मकवानपुर /दुध किसानहरुको मागलाई सरकारले बेवास्ता गरेको भन्दै मकवानपुरमा दुग्ध उत्पादक किसानहरुले राजमार्ग बन्द गराएका छन् ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ कै नेतृत्वमा राजमार्ग बन्द गरेको हो । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आन्दोलनलाई ऐक्वबद्धता जनाउँदै दुग्ध संघ मकवानपुरले राजमार्ग बन्द गरेको हो । मकवानपुरका करिव ६ हजार दुग्ध किसानको प्रतिनिधिमुलक उपस्थितिमा राजमार्ग बन्द गरेका हुन् । किसानहरुले मकवानपुर जिल्ला चारनाकाबाट मुख्य बजार हेटौंडामा भेला भएका किसानहरुले मुख्यचोक बुद्ध चोकमा नारबाजी गर्दै राजमार्ग बन्द गराएका हुन् ।
जिल्लाको पूर्वी क्षेत्र बकैया र बागमती गाउँपालिका, हेटौंडा वडा नम्वर १७ र १८ तथा मकवानपुरगढी गाउँपालिका र सुकौराका दूध किसानहरु हेटौंडाको सानोपोखरा चोकमा भेलाएका थिए । यसैगरी उत्तरी तर्फ भीमफेदी गाउँपालिका र पुरानो मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ र ६ का किसानहरु चौकिटोलमा भेला भए । पश्चिम क्षेत्र हेटौंडा १९, ३ र ११ तथा मनहरी गाउँपालिकाका किसान राप्ती पुलमा र दक्षिणतर्फ मनहरी १ र हेटौंडा १२, १३, १४ र १५, ७ र ८ का किसानहरु कर्रा पुलमा भेला भएर नाराबाजी सहित बुद्धचोकमा जम्मा भएका थिए ।
र्याली राप्ती रोड, जिल्ला प्रहरी कार्यालय, बसपार्क, राम मन्दिर, मेनरोड, उद्योग वाणिज्य संघबाट चौकिटोल ओरालो सहकारी मन्त्रालयसम्म पुगेर कोणसभामा परिणत भएको थियो । सडकमा किसानहरु हिँडेर करिब २ घण्टा राजमार्ग अवरुद्ध गर्ने मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेलले जानकारी दिए ।

सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुबाट किसानले पाउनुपर्ने भुक्तानी रकम पाउन सकेका छैनन् । विगत ६ महिनादेखि करिव ६० करोड बाँकी रहेको संघका अध्यक्ष कंडेलले जानकारी दिए ।
आन्दोलनरत किसानहरुले दुग्धको रकम भुक्तानी पाउनु पर्ने, दुग्ध विक्रीको ग्यारेन्टी हुनुपर्ने, मिल्क होलिडे सदाको लागि बन्द हुनुपर्ने उत्पादनका आधारमा अनुदान दिनुपर्ने, प्रति लिटर अनुदान कायम गनुपर्ने, किसानलाई सहुलियत कर्जाको व्यवस्था गर्नुपर्ने, सहकारी मार्फत पशुधन संरक्षण कार्यक्रम लागु हुनुपर्ने माग गरेको अध्यक्ष कंडेलले बताए । यसैगरी दुग्धजन्य पदार्थ निर्यातको प्रबन्ध तथा आयात प्रतिबन्ध गर्नुपर्ने माग रहेको उनले बताए ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने ३ जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
हेटौंडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मंसिर १९ गते राती गोली प्रहार गरी २० गते रकम माग्ने ३ जनालाई नै प्रहरीले पक्राउ गरी ९० दिनसम्म आवश्यक अनुसन्धान गरी अदालत पेश गरेको थियो । जिल्ला अदालतकी माननिय न्यायाधीश मन कुमारी जिएम विकको इजलाशमा अभियुक्तहरुलाई पूर्पक्षका लागि भीमफेदी जेल चलान गरिएको हो ।
गोली प्रहारपछि पक्राउ परेका अभियुक्तहरुले सूर्यप्रसाद पौडेलसँग एक करोड रुपैयाँ माग गरेका थिए । प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली बरामद गरेको थियो । हेटौंडा उपमहानगरपालिका–९ मा घर भएपनि हेटौंडा उपमहानगरपालिका–४ मा पौडेल डेरा लिएर बसेका थिए ।
