मकवानपुर /दुध किसानहरुको मागलाई सरकारले बेवास्ता गरेको भन्दै मकवानपुरमा दुग्ध उत्पादक किसानहरुले राजमार्ग बन्द गराएका छन् ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ कै नेतृत्वमा राजमार्ग बन्द गरेको हो । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आन्दोलनलाई ऐक्वबद्धता जनाउँदै दुग्ध संघ मकवानपुरले राजमार्ग बन्द गरेको हो । मकवानपुरका करिव ६ हजार दुग्ध किसानको प्रतिनिधिमुलक उपस्थितिमा राजमार्ग बन्द गरेका हुन् । किसानहरुले मकवानपुर जिल्ला चारनाकाबाट मुख्य बजार हेटौंडामा भेला भएका किसानहरुले मुख्यचोक बुद्ध चोकमा नारबाजी गर्दै राजमार्ग बन्द गराएका हुन् ।
जिल्लाको पूर्वी क्षेत्र बकैया र बागमती गाउँपालिका, हेटौंडा वडा नम्वर १७ र १८ तथा मकवानपुरगढी गाउँपालिका र सुकौराका दूध किसानहरु हेटौंडाको सानोपोखरा चोकमा भेलाएका थिए । यसैगरी उत्तरी तर्फ भीमफेदी गाउँपालिका र पुरानो मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ र ६ का किसानहरु चौकिटोलमा भेला भए । पश्चिम क्षेत्र हेटौंडा १९, ३ र ११ तथा मनहरी गाउँपालिकाका किसान राप्ती पुलमा र दक्षिणतर्फ मनहरी १ र हेटौंडा १२, १३, १४ र १५, ७ र ८ का किसानहरु कर्रा पुलमा भेला भएर नाराबाजी सहित बुद्धचोकमा जम्मा भएका थिए ।
र्याली राप्ती रोड, जिल्ला प्रहरी कार्यालय, बसपार्क, राम मन्दिर, मेनरोड, उद्योग वाणिज्य संघबाट चौकिटोल ओरालो सहकारी मन्त्रालयसम्म पुगेर कोणसभामा परिणत भएको थियो । सडकमा किसानहरु हिँडेर करिब २ घण्टा राजमार्ग अवरुद्ध गर्ने मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेलले जानकारी दिए ।

सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुबाट किसानले पाउनुपर्ने भुक्तानी रकम पाउन सकेका छैनन् । विगत ६ महिनादेखि करिव ६० करोड बाँकी रहेको संघका अध्यक्ष कंडेलले जानकारी दिए ।
आन्दोलनरत किसानहरुले दुग्धको रकम भुक्तानी पाउनु पर्ने, दुग्ध विक्रीको ग्यारेन्टी हुनुपर्ने, मिल्क होलिडे सदाको लागि बन्द हुनुपर्ने उत्पादनका आधारमा अनुदान दिनुपर्ने, प्रति लिटर अनुदान कायम गनुपर्ने, किसानलाई सहुलियत कर्जाको व्यवस्था गर्नुपर्ने, सहकारी मार्फत पशुधन संरक्षण कार्यक्रम लागु हुनुपर्ने माग गरेको अध्यक्ष कंडेलले बताए । यसैगरी दुग्धजन्य पदार्थ निर्यातको प्रबन्ध तथा आयात प्रतिबन्ध गर्नुपर्ने माग रहेको उनले बताए ।

