मकवानपुर । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली काँग्रेस प्रदेश सभापति बानियाँ कांग्रेस र नेकपा एमालेकाे समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बानियाँ बागमतीको छैटौं मुख्यमन्त्री हुन् । मकवानपुरबाट मुख्यमन्त्री हुने बानियाँ दोस्रो हुन् । प्रदेशकाे संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल मकवानपुरका हुन् ।
कांग्रेसकै बहादुर सिंह लामाले आइतबार मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेर सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा दर्ता गराएका थिए । उनको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका मंगलबार दिउँसो २ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सरकार गठनका लागि आह्वान भएकै दिन बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गरेका थिए । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ ।
सात वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।
बागमतीमा एक वर्षअघि सरकार गठन हुँदा एमाले र कांग्रेसबीच २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमति थियो । सहमतीअनुसार बानियाँले अबकाे ८ महिना प्रदेश सरकारको नेतृत्वमा रही फागुन २०८२ मा एमालेलाई नेतृत्व हस्तान्तरण गर्नु पर्नेछ ।
बानियाँ भन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा प्रदेश मुख्यमन्त्री भइसकेका छन् ।
काे हुन् ? बाँनिया
मकवानपुरकाे साविक हर्नामाडी गाविस – ४ दियावाती (हाल हेटौैंडा उपमहानगरपालिका – १८) मा जन्मिएका बानियाँ २०४४ सालदेखि राजनीतिमा होमिएका थिए । नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुर सभापति भएका थिए ।
२०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका ५२ वर्षीय बानियाँले कम्युनिष्टहरुको लाल किल्ला भनेर चिनिने मकवानपुरमा कम्युनिष्टको किल्ला भत्काएर २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजयी भएदेखि निरन्तर सांसद रहेका छन् ।
बानियाँ कम्युनिस्टहरूको गढ मकवानपुरबाट सांसद जित्ने पहिलो कांग्रेस नेता हुन् । उनी ४ मंसिर २०७० मा भएको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । बानियाँ २०७३ सालमै केन्द्र सरकारको गृह राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भइसकेका छन् । फागुन २०७३ सालमा गृह राज्यमन्त्री भएका उनी त्यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए ।
तत्कालीन सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृहराज्यमन्त्री बनाइएको थियो । २०७४ बाट संघीयता कार्यान्वयनमा गएसँगै बानियाँ प्रदेशसभाकाे निर्वाचनमा उम्मेदवार भएका थिए । २०७४ सालपछि बानियाँ नेपाली कांग्रेस संसदीय दलको नेता थिए । अघिल्लो कार्यकालमै मुख्यमन्त्री हुन खोजेका बानियाँ असफल बन्न पुगेका थिए ।
प्रदेशसभाको दोस्रो कार्यकालमा दलको नेताबाट पराजित भएका बानियाँ साढे २ वर्षपछि दलको नेताबाट बहादुर सिंह लामालाई हटाएर आफैं बने । १३ पुस २०७९ मा दलको नेताका लागि भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए । ९ साउन ०८२ मा मुख्यमन्त्रीसमेत रहेका दल नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । १३ साउनमा अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेकाे थियाे ।
मत विभाजन हुँदा लामाले संसदीय दलमा दलकाे नेताकाे हैसियत गुमाए । गत १४ साउनमा दलको नेता चयनका लागि भएको निर्वाचनमा लामालाई हराएपछि बानियाँलाई प्रदेश मुख्यमन्त्री बन्ने बाटो खुलेको हाे । बानियाँ मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन् ।

