्करबाट गम्भिर घाईते भएका थारुको हेटौंडा अस्पताल उपचारको क्रममा राती १० बजे मृत्यु भएको मकवानपुर प्रहरीले बताएकाे छ ।
सोमबार राती ९ बजेर ३५ मिनेटको समयमा हेटाैडा १८ ठुलोदमारतर्फबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको बोलेरोले सडक छेउमा रोकी राखेको बा ४४ प ३८०२ नम्बरको मोटरसाइकल र चालक थारुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । बाेलेराे चालक फरार रहेकाेमा खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । उच्च शिक्षा हासिल गरेकाहरूलाई समेत स्थानीय स्तरको सामान्य जानकारी समेत हुन नसक्ने अवस्था बढिरहेको बेला मकवानपुर जिल्लाको थाहा नगरपालिकाले स्थानीय भुगोललगायत जातजाति, भाषाभाषि तथा संस्कृति बारे जानकारी हासिल गर्ने गरी स्थानीय पाठ्य सामग्री समाबेश गरिएको पाठ्यक्रम लागु गर्ने तत्परता देखाएको छ ।
हाल थाहा नगरपालिकाले चालु शैक्षिक सत्रबाट आफ्नो क्षेत्रको सबै सामुदायिक विद्यालयमा स्थानीयता झल्कने पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । स्थानीय परिवेश, चालचलन, परम्परा, पर्यटकीय स्थल, स्वास्थ्य, स्थानीय खेलजस्ता मौलिक र संरक्षण गर्नुपर्ने विषयको महत्त्व बुझाउन ‘थाहा ज्ञानमाला’ पाठ्यसामग्री गत वैशाखदेखि पढाउन थालिएको नगर प्रमुख बिष्णु बिष्टले बताए ।
यसैबर्षबाट सुरू गरिएको पाठ्यसामग्री हाल कक्षा १ देखि ५ कक्षासम्म लागु गरिएको नगरपालिका प्रमुख बिष्टले बताए । आगामी अर्को शैक्षिकसत्रबाट ६ देखि ८ कक्षासम्म पढाइ हुने गरी पाठ्यपुस्तक बनाइने तयार समेत गरिएको विष्टले बताए ।
स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ ले कक्षा १ देखि ८ सम्म स्थानीय सरोकारवालाको संलग्नतामा स्थानीय तहलाई पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ । नगरपालिकामा ५३ वटा सामुदायिक, ६ संस्थागत विद्यालय छन् । जसमा ९ हजार ७ सय ५२ जना विद्यार्थी छन् । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकमा रूपचन्द्र विष्ट र थाहा अभियानबारे सामान्य जानकारी मात्र समावेश गरिएको छ ।
ती कक्षाका बालबालिकाका लागि बुझ्न सक्ने प्रकृतिको पाठ्य सामग्री समावेश गरिएको शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले बताए । रूपचन्द्र विष्टको उपनाम र विशेषताका बारेमा मात्र साना कक्षाका बालबालिकालाई पढाउने योजनाअनुसार सामान्य जानकारी समावेश गरिएको रेग्मीले बताए ।
निश्चित तह पास गरेर गएका युवाहरूलाई आफ्नो स्थानीय स्तरको बारेमा स्पष्ट जानकारी होस् भनेर पनि स्थानीय पाठ्यसामग्री लागु गरिएको प्रमुख बिष्टले बताए ।
मकवानवुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआइडीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार नेपाली सेना राजदल गण खैरहनीटार तनहुमा कार्यरत २५ वर्षीया श्रृजना बिक रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । हेटौंडाबाट बारातर्फ जाँदै गरेको ग २२ प ६१३ नम्वरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको ना ४ ख ९६०३ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रित भई दुर्घटना हुँदा श्रृजनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रृजनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलका चालक पर्सा ठोरी गाउँपालिका–२ घर भई नेपाली सेना राजदल गण खैरहनीटार तनहुमा कार्यरत २९ वर्षीय आदर्श बिक र उनका ५ वर्षीय छोेरा आशिक बिक घाइते भएको उनले बताए ।
प्रहरीका अनुसार, मृतक श्रृजना र आदर्श श्रीमान् श्रीमती हुन् । घाइते आदर्श र आशिकको हेटौंडा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ । ट्रक तथा चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । सम्बन्धित मुद्दामा मानव अधिकार रक्षकहरुको एकमत नहुदा मुद्दामा सफलता पाउन समस्या हुने गरेको मानव अधिकार रक्षकहरुले स्वीकार गरेका छन् ।
मानव अधिकारको रक्षार्थ अघिबढ्दा कुनै समुदाय वा लिङ्गको प्रतिनिधित्व गर्ने गर्नाले मानव अधिकारको सवाल पछाडि परेको सरोकारवालाहरुले बताएका हुन् । “जे जस्ता चुनौति आइपरे पनि सबै रक्षकहरु एकै सवालमा उभिन सक्दा मुद्दालाई दरीलो बनाउन सकिन्छ, हामी नै बाँडिनु भनेको हाम्रै सवाल कमजोर हुने हो” मानव अधिकार रक्षक दिपेन्द्र पाठकले भने । “यहाँ त को मानव अधिकार रक्षक को के भन्नेसम्म थाहा पाउन समस्या छ ।”
