मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले एसइई २०८१ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी र विषय शिक्षकलाई सम्मान गरेकाे छ । शुक्रबार ४ नम्बर वडा कार्यालयकाे आयोजना र शैक्षिक गुणस्तर सुधार समितिकाे व्यवस्थापनमा विद्यार्थी र शिक्षकलाई सम्मानित गरेको हाे।
हेटौंडा – ४ नम्वर वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइई २०८१ मा जीपीए ४ सहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विषय शिक्षकलाई सम्मान गरिएकाे शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा – ४ का अध्यक्ष श्रीराम दाहालले जानकारी दिए । एसइईमा जीपीए ४ प्राप्त गर्ने नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका विमर्श श्रेष्ठ र अनुषा उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएकाे हाे ।
त्यसैगरी वडामा संचालनमा रहेका सामुदायिक तथा संस्थागत गरी ६ वटा माविबाट जीपीए ३.२ भन्दा माथिको नतिजा ल्याउने विद्यार्थीलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरिएकाे हाे । यसैगरी विषयगत ९५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई समेत सम्मान गरिएकाे छ ।
शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहाल सभाध्यक्ष, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्य तथा वडाध्यक्ष नवीन सिक्देलको विशेष आतिथ्यमा सम्मान कार्यक्रम भएकाे हाे ।

