मकवानपुर । अख्तियारको हेटौंडा कार्यालयमा ४ सय ९४ उजुरी दर्ता भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा आर्थिक वर्ष २०७९–०८० काे साउनदेखि कार्तिक महिनासम्म विभिन्न अनिमियतासम्बन्धी उक्त संख्यामा उजुरी दर्ता भएकाे हाे ।
अख्तियार हेटौंडा कार्यालयले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सार्वजनिक गरेकाे ४ महिनाकाे विवरणअनुसार बारा जिल्लाकाे सबै भन्दा बढी उजुरी दर्ता भएकाे छ । बाराकाे १ सय ३२ उजुरी दर्ता हुँदा पर्सा जिल्लाकाे १ सय २०, रौतहटकाे ८८, मकवानपुरकाे ८९, चितवनकाे ४३, धादिङकाे १४, दोलखाकाे ३, रसुवाको ३ तथा रामेछाप र काभ्रेपलाञ्चाेककाे १।१ उजुरी परेकाे आयाेगकाे हेटौडा कार्यालयले जनाएकाे छ ।
बागमती प्रदेशकाे नुवाकोट जिल्लाकाे कुनै उजुरी दर्ता नभएकाे विवरणमा उल्लेख गरिएकाे छ । उक्त अवधीमा अवधिमा दर्ता भएका उजुरीमध्ये १ सय ९० उजुरी फर्छ्यौट भइसकेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौडामा आयोजित कार्यक्रममा कार्यालयले त्यस्तो विवरण सार्वजनिक गरेकाे हाे । गत आर्थिक वर्षदेखि सरेर आएको र चालु आर्थिक वर्षको चार महिनाको कूल उजुरी सङ्ख्या ९ सय ६२ रहेको बताइएकाे छ । यी उजुरीमध्ये २ सय ८१ वटा उजुरी फर्छ्यौट भइसकेको आयोगकाे विवरणमा उल्लेख गरिएको छ ।
उजुरीकाे प्रकृति अनुसार गैरकानुनी लाभका सबै भन्दा बढी उजुरी दर्ता भएकाे छ । गैरकानुनी लाभका विवरणकाे १ सय २७ उजुरी दर्ता हुँदा सार्वजनिक खरिद निर्माणका १ सय ५७, राजश्व हिनामिनाका २८, भूमिसम्बन्धी १९, शैक्षिक प्रमाणपत्रसम्बन्धी ११, घुससम्बन्धी ३ र गैरकानुनी सम्पत्ती सम्बन्धी ४ उजुरी दर्ता रहेको कार्यालयले जनाएकाे छ ।
आयोगकाे हेटौंडा प्रमुख नरहरी घिमिरेले इमान्दारी तथा कानून अनुसार कार्य गर्न सके भ्रष्टाचार नियन्त्रण हुने बताए ।
मकवानपुर । मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा खाेलामा डुबेर १ जनाकाे मृत्यु भएकाे छ । राक्सिराङ गाउँपालिका वडा नम्वर ३ स्थित स्थानीय चुर्लिङ खोलामा डुबेर १ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मृत्यु हुनेमा राक्सिराङ २ थुम्की बस्ने अन्दाजी ७८ वर्षीय म्याक्सो मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मोक्तानको खाेला तर्ने क्रममा मंसिर २४ गते डुबेर मृत्यु भएको हो । उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले ३८ किलो गाजाको धुलो सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँ पालिका ७ का ३५ बर्षिय हरि कृष्ण अधिकारी र ३५ बर्षिय कृष्ण राई रहेको प्रहरीले जनाएको छ ।
मसिर २२ गते विहीबार मनहरी स्थित राष्ट्रिय निकुञ्ज सुरक्षाको लागि खटिएको नेपाली सेनाको गस्तिले निकुञ्ज क्षेत्रमा अधिकारी र राईलाई सामान बोकी शंकास्पदरुपमा हिडिरहेका देखि प्रहरीलाई खबर गरेको थियो ।
सेनाको खबर पछि ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृणराज ढकाल सहितको टोलीले प्लास्टिकको ३ वटा बोरामा शंकास्पद सामान बोकी हिडेका अधिकारी र राईलाई पक्राउ गरेको हो ।
उनिहरुले ल्याएको बोरामा ३८ किलो गाँजाको धुलो फेला परेकोमा निजहरुको सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।
