मकवानपुर । मकवानपुरकाे झरना साहित्यिक परिवारले लमजुङ जिल्लामा काव्य गोष्ठी गरेकाे छ । लमजुङ जिल्लाको लिस्नो साहित्यिक मञ्च र मकवानपुरको झरना साहित्यिक परिवारले लमजुङको बेसीसहरमा संयुक्त काव्य गोष्ठी गरेका हुन् ।
झरना साहित्यिक परिवार मकवानपुरको ३०१ औँ साहित्य शृङ्खला अन्तर्गत सो काव्य गोष्ठी गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिए । कार्यक्रममा मकवानपुरबाट झरनाका संरक्षकद्धय रमेशमोहन अधिकारी र जनार्दन खनाल, सल्लाहकार लक्ष्मी जिम्बा, कविहरू सीता खनाल, सुवास खनाल, लोकगायिका मञ्जु दाहाल, पत्रकार महेन्द्र ओझा, इन्दिरा पाण्डेलगायतको उपस्थीति रहेको थियो ।
यसैगरी लमजुङबाट साहित्यकारहरू वासुदेव सेढाई, बेन बहादुर सुयाल, बसन्त अधिकारी, राजु थापा, देवीदास बराल, कमला केसी, बालचन्द्र सुवेदी, तीर्थ गुरुङ, सूर्यकला थापा र कमला दनाईको उपस्थीति रहेको थियो ।
यस्तै कार्यसमितिका अध्यक्ष विश्वनाथ सञ्जेल, उपाध्यक्ष चिरञ्जीवि लामिछाने र गायत्री रुपाखेती, सचिव मसान उपासक, कोषाध्यक्ष कृष्ण घतानीको उपस्थिति रहेको थियो । झरना मकवानपुरको आयोजनामा फागुन २६, २७ र २८ गते भएको तीन दिने साहित्यिक भ्रमणका क्रममा लमजुङको घलेगाउँ, भुजुङ र तनहुँका बन्दीपुरलगायतका क्षेत्रमा साहित्यिक संघसंस्थाहरूले गरिरहेका गतिविधि, त्यहाँका लेखन परम्परा र सांस्कृतिक क्षेत्रका बारेमा अध्ययन अवलोकन गरिएको संथाका अध्यक्ष विश्वनाथ सञ्जेलले जानकारी दिए ।
संस्थाले हरेक बर्ष फरक–फरक क्षेत्रमा साहित्यिक भ्रमण गर्दै आएको छ । साथै संस्थाले हरेक बर्ष बकैया कला–साहित्य महोत्सव, प्रत्येक महिना साहित्यिक प्रशिक्षण तथा काव्य गोष्ठीहरू, अर्धबार्षिक रुपमा पत्रिका प्रकाशनलगायतका विविध साहित्यिक कार्यहरू गर्दै आइरहेको छ ।
मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–९, लामसुरेस्थित वेतखोल्ची सामुदायिक वन क्षेत्र अन्तर्गत विगतको बगरमा अहिले दिव्य बाल उद्यान बनेको छ । जहाँ जाडो मौसममा पिकनिक खाने, पार्क अवलोकन गर्ने जस्ता उद्देश्यले बारा जिल्ला देखिका विद्यार्थीहरु आउने गर्छन् ।
गर्मी समयमा पनि यो पार्कको सौन्दर्य र आकर्षण घटेको छैन । पार्क भित्र रहेको वाटर फाउण्टेश सबैभन्दा बढी आकर्षक बनेको छ । बुद्धका मुर्ति, मदन आश्रितको अर्धकदको शालिक थप सौन्दर्य हुन् ।
१८ बिघा जग्गामा फैलिएको उद्यानले स्थानीयलाई बिहान–बेलुका व्यायाम गर्ने र टहलिने ठाउँ दिएको छ । उद्यान व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी आगामी दिनमा पार्कलाई व्यवस्थित बनाउने योजना रहे पनि हाल बजेट अभावमा धेरै काम गर्न नसकिएको बताउँछन् । उद्यानको प्रवेशद्वारको प्रत्येक ४० मिटरको अन्तरमा राष्ट्रिय व्यक्तित्वहरूको शालिक राख्ने योजना रहेको उनी जनाउँछन्। हाल द्वारबाट ४० मिटरको दूरीमा मदन–आश्रितको शालिक छ भने त्यसको ४० मिटरको दूरीमा बुद्धको शालिक छ । अरु संरचनाहरु थप्ने काम आर्थिक समस्याको कारण रोकिएको भण्डारीले बताए ।
झन्डै ९०० मिटर क्षेत्रमा सिमेन्टको ब्लक बिछ्याइएको उद्यानमा कुनै संस्थाले राष्ट्रिय व्यक्तित्वको शालिक राख्न चाहेमा समितिले समन्वय गर्ने भण्डारीले बताउँछन्। पार्कको दक्षिण–पूर्वी कुना वनभोजका लागि छुट्याइएको छ। वनभोजका लागि आउनेहरूसँग प्रतिसमूह एक हजार र ‘ड्राई पिकनिक’ का लागि आउनेहरूसँग प्रतिसमूह ५०० रुपैयाँ शुल्क लिने गरिएको छ ।