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश हेटौँडाले आयोजना गरेको नेपालमा मानव अधिकारको रक्षकको संरक्षण र सम्बर्धनको सरोकार विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
एकै समयमा दुई बेग्ला बेग्लै भूमिका निर्वाह नगरी पीडितका न्यायका लागि पहल गर्ने व्यक्तिलाई मानव अधिकार रक्षककै रूपमा लिनु पर्ने मानव अधिकार संरक्षण तथा मानव बेच विखन विरुद्धको जिल्ला सञ्जाल अध्यक्ष आरती पाठकले बताइन् । आफ्नो व्यत्तिगत आवद्धता जहाँ भएपनि पिडीतले न्याय पाउने सवालमा एकै मत हुनुपर्ने गैसस बागमती प्रदेश अध्यक्ष समेत रहेकी पाठकले बताइन् ।
कार्यक्रममा गैसस महासङ्घका केन्द्रीय सचिव बुद्धशरण लामाले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि उठाउँदै आएको आवाज कमजोर हुँदै गएको अवस्थामा आयोजना गरिएको यस कार्यक्रमले रक्षकको संरक्षण र सम्बर्धनमा टेवा पुग्ने बताए । राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार रक्षकको संरक्षण र सम्बद्धनका लागि मुख्य भूमिका निर्वाह गर्नु पर्ने सचिव लामाले बताए ।
कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले मानव अधिकार रक्षकहरूको अधिकार संरक्षणका राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको मानव अधिकार निर्देशिका, नेपाल सरकारले २०७७ मा गृह मन्त्रालयमार्फत ल्याएको मानव अधिकार रक्षकहरू संरक्षणका लागि आदेश लगायतको कार्यान्वयनको अवस्था उल्लेख प्रस्तुती गरेको थिए ।
संयुक्त राष्ट्र सङ्घले १९९८ मा पारित गरेको मानव अधिकार रक्षकको घोषणा पत्र, राष्ट्रिय मानव अधिकार आयोगले २०६९ मा जारी गरेको मानव अधिकार रक्षकसम्बन्धी निर्देशिका र यसपछि नेपालमा मानव अधिकार रक्षकका लागि लागि निर्माण भएका व्यवस्था तथा प्रवधानहरूका बारे जानकारी प्रस्तुत गरेका थिए ।
यि प्रवाधानले केही हदसम्म भए पनि मानव अधिकार रक्षकलाई कसैबाट धाक, धम्की वा दुव्र्यवहार भएको अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने अवस्थामा सहज भएको सहभागीहरुले बताए ।
मानव अधिकार रक्षकहरूको संरक्षणको मुख्य जिम्मेवारी राज्यको भएकोले राज्यका निकायहरुलाई थप जवाफदेही बनाउन आवश्यक रहेकोले यस्ता कार्यक्रमले त्यस प्रकृयालाई थप सहयोग पु¥याउन यस कार्यक्रमको आयोजना गरिएको भण्डारीले बताए ।
कार्यक्रममा गैसस महासंघ बागमती प्रदेशका उपाध्यक्ष कमलकुमार विश्वकर्माले मानव अधिकार रक्षकहरूको आवाज पनि पक्षधर रूपमा आउने हुँदा रक्षकहरूलाई थप जोखिम भएको बताए । उनले दलितको सवालमा दलित अधिकारकर्मीले मात्र आवाज उठाउँदा पीडितको न्यायमा पहुँच पुग्न नसकेको बताए ।
यसैगरी सिवीन मकवानपुरका प्रबन्धक तथा बाल कल्याण समिति बागमती प्रदेशका सदस्य झविन्द्र ज्ञवालीले मानव अधिकार रक्षक सम्बन्धी ज्ञान स्थानीय तहको पनि वडा स्तरमा आवश्यक रहेको बताए। पीडितको न्यायका लागि सबै भन्दा बढी वडास्तरमा काम गर्न आवश्यक रहेकोले मानव अधिकार रक्षकको आवश्यकता र बुझाई वडा वडामा आवश्यक रहेको उनले बताए ।
हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइवाले मानव अधिकार रक्षकहरूलाई राज्यले सहयोग गर्ने प्रणाली नभएका कारण मानव अधिकार रक्षकलाई काम गर्न समस्या परेको बताइन्। यसैगरी माइती नेपालकी कार्यक्रम संयोजक माया लामाले मानव अधिकार रक्षकमाथि हुने सांघातिक हिंसाको बारेमा आवाज उठ्ने गरे पनि मानसिक हिंसाको सम्बोधन हुन नसकेको बताइन् । मानव अधिकार रक्षकमाथि हुने अप्रत्यक्ष हिंसाका घटना हुने गरेको उनले बताइन् । “राति राति फोन गरेर मैले जानेको छु के गर्ने भन्दै” धम्की आउने गरेको लामाले बताइन् ।
नेपाल मानव अधिकार सङ्गठनकी मकवानपुर जिल्लाकी पूर्व अध्यक्ष तथा अधिवक्ता अप्सरा बस्नेतले कार्यस्थलमै पनि पीडक पक्षबाट प्रत्यक्ष अप्रत्यक्ष धम्की आउने गरेको अनुभव सुनाइन् । पीडितको पक्षमा वकालत गर्दा धम्की आउने गरेकोले मानव अधिकार रक्षकलाई काम गर्न चुनौती रहेको भन्दै यसका लागि संयुक्त रूपमा आवाज उठाउँदा भने जोखिम कम हुने अपेक्षा उनले सुनाइन् । आम नागरिकहरूको आधारभूत आवश्यकताहरूलाई राज्यले प्राथमिकतामा नपार्दा नागरिकको मौलिक हकको अधिकार हनन् भइरहेको राष्ट्रिय अपाङ्ग महासंघकी जमुना तितुङले बताइन् ।