मकवानपुर । नेपालको चर्चित नेपथ्य ब्याण्डले १० बर्षपछि मकवानपुरको हेटौँडामा सांगितिक प्रस्तुति प्रदर्सन गरेको छ । नेपथ्यले हेटौँडा ४ स्थित भुटनदेवी चौरमा मानवताका लागि सागितिक यात्रा प्रस्तुति गरेको हो ।
मानवसेवा आश्रम हेटौंडाको सहयोगको लागि विहीबार बेलुका ६ बजेदेखि निरन्तर २ घण्टा नेपथ्य ब्याण्डका अमृत गुरुङले आफ्नो गीत प्रस्तुत गरेका थिए । गुरुङको प्रस्तुतिले हजारौं हेटौंडेली दर्शकले मनोरञ्जन लिनुका साथै चिसो मौसम तताएकाे थियो ।
यो समेत नेपथ्य हेटौंडामा सातौंपटक प्रस्तुत भएको हो । छैटौं पटक एक दसकअघि ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत उसले सन् २०१२ मा हेटौंडामा प्रस्तुत गरेको थियो । दुइपटक ‘सुन्दर, शान्त, नेपाल’ र चारपटक ‘शान्तिको लागि शिक्षा’ अभियानअन्तर्गत आफूलाई प्रस्तुत गरिसकेको नेपथ्यको सर्वाधिक कन्सर्ट गरिएका सहरमध्ये हेटौंडा पनि पर्छ ।
मानवता प्रवर्धनका लागि हेटौँडाको लामसुरेधापमा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण तथा आश्रितको संरक्षण र पालन पोषण सहयोगार्थ भएको सागितिक कार्यक्रममा नेपथ्यका मुख्य गायक गुरुङले लोक/पप गीतहरु प्रस्तुत गर्दा हेटौंडेली दर्शक उत्सहपूर्वक नाचेका थिए । गुरुङले नेपथ्यको छेक्यो छेक्यो देउराली डाडा.. रेशम…शिर फूल शिरैमा..तालको पानी… मै नाचे छमछमी… जोगले हुन्छ भेट.. लगायत दर्जनौ गीत गाउदै माहौल तताएका थिए ।
संगीतका साथसाथै मानवता प्रबर्द्धन उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्न लागेको हो । मुलुकका प्रमुख १० शहरमा गर्न लागेको सागितिक कार्यक्रम मकवानपुरको हेटौंडामा तेस्रो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा सम्पन्न भइसकेको छ ।
हेटौंडा पछि मंसिर २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ रामनगर मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ । अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
मानवसेवा आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन स्व राज्य थापा स्मृति भवन को निर्माण कार्य सम्पन्न भए पनि बालवालिका आवास, बागबगैँचा, गाइगोठलगायतका कार्यहरु निर्माणको चरणमा नै छन् । हाल मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ व्यक्तिहरु आश्रित छन् ।
संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम हेटौंडाका लागि महत्वपूर्ण हो,’ मानवसेवा आश्रमको हेटौंडास्थित संयोजक हुमनाथ पौडेलले भने । मानवीयताको बीउ रोपिएको हेटौडाबाटै सडक आश्रित बेसहाराको उद्धार अभियान शुरु भएको थियो । हेटौंडावासीले अत्यन्त उत्साहका साथ सहभागीता जनाएर नेपथ्य संग मानव सेवा अन्तरगतको सागितिक कार्यक्रमलाई भब्य र सभ्य बनाउनु भएको पौडेलले बताए ।
बालिकाहरुलाई अवसरकै खाँचो
Tags: No Comments
मकवानपुर । बालिकाहरुलाई राज्यको प्रशासनिक तथा राजनीतिक संरचना र नेतृत्वबारे बुझाइको लागि अवसरको खाँचो भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बताएका छन् ।
