मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनी बागमती प्रदेशकाे छैटौं मुख्यमन्त्री हुन् । मुख्यमन्त्री बानियाँकाे सिफारिसमा आजै प्रदेश सरकारमा ८ जनालाई मन्त्री पदमा नियुक्ती भएका छन् । बानियाँको सिफारिस नियुक्त ८ मन्त्रीलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सपथ ग्रहण गराएका हुन् ।
कांग्रेसका २ र एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री बाँनियाले एमालेका मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकास मन्त्री, डाक्टर दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापालाई श्रम रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री, किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गरेका थिए । एमालेबाट मन्त्री भएकाहरुमा थापा यसअघीकाे सरकारमा समेत सहभागी थिए भने अन्य ५ जना नयाँ अनुहार हुन्
कांग्रेसबाट भने खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् । प्रदेशका १४ वटा मन्त्रालय मध्ये मुख्यमन्त्री बाहेक कांग्रेसको भागमा परेको ७ मन्त्रालयमा दुई जना मन्त्री नियुक्त गरी बाँकी ५ वटा मन्त्रालयकाे जिम्मेवारी भने मुख्यमन्त्री बानियाँले आफैं मातहत राखेका छन् ।


