मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चार जना मन्त्रीलाई पदमुक्त गरेका छन् । शुक्रबार राजीनामा दिएको भनिएका चार जना मन्त्रीलाई मुख्यमन्त्री लामाले पदमुक्त गरेका हुन् ।
बागमती प्रदेश सरकारबाट राजिनामा दिएका ४ जना मन्त्री पदमुक्त भएको मुख्यमन्त्री लामाले जानकारी गराएका छन् । शुक्रबार ह्वाट्सयापमार्फत राजिनामा बुझाएका ४ मन्त्रीलाई पदमुक्त गरिएकाे जानकारी मुख्यमन्त्री लामाले शुक्रबार नै प्रदेश प्रमुखलाई गराएका छन् ।
नेपाली काँग्रेसबाट मन्त्री बनेका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेलाई पदमुक्त गरिएको मुख्यमन्त्री लामाले जानकारी गराएका छन् ।
बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना सहभागी रहेकाेमा चार जनाले राजिनामा दिएका थिए । आफूलाई असहयोग गरेपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुलाई पदबाट हटाएका हुन् ।
मुख्यमन्त्री लामाले नेपालको संविधान २०७२ को धारा १६९ (२) ख बमोजिम मन्त्रीहरुलाई पदमुक्त गरिएका हुन् । ४ जना मन्त्रीले राजिनामा दिएसँगै मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्ध शुक्रबार ४ मन्त्रीसहित २१ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वास प्रस्तावकाे सामना गर्छुः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा तामाङले अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् । शुक्रबार २१ सांसदको हस्ताक्षरमा संसदीय दलका नेता तामाङविरुद्ध अविश्वास प्रस्ताव पेस दर्ता भएसँगै उनले अविश्वास प्रस्तावकाे सामना गर्न आफू तयार रहेको बताएका हुन् ।
यसलाई आफूले ठुलो कुरा नठानेको र पार्टीभित्र भइरहने एउटा प्रक्रियाको रूपमा लिएको समेत उनले बताए । ‘म अविश्वासको प्रस्ताव फेस गर्न तयार छु । गठबन्धनको सरकार भएको अवस्थामा सहमति अनुसारको मुख्यमन्त्रीको समयावधि सकिएको भए मैले स्वाभाविक रूपमा राजीनामा दिनुपर्थ्यो र दिन्थें’ उनले भने ।
शुक्रबार सञ्चारकर्मीसँग उनले भने, ‘साथीहरूले दलको नेता फेर्न पर्यो भनेर अविश्वासको प्रस्ताव दर्ता गरेको मैले पनि थाहा पाएँ । यसलाई मैले ठुलो कुरा मानेको छैन यो पार्टीभित्रको कुरा हो । म प्रस्ताव सामना गर्न तयार छु ।’ बजेटको विषयलाई मुख्य मुद्दा बनाएर केही सांसदहरू आफूलाई असफल पार्न लागि परेको पनि उनले दाबी गरे ।