उद्यान क्षेत्रमा एउटा ध्यान केन्द्र बनाउने पनि योजना रहेको उनी सुनाउँछन्।
साथै, दक्षिण–पूर्वी क्षेत्र उँचो पहाड जस्तो भएकाले सो ठाउँसम्म पुग्न सिंढी बनाउने र सो स्थानलाई आकर्षक बनाउने योजना समेत रहेको छ। “बिहान–बेलुका व्यायाम गर्न, टहलिन आउनेहरूलाई तलमाथि गर्ने ठाउँ होस् भन्ने हाम्रो योजना हो,” भण्डारी भन्छन्।
उद्यान क्षेत्र २०३७ सालमा आएको ठूलो बाढीले बगर बनेको थियो। २०५० सालमा ठूलो बाढी आए पनि बाँध बनेका कारण यो क्षेत्र जोगिएको थियो। विगतमा चुरे क्षेत्रबाट आउने पानी बग्ने ठाउँ रहेकाले यहाँ कुनै पनि बिरुवा नहुर्कने हुँदा शुरूमा खयर रोपिएको थियो। “२०५५ सालमा खयरका ५०० बिरुवा लगाइएका थिए,” भण्डारी भन्छन्, “अहिले भने विभिन्न फूल र केही फल प्रजातिका बिरुवा पनि लगाइएका छन्।”
१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ तुलनात्मक रूपमा सानो क्षेत्रफलमा फैलिएको छ। जम्मा ३.८६ वर्ग किलोमिटरमा फैलिएको वडाको ठूलो क्षेत्र हेटौंडा सिमेन्ट उद्योगले ओगटेको छ।
“बाल उद्यान बनेपछि समुदायका बालबालिकाहरूलाई निःशुल्क खेल्ने ठाउँ पनि भएको छ,” भण्डारी भन्छन्, “प्रविधिले पेल्दै लगेको वेला यो पार्क अभिभावक र बालबच्चा सबैलाई टहलिने ठाउँ पनि भएको छ। भोलिका दिनमा यसलाई अझ धेरै राम्रो बनाउनेछौं।”
वडाबासीको मिहिनेतबाट नै पार्क निर्माण गर्न सुरु भएको हो । पार्क निर्माण गर्न वडाबासीले बिगत २७ वर्षदेखी गर्दै आएका छन् । आजभन्दा २७ वर्ष अगाडीसम्म हरेक वर्ष जस्तो वर्षाको मौसममा भेलबाढी आउने र बस्ती कटान गर्न थालेपछि हेटौंडा–९ को सो क्षेत्रमा स्थानियबासीहरु मिलेर बस्ती जोगाउनका लागि तारबार तथा बि.स.२०५१ साल असारमा स्वर्गीय जननेता मदन भण्डारी तथा जीवराज आश्रितको स्मृतिमा सो बगरमा बृक्षरोपण गरेका थिए ।
जसको नेतृत्व हालका निवर्तमान वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, बेतखोल्सी सामुदायिक वनका अध्यक्ष बासु प्याकुरेल, नकुल अधिकारीलगायतका व्यक्तित्वहरुले गरेका थियो । बृक्षरोपणपछि सो क्षेत्रलाई बेतखोल्सी सामुदायिक वनमा परिणत गरि संरक्षण गरिदै आइएको थियो । वृक्षरोपणको २६ वर्षपछि ति बिरुवाहरु रुखमा परिणत भई शितलता प्रदान गर्न सक्ने भएका छन् ।
३ वर्ष पहिले कोरोना महामारीका कारण लकडाउन (निषेधाज्ञा) भएको अवस्थामा राहत वितरण गर्दा श्रममा आधारित राहत कार्यक्रम आयोजना गरिएको थियो । जसअन्तर्गत उपमहानगर तथा विभिन्न संघसंस्थाहरुले वडा मार्फत प्रदान गरेको राहत साच्चिकै समस्यामा परेका वडाबासीले प्राप्त गरुन् भन्ने उद्देश्यका साथसो कार्यक्रम आयोजना गर्दै पार्क निर्माणको शुभारम्भ गरिएको भण्डारीले बताए ।
सो कार्यक्रममा पार्क निर्माण स्थलमा भएका बनमारा लगायतका झाडी सफा गर्ने कार्यहरु भएका थिए । कोरोनाको समयमा पनि दैनिक २५ देखी ३० जनाका दरले भौतिक दुरीसहित लगभग २ सय जना भन्दा बढीको जनशक्तिले पार्क निर्माण स्थल सफा गर्ने कार्य भएको थियो । राहतका लागि काम लगाइएको भएपनि सो काम वडाबासीले सहयोगका रुपमा मन लगाएर गरेका थिए भने वडाका सबैजसो टोल विकास संस्थाहरुबाट समेत वडाबासीहरु बिना राहत सहयोग स्वरुप सरसफाई कार्यक्रममा सहभागी भए । त्यसपछि लागत सहभागितासहित उपमहानगरपालिकाले प्रदान गरेको बजेटबाट पार्कमा बाटो खोल्ने कार्य, कम्पाउन्ड पर्खाल लगाउने कार्य भएका थिए ।
