मकवानपुर । मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको जिल्ला सञ्जाल मकवानपुरले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ ।
आत्मसम्मान सहितको जीवन बाँच्न पाउनु प्रत्येक नागरिकको अधिकार संरक्षणको माग गर्दै सञ्जालले ज्ञापन पत्र बुझाएको हो ।
हाम्रो मुलुकी देवानी संहिताले विवाहलाई अनतिक्रम्य सामाजिक बन्धन हुने भन्दै विवाह गर्ने स्वतन्त्रता र विवाह हुन सक्ने अवस्थाको विषयमा उल्लेख गरेको छ । मुलुकी अपराध संहिताले बहु विवाहलाई अपराध परिभाषित गरि दण्ड सजायको प्रावधान गरेको छ ।
नेपालमा लामो प्रतिक्षा र प्रयासबाट निर्माण भएका मुलुकी संहिताहरुले तय गरका कानुनी प्रावधानको भावनाको प्रतिकुल हुनेगरी यदि कुनै श्रीमानले वैवाहिक सम्बन्ध कायम भएकै अवस्थामा आफ्नी श्रीमती बाहेक कुनै बच्चाकी आमालाइ श्रीमती बनाउने मनसायले आफुसँग ल्याउँछ र उक्त बच्चा आफ्नो भएको स्विाकार्दछ भने अब ति महिलालाई पनि कानुनी रुपमा नै श्रीमती हुन पाउने अधिकार सहितको मुलुकी संहिता संसोधनको दुखद चर्चा समुदायमा सुनिन थालिएकोले यसो नगर्न सुझाव सहित ज्ञापन पत्र पेश गरिएको हो ।
महिलाहरुको गरिमा र आत्मसम्मानमा दख्खल पुग्ने गरी महिलाहरुलाई सम्भावित डर र शंकामा रहन पर्ने गरी कुनै पनि कानुन निर्माण नगर्न संजालले माग गरेको हो।
“जे सुनिदै आएको छ,यस किसिमका संसोधनका कुचेष्टा हुन नपाओस भन्ने कुरामा सञ्जाल संवेदनशील छ दृढ संकल्पित छ” ज्ञापन पत्रमा भनिएको छ ।
कानुन निर्माण र संसोधनको विषयसँग सम्बन्धित सरोकारवाला निकाय तथा पदाधिकारीहरुको यस सवालमाथि ध्यानाकर्षणको निम्ति जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा ज्ञापनपत्र बुुुझाइएको संजाल सह संयोजक माया तामाङले बताइन् ।