लागुऔषध समेतको कारोबार गर्ने तीन अभियुक्तको साथबाट प्रहरीले २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलीग्राम खैरो हिरोइन, लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ नगद बरामद गरेको थियो । पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध र हातहतियारसम्बन्धी मुद्दा चलाएको छ ।
मकवानपुर । स्थानीय तहहरुमा बालबालिकाकाे सर्वाेत्तम हितकाे लागि कसरी काम गर्न सकिन्छ भन्ने सवाल अझै चुनाैतीपूर्ण रहेकाे पाइएकाे छ । स्थानीय तहहमा रहने बाल संरक्षण संयन्त्र नै आजसम्म अपूर्ण रहेकाे पाइएकाे छ ।
देशकाे ७५३ स्थानीय तहहरुमध्ये हालसम्म ३७३ स्थानीय तहहरुमा मात्रै बाल अधिकार संरक्षण तथा प्रवर्ध्दन सम्बन्धी कार्यविधि रहेकाे पाइएकाे छ । यसैगरी २०९ वटा स्थानीय तहहरुममा मात्रै स्थानीय बाल अधिकार समिति गठन भएका छन् । २९४ स्थानीय तहहरुमा मात्रै बाल कल्याण अधिकारी ताेकिएकाे छ । जुन अनिवार्य सवाल हाे । यसरी ताेकिएका बाल कल्याण अधिकारी पनि नियम अनुसार छुट्टै नियुक्त गर्नु पर्नेमा ९ वटा स्थानीय तहले मात्रै नयाँ नियुक्त गरेका छन् । अरुले भएकै कर्मचारीलाई थप जिम्मेवारी दिइएकाे अवस्था छ । यसरी जिम्मेवारी थप गरिएका कर्मचारीहरु मध्ये अधिकांशलाई याे जिम्मेवारि अन्तरगत के कस्ता काम कर्तव्य हुन् भन्ने जानकारी नै नभएकाे पाइएकाे छ । यस्तै देशभर २४६ वटा स्थानीय तहहरुमा मात्रै बाल काेषकाे स्थापना गरिएकाे छ ।
यसैबीच बागमती प्रदेशकाे सामाजिक विकास मन्त्री कुमारी माेक्तानले बालबालिकाकाे क्षेत्रमा काम गर्न अझै धेरै बाँकी स्वीकार गरेकी छिन् । बालबालिकामा गरिएकाे लगानी झ्वाट्टै नदेखिने भएकाेले उपलब्धी खाेज्न नमिल्ने तर आधारमा लगानी गर्दा मात्रै उपलब्धि हुने उनले बताएकी हुन् । प्रदेश सरकार यसतर्फ सचेत रहेकाे पनि उनले बताइन् ।
सामाजिक विकास मन्त्रालयकाे आयाेजनामा बुधबार हेटाैडामा आयाेजित बागमती प्रदेश-बालबालिकासम्बन्धी नीति २०८० को प्रबोधिकरण कार्यक्रममा उनले यस्ताे बताएकी हुन् । बालबालिकाकाे क्षेत्रमा कार्यरत गैरसरकारी संस्थादेखि सरकारी कार्यालयहरुकाे सहकार्य र समन्वयमा चुस्त रुपमा काम गर्नु पर्ने उनले बताइन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका सचिब डा भीष्म कुमार भुसालले बालबालिकाको पहिचान खुल्ने कागजात निर्माणको लागि स्थानीय पन्जिकाधिकारीले सहजीकरण गर्नुपर्ने बताए । बालमैत्री स्थानीय शासनकाे सवाल चर्चामा रहदै गर्दा बालमैत्री अभिभावककाे सवाल पनि चासाे प्रकट गर्नु पर्ने उनले बताए । विपदमा सबैभन्दा बढी महिला र बालबालिका पीडित हुने गरेकोले स्थानीय तहले तिनै क्षेत्रबढी ध्यान दिनुपर्ने उनले बताए । ऐन कानून दस्तावेज अनुबन्धलाई भन्दा पनि प्रदेश सरकारले बनाएको नीतिमा टेकेर स्थानीय तहले नै काम नगरे सामाजिक न्याय संभव नहुने उनले बताए ।
बाल कल्याण समाज मकवानपुर हेटौंडाको समन्वयमा बागमती प्रदेश-बालबालिकासम्बन्धी नीति २०८० नीतिको प्रबोधिकरण कार्यक्रम हेटौंडामा भएको हाे। उक्त कार्यक्रम वर्ड भिजन इन्टरशनल नेपाल र बाल विकास समाजको सहयोग तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको थियो ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष बम बहादुर बानीयाँ प्रदेशकाे विभिन्न जिल्लाका विभिन्न स्थानीय तहहरुका उप-प्रमुख, बालबालिका महाशाखा तथा शाखाका कर्मचारी, प्रदेशका