मकवानपुर । बागमती प्रदेश सरकारकाे स्वास्थ्य मन्त्रीमा नियुक्त किरण थापाले पदभार सम्हालेसँगै अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) सम्बन्धी ३ वटा निर्णय गरेका छन् ।
उनले बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपतकालीन प्रतिकार्य प्रणाली बिकास गर्ने निर्णय गरेका हुन् । स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन तथा अस्पताल सेवामा सुधार ल्याउन मन्त्रालयले उक्त प्रणाली विकास गर्ने निर्णय गरेको हो। यो प्रणालीले स्वास्थ्य सेवा प्रवाहमा छिटो र छरितो हुने मन्त्री थापाले विश्वास व्यक्त गरे ।
यस्तै मन्त्री थापाले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका सवारी साधनहरूको व्यवस्थापन तथा समन्वय गर्न ‘जीपीएस’ प्रणाली प्रयोग गर्ने निर्णय समेत गरेका छन्। यसैगरी प्रदेशभर आयुर्वेद तथा बैकल्पिक चिकित्सालयहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्ने पनि गरिएको छ। मन्त्री थापाद्वारा गरिएका निर्णयहरु डिजिटल स्वास्थ्य क्षेत्र रूपान्तरणको महत्त्वपूर्ण कदम हुने मन्त्रालयका सचीव डा. सुमित्रा गौतमले जानकारी दिइन् ।
यस अघि थापा बहादुर सिंह लामाकाे मन्त्रीमण्डलमा ९ साउन २०८१ मा स्वास्थ्य मन्त्री नियुक्त भएका थिए । नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वमा मंगलबार गठन भएकाे मन्त्रीमण्डलमा उनी पुनः स्वास्थ्यमन्त्री नियुक्त भएका हुन् ।

