मकवानपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पुन परीक्षा लिने भएको छ । गत जेन-जी आन्दोलनको क्रममा विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको हो ।
सीटीईभीटीले आगामी ४ मंसिरदेखि पुन: परीक्षा लिन लागेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए । जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेका थिए ।
सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए । उनका अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका हुन् ।
मकवानपुर । राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे छ । सोमबार साँझ प्रकाशित नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार ३८.८३ विद्यार्थीको एनजी(ननग्रेड) आएको छ ।
परीक्षामा पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएकाेमा कुल २ लाख ८४ हजार ३०५ परीक्षार्थी ग्रेडेड (उत्तीर्ण) भएका हुन् । परीक्षामा सहभागी मध्ये १७ जनाको परीक्षाफल रद्द गरिएको बाेर्ड जानकारी दिएकाे छ । नियमित तर्फ ११ र आंशिक तर्फ ६ जना गरी कुल जम्मा १७ जनाको परीक्षा रद्द भएको हाे ।
कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो । पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए । त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी भएकाे वोर्डले जनाएकाे छ ।
कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो ।
यसरी हेर्न सकिनेछ नतिजा
बोर्डका अनुसार यो वर्षको १२ कक्षाको परीक्षाकाे नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत हेर्न र थाहा पाउन सकिने छ ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।
यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।
यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले एसइई २०८१ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी र विषय शिक्षकलाई सम्मान गरेकाे छ । शुक्रबार ४ नम्बर वडा कार्यालयकाे आयोजना र शैक्षिक गुणस्तर सुधार समितिकाे व्यवस्थापनमा विद्यार्थी र शिक्षकलाई सम्मानित गरेको हाे।
हेटौंडा – ४ नम्वर वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइई २०८१ मा जीपीए ४ सहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विषय शिक्षकलाई सम्मान गरिएकाे शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा – ४ का अध्यक्ष श्रीराम दाहालले जानकारी दिए । एसइईमा जीपीए ४ प्राप्त गर्ने नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका विमर्श श्रेष्ठ र अनुषा उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएकाे हाे ।
त्यसैगरी वडामा संचालनमा रहेका सामुदायिक तथा संस्थागत गरी ६ वटा माविबाट जीपीए ३.२ भन्दा माथिको नतिजा ल्याउने विद्यार्थीलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरिएकाे हाे । यसैगरी विषयगत ९५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई समेत सम्मान गरिएकाे छ ।
शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहाल सभाध्यक्ष, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्य तथा वडाध्यक्ष नवीन सिक्देलको विशेष आतिथ्यमा सम्मान कार्यक्रम भएकाे हाे ।
मकवानपुर । शिक्षा केवल परीक्षा पास गर्नु मात्र नभई, जीवन बुझ्ने कला भएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ । नीजि तथा आवाशीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन नेपाल) मकवानपुरले २०८१ सालको एसइई – २०८१ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीको सम्मानमा आयोजित कार्यक्रमका उहाँले यस्तो बताउनु भएको हो ।
शिक्षा सुखद् गन्तव्य तिरको यात्रा भएको बताउनु हुँदै उहाँले एसइईमा सफलता हासिल गरेकालाई बधाई ज्ञापन गर्नुभयो । “बिद्यार्थीहरू असिमित क्षमताले भरिपूर्ण हुनुहुन्छ, तपाईं भित्रका क्षमताको तस्बीर खिच्ने कुनै क्यामेराको आबिष्कार भएको भए तपाई विद्यार्थीहरू आफ्नो क्षमता थाहा पाएर दङ्ग पर्नुहुन्थ्यो र तपाईका अभिभाबक कुर्सीमा बसेर मुसुमुसु हाँस्नुहुन्थ्यो होला” उहाँले भन्नुभयो । “नतिजा उत्कृष्ट ल्याउन योगदान गर्ने गुरुजन, अभिभावक, विद्यालय प्रशासन र विद्यार्थीले झेलेका कठिनाइहरू पनि सहयात्री हुन् उहाँले भन्नुभयो “विद्यार्थी आजको विद्यार्थी मात्र होइन, भोलिको नीति निर्माता, वैज्ञानिक, समाज सुधारक बन्न सक्ने सम्भावना बोकेका नागरिकहरू हुन् ।”
विद्यार्थीबाट परिवार, समाज र राष्ट्रले तपाईंहरूबाट धेरै अपेक्षा राखेको उहाँले स्मरण गराउनुभयो । मेहनतकर्मी सन्ततिको उज्ज्वल भबिष्यको दियो बालेर बस्ने आमाबुवाको सपना तुहाउने छुट तपाईंहरूलाई नभएको उहाँले बताउनुभयो। विद्यार्थीमा मेहनत, अनुशासन र संस्कारको जग बसिसकेकोले अध्ययनलगायत जीवनका बाँकी परीक्षाहरूमा खरो उत्रिने आशा आफूले लिएको देवकोटाले बताउनुभयो ।
कार्यक्रममा प्याब्सन मकवानपुर प्रमुख सल्लाहकार मदन दाहालले शिक्षा विकासको लागि निजि स्कुलको योगदान अद्वितीय रहेको बताउनुभयो । प्याब्सन मकवानपुर अध्यक्ष विनोद सुबेदीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मकवानपुरबाट ३.६ देखि ४ जीपीए प्राप्त गरी एसइई- २०८१ पास गर्ने बिद्यालय र विद्यार्थीलाई सम्मान गरिएको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा एसइई – २०८१ मा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थी, विद्यालय, ४ जीपीए ल्याउने विद्यालयलाई सम्मान गरिएकाे छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरले मंगलबार हेटौंडामा एक समारोहका बीच विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो । एसइई २०८१ मा मकवानपुर जिल्लाका ४ वटा विद्यालयका ५ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
बागमती प्रदेश प्रमुख दीपक प्रसाद देपकाेटाले ४ जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेका हुन् । यसैगरी संस्थागत र सामुदायिक दुबै विद्यालय र विद्यार्थीलाई सम्मान गरिएकाे प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीकाे अध्यक्षता तथा बागमती प्रदेश प्रमुख देवकोटाको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो ।