मकवानपुर । शिक्षा केवल परीक्षा पास गर्नु मात्र नभई, जीवन बुझ्ने कला भएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ । नीजि तथा आवाशीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन नेपाल) मकवानपुरले २०८१ सालको एसइई – २०८१ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीको सम्मानमा आयोजित कार्यक्रमका उहाँले यस्तो बताउनु भएको हो ।
शिक्षा सुखद् गन्तव्य तिरको यात्रा भएको बताउनु हुँदै उहाँले एसइईमा सफलता हासिल गरेकालाई बधाई ज्ञापन गर्नुभयो । “बिद्यार्थीहरू असिमित क्षमताले भरिपूर्ण हुनुहुन्छ, तपाईं भित्रका क्षमताको तस्बीर खिच्ने कुनै क्यामेराको आबिष्कार भएको भए तपाई विद्यार्थीहरू आफ्नो क्षमता थाहा पाएर दङ्ग पर्नुहुन्थ्यो र तपाईका अभिभाबक कुर्सीमा बसेर मुसुमुसु हाँस्नुहुन्थ्यो होला” उहाँले भन्नुभयो । “नतिजा उत्कृष्ट ल्याउन योगदान गर्ने गुरुजन, अभिभावक, विद्यालय प्रशासन र विद्यार्थीले झेलेका कठिनाइहरू पनि सहयात्री हुन् उहाँले भन्नुभयो “विद्यार्थी आजको विद्यार्थी मात्र होइन, भोलिको नीति निर्माता, वैज्ञानिक, समाज सुधारक बन्न सक्ने सम्भावना बोकेका नागरिकहरू हुन् ।”
विद्यार्थीबाट परिवार, समाज र राष्ट्रले तपाईंहरूबाट धेरै अपेक्षा राखेको उहाँले स्मरण गराउनुभयो । मेहनतकर्मी सन्ततिको उज्ज्वल भबिष्यको दियो बालेर बस्ने आमाबुवाको सपना तुहाउने छुट तपाईंहरूलाई नभएको उहाँले बताउनुभयो। विद्यार्थीमा मेहनत, अनुशासन र संस्कारको जग बसिसकेकोले अध्ययनलगायत जीवनका बाँकी परीक्षाहरूमा खरो उत्रिने आशा आफूले लिएको देवकोटाले बताउनुभयो ।
कार्यक्रममा प्याब्सन मकवानपुर प्रमुख सल्लाहकार मदन दाहालले शिक्षा विकासको लागि निजि स्कुलको योगदान अद्वितीय रहेको बताउनुभयो । प्याब्सन मकवानपुर अध्यक्ष विनोद सुबेदीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मकवानपुरबाट ३.६ देखि ४ जीपीए प्राप्त गरी एसइई- २०८१ पास गर्ने बिद्यालय र विद्यार्थीलाई सम्मान गरिएको थियो ।