विभिन्न मन्त्रालयहरु प्रतिनिधिहरु बालवालिका शाखामा कार्य गर्ने स्थानीय संघसस्था श्रम तथा रोजगार कार्यालयकाे सहभागिता रहेकाे प्रदेश बाल अधिकार समिती सदस्यहरु प्रकाश खतिवडाले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललित घलान, राष्ट्रिय बाल अधिकार परिषदको सदस्य सुम्मा पोखरेल, परिषदको उपसमिति सदस्यहरु समाजिक विकास मन्त्रालयको महाशाखा प्रमुख राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख प्रदेश बाल अधिकार समिती सदस्य शान्ता बराल, झबिन्द्र ज्ञवालीको समेत उपस्थिति थियो ।
मकवानपुर । बिद्युत पोलले ढलेर लाग्दा घाइते भएका मकवानपुर बकैयाका रामकुमार तितुङको मृत्यु भएको छ ।
४० बर्षीय तितुङ मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नं. ७ का वडा सदस्य हुन् ।
मंगलबार दिउँसो १:३० बजे मकवानपुर जिल्ला बकैया गाउंपालिका ७ मानदमार निवासी तितुङलाई आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढलेर लागेको थियो । पोलमा करेन्ट नभएको प्रहरीले जनाएको छ ।
घाईते भएका उनको हेटौंडाको चुरेहिल अस्पताल पठाएकोमा थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा मकवानपुर जिल्लाकाे १० स्थानीय तहहरुमा मनहरी गाउँपालिका र थाहा नगरपालिका प्रथम भएका छन् ।
दुवै स्थानीय तहहरुले वित्तिय सुशासन मुल्याङ्कनमा समान प्रतिशत प्राप्त गरी प्रथम हुन सफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालायद्धारा जिल्ला समन्वय समिति (जिसस) को सहयोगमा मुल्याङ्कन गरीने वित्तीय सुशासनमा मनहरी र थाहा प्रथम भएका हुन् ।
यस मुल्याङ्कनमा योजना, वजेट तथा कार्यक्रमको व्यवस्थापन, कार्यन्वयन क्षमता, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलाई जिसस ले मुल्यांकन गरी प्रतिवेदन तयार पार्दछ । जिल्ला समन्वय समिति मकवानपुरले गत आ.व २०७९/८० को प्रतिवेदनमा मनहरीलाई योजना, वजेट तथा कार्यक्रमको व्यवस्थापनमा ७१ दशमलव ४३ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ८१ दशमलव ०३ प्रतिशत, लेखाङ्कन तथा प्रतिवेदनमा ८२ दशमलव ३५ प्रतिशत,अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ६२ दशमलव ५ प्रतिशत र राजस्व व्यवस्थापनमा ६४ दशमलव ७१ प्रतिशत दिएको छ ।
जिससले प्रदान गरेको सम्पुर्ण विषयको औषत ७३ दशमलव ५ प्रतिशत प्राप्त गरी मनहरी गाउँपालिका मकवानपुरमै प्रथम भएको हो । यस्तै बराबर ७३ दशमलव ५ न अंक प्राप्त गर्नेमा थाहा नगरपालिका पनि रहेको छ । जिससले थाहा नगरलाई योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ६९ दशमलव ०५ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७९ दशमलव ३१ प्रतिशत , लेखाङ्कन तथा प्रतिवेदनमा ७० दशमलव ५९ प्रतिशत, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ६८ दशमलव ७५ प्रतिशत र राजस्व व्यवस्थापनमा ७६ दशमलव ४७ प्रतिशत प्रदान गरेको छ ।
यसैगरी कुल ७१ अंक सहित हेटाैंडा उपमहानगरपालिका दाेस्राे स्थानमा छ भने कैलाश र मकवानपुरगढी गाउँपालिका समान अंक ७० दशमलब ५ ल्याइ तेस्राे स्थानमा रहेका छन् । हेटाैंडा उपमहानगरपालिका कार्य सम्पादन मुल्याङ्कनमा जिल्ला प्रथम भए पनि स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा दाेस्राे भएकाे हाे ।
हेर्नुस् कुन कुन स्थानीय तहले कति कति अंक पाए:
