मकवानपुर । राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे छ । सोमबार साँझ प्रकाशित नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार ३८.८३ विद्यार्थीको एनजी(ननग्रेड) आएको छ ।
परीक्षामा पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएकाेमा कुल २ लाख ८४ हजार ३०५ परीक्षार्थी ग्रेडेड (उत्तीर्ण) भएका हुन् । परीक्षामा सहभागी मध्ये १७ जनाको परीक्षाफल रद्द गरिएको बाेर्ड जानकारी दिएकाे छ । नियमित तर्फ ११ र आंशिक तर्फ ६ जना गरी कुल जम्मा १७ जनाको परीक्षा रद्द भएको हाे ।
कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो । पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए । त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी भएकाे वोर्डले जनाएकाे छ ।
कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो ।
यसरी हेर्न सकिनेछ नतिजा
बोर्डका अनुसार यो वर्षको १२ कक्षाको परीक्षाकाे नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत हेर्न र थाहा पाउन सकिने छ ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।
यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।
यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

