मकवानपुर । अख्तियारको हेटौंडा कार्यालयमा ४ सय ९४ उजुरी दर्ता भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा आर्थिक वर्ष २०७९–०८० काे साउनदेखि कार्तिक महिनासम्म विभिन्न अनिमियतासम्बन्धी उक्त संख्यामा उजुरी दर्ता भएकाे हाे ।
अख्तियार हेटौंडा कार्यालयले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सार्वजनिक गरेकाे ४ महिनाकाे विवरणअनुसार बारा जिल्लाकाे सबै भन्दा बढी उजुरी दर्ता भएकाे छ । बाराकाे १ सय ३२ उजुरी दर्ता हुँदा पर्सा जिल्लाकाे १ सय २०, रौतहटकाे ८८, मकवानपुरकाे ८९, चितवनकाे ४३, धादिङकाे १४, दोलखाकाे ३, रसुवाको ३ तथा रामेछाप र काभ्रेपलाञ्चाेककाे १।१ उजुरी परेकाे आयाेगकाे हेटौडा कार्यालयले जनाएकाे छ ।
बागमती प्रदेशकाे नुवाकोट जिल्लाकाे कुनै उजुरी दर्ता नभएकाे विवरणमा उल्लेख गरिएकाे छ । उक्त अवधीमा अवधिमा दर्ता भएका उजुरीमध्ये १ सय ९० उजुरी फर्छ्यौट भइसकेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौडामा आयोजित कार्यक्रममा कार्यालयले त्यस्तो विवरण सार्वजनिक गरेकाे हाे । गत आर्थिक वर्षदेखि सरेर आएको र चालु आर्थिक वर्षको चार महिनाको कूल उजुरी सङ्ख्या ९ सय ६२ रहेको बताइएकाे छ । यी उजुरीमध्ये २ सय ८१ वटा उजुरी फर्छ्यौट भइसकेको आयोगकाे विवरणमा उल्लेख गरिएको छ ।
उजुरीकाे प्रकृति अनुसार गैरकानुनी लाभका सबै भन्दा बढी उजुरी दर्ता भएकाे छ । गैरकानुनी लाभका विवरणकाे १ सय २७ उजुरी दर्ता हुँदा सार्वजनिक खरिद निर्माणका १ सय ५७, राजश्व हिनामिनाका २८, भूमिसम्बन्धी १९, शैक्षिक प्रमाणपत्रसम्बन्धी ११, घुससम्बन्धी ३ र गैरकानुनी सम्पत्ती सम्बन्धी ४ उजुरी दर्ता रहेको कार्यालयले जनाएकाे छ ।
आयोगकाे हेटौंडा प्रमुख नरहरी घिमिरेले इमान्दारी तथा कानून अनुसार कार्य गर्न सके भ्रष्टाचार नियन्त्रण हुने बताए ।