पार्क निर्माणमा उपमहानगरपालिकाको मात्र नभई प्रदेश तथा सांसद विकास कोषबाट समेत बजेट प्राप्त भएको छ । दिर्घकालिन योजनाका साथ एउटा सुन्टर पार्क निर्माण गर्न लागिएकाले केन्द्रको समेत ध्यानाकर्षण भएको भन्दै तत्कालिन वडा अध्यक्ष भण्डारीले खुसी समेत व्यक्त गरे । बागमती प्रदेश सरकार तथा पूर्व सांसद कृष्ण प्रसाद दाहालबाट सांसद बिकास कोषबाट झन्डै ५० लाख रुपैयाँ बजेटमा जननेता मदन भण्डारी र जीवराज अश्रितको अर्धकदको शालिक, वाटर फाउण्डेसन, पिकनिक स्टल, आरामगर्ने स्थानलगायतका संरचना निर्माण गरिएको हो ।
“दिव्य बाल उद्यान” नामाकरण गरिएको उक्त पार्क मकवानपुरको नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास भएको छ । बाल उद्यानमा गौतम बुद्धको प्रतिमा, नेपाल आमाको प्रतिमा, ध्यान केन्द्र, विभिन्न वनस्पतीजन्य बोट विरुवा रोप्ने लगायतका काम जारी राखिएको छ । यसबाट पर्यटकिय क्षेत्रमा टेवा पुर्याउने लक्ष्य लिईएको छ ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नगदसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा १५ रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नगदसहित ४ युवाहरूलाई नियन्त्रणमा लिएको हो ।
बिरगंजबाट चितवन नारायणघाटतर्फ जादै गरेको बीआर ०१ एआर २९९१ नं.को ईन्डियन कारलाई शंकालागी जाँच गर्ने क्रममा कारको सिटमुनि लुकाई राखेको भारतीय रुपैया ५०० को नोट १ हजार ४२ थानमा नियन्त्रणमा लिएको हो । यसैगरी २ सयको नोट ९३ थान, १ सयको नोट ९३ थान, ५० को नोट ४ थान गरी जम्मा भारतीय रुपैयाँ ५ लाख ४९ हजार एकसय र नेपाली रुपैयाँ २ लाख ५० हजार फेला परेको प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।
भण्डारीका अनुसार कार चालक भारत बिहार राज्य सितामणी थाना ९ भुभैरवो बस्ने अन्दाजी ३० को राकेश कुमार र सोही कारमा सवार सोही ठेगानाका अर्का अन्दाजी ३० बर्षीय चन्द्र बाबु, ३७ बर्षीय अशोक राय, सुनसरी कोशी गाउँपालिका ४ बस्ने ३२ बर्षीय निजाम मियालाई कार सहित नियन्त्रणमा लिएको हो।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाबाट प्रहरीले लागुऔषध नाईट्राभेट सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बागमती ८ बस्ने वर्ष २९ को रमेश राईलाई नाईट्राभेट १ सय ८५ ट्याब्लेट सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार उक्त परिमाणको लागुऔषध नाईट्राभेटसहित राईलाई नियन्त्रणमा लिएको हो । सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा राईलाई खानतलासी गर्दा उनको साथबाट उक्त लागूऔषध नाईट्राभेट फेला परेको प्रहरीले जनाएको छ ।
मकवानपुर जिल्ला अदालतबाट ९ दिनको म्याद अनुमति लिएर राईलाई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक जना युवक मृत भेटिएका छन् । विहेमा सहभागी हुन गएका राक्सिराङ ५ चुरीडाँडा वस्ने २७ बर्षीय सोमलाल प्रजा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनी बुधबार राक्सिराङ ५ टङरङस्थित रिमलाल प्रजाको घरमा विहेमा गएका थिए । रिमलालको घरदेखि दक्षिणतर्फ रहेको बाख्राको खोर छेउमा सोमलाल घोप्टो अवस्थामा विहीबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालमा ल्याईएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।