मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नगदसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा १५ रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नगदसहित ४ युवाहरूलाई नियन्त्रणमा लिएको हो ।
बिरगंजबाट चितवन नारायणघाटतर्फ जादै गरेको बीआर ०१ एआर २९९१ नं.को ईन्डियन कारलाई शंकालागी जाँच गर्ने क्रममा कारको सिटमुनि लुकाई राखेको भारतीय रुपैया ५०० को नोट १ हजार ४२ थानमा नियन्त्रणमा लिएको हो । यसैगरी २ सयको नोट ९३ थान, १ सयको नोट ९३ थान, ५० को नोट ४ थान गरी जम्मा भारतीय रुपैयाँ ५ लाख ४९ हजार एकसय र नेपाली रुपैयाँ २ लाख ५० हजार फेला परेको प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।
भण्डारीका अनुसार कार चालक भारत बिहार राज्य सितामणी थाना ९ भुभैरवो बस्ने अन्दाजी ३० को राकेश कुमार र सोही कारमा सवार सोही ठेगानाका अर्का अन्दाजी ३० बर्षीय चन्द्र बाबु, ३७ बर्षीय अशोक राय, सुनसरी कोशी गाउँपालिका ४ बस्ने ३२ बर्षीय निजाम मियालाई कार सहित नियन्त्रणमा लिएको हो।