राडो नेपालको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा हेटौंडामा भएको गल्स टेक ओभर कार्यक्रममा घलानले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख घलानले बालिकाहरुलाई सिक्ने र बुझ्ने अवसर दिन आफूले स्थानीय गाउँपालिकासँग समन्वय गर्ने बताए । रोड मोडेलको रुपमा एक बालिकालाई एक दिनको लागि कार्यलयको प्रमुख बनाउने र उक्त पदको काम कर्तव्य र अधिकारबारे बुझाउने उक्त कार्यक्रममा राडो नेपालले एक किशोरीलाई जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख नियुक्त गरेको थियो ।
पदमा बस्ने मात्रै हैन, जिम्मेवार भएर पदीय मर्यादाको पालना गर्नेबारे बुझन् यस्तो कार्यक्रम र अवसर महत्वपूर्ण हुने घलानले बताए । बालबालिकाहरूले संघीय संरचनाको काम कर्तव्य अधिकार तथा संघीयताको अर्थ बुझ्न मद्दत पुग्ने उनले बताए ।
कुन कार्यालयले कसरी काम गर्छ, जिम्मेवारी के हो भन्ने बारे बुझेर अघि बढ्ने यो अवसरले बालिकाहरूलाई भबिस्यमा नीति निर्माण तहमा पुग्न सहज हुने उनले बताए ।
पदभार अधिग्रहण कार्यक्रममा रोल मोडल रेजिना ढकालले जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा नियुक्त भएको अभ्यासपछिको मन्तव्यमा आफ्नो जिल्लाको सबै स्थानीय तहहरूमा बालमैत्री स्थानीय शासन लागू गर्न समन्वय गर्ने बताइन् । विशेष गरि बालिका स्वास्थ समस्यामा ध्यान दिन स्थानीय तहलाई आग्रह गरिन । स्थानीय तहमा बालमैत्री शासन लागू गर्न , बिद्यालयमा सेनिटरी प्याड ब्यवस्थापन गर्न, बालिकालाई शसक्त र सक्षम बनाउन कार्यक्रमहरू लागू गर्न, गाउँपालिका र नगरपालिकामा बाल उद्यान तथा खेल मैदानको ब्यवस्थापन गर्न आफूले समन्वय गर्ने उनले बताइन् ।

‘हाल ईन्टरनेटको दुरुपयोगले विभिन्न घटना भैरहेकोले त्यस्तो घटना रोक्न र मोबाइल र सामाजिक सन्जालको सदुपयोग गराउन तालिम दिनु आवश्यक छ” उनले भनिन् । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान जारी रहेको सन्दर्भमा उनले लैङ्गिक सवालमा स्थानीय स्तरमा तालीम दिन आवश्यक भएको बताइन् । सबै स्थानीय तहमा बालबालिकाले पुर्णखोप पाए नपाएको अनुगमन गरेर, अपुग स्थानमा समन्वय गर्नुपर्ने उनले बताइन् ।
कार्यक्रममा कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले आफूहरूलाई बालमैत्री पालिका घोषणाको लागि ५१ वटा सुचक पार गर्न नै चुनौती रहेको बताए । यस पालिकामा बाल विवाहको चुनौती भएको कारण मंसिर भित्रमा गरिने भनेको घोषणा कार्यक्रम सफल नभएको उनले बताए ।
विकटको गाउँपालिकाको आर्थिक अवस्थाको कारण पुर्वनिर्धारित कार्यक्रम पूरा गर्न समस्या हुने गरेको उनले बताए । विकट र आर्थिक रूपमा कमजोर भएकै कारण कैलाश गाउँपालिकाले विकासमा रफ्तार लिन नसकेको उनले बताए । प्रदेश र केन्द्र सरकारसंगको पहुँच नहुदा गाउँपालिका पछि परेको उनले बताए । यहाँका स्थानीयलाई छोरी पढाउने र २० बर्ष पार गरेपछि मात्रै विवाह गर्नको लागि बानी पर्नै समस्या भएको उनले बताए ।
कार्यक्रममा राडो नेपालका अध्यक्ष कृष्ण धितालले बालिकाहरुलाई सशत्त बनाएर भविष्यको लागि कुसल नेतृत्व तयार गर्न आफूहरु लागि परेको छ । बालिका र किशोरीहरुको सिकाइलाई दीगो र प्रभावकारी बनाउन प्लान नेपालको आर्थिक सहयोगमा राडो नेपालले गल्स टेक ओभर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
