मकवानपुर/ वर्तमान राजनीतिक वातावरणको कारण निष्पक्ष रुपमा विश्वविद्यालय चलाउन सक्ने अवस्था नभएको बताइएको छ ।
‘विश्वविद्यालयको भूमिका कम छैन, राजनीतिक आडको भरमा उपकुलपतिहरुलाई धक्याएर, तर्साएर नीतिलाई मिचेर हात लिने परिपाटीको अन्त्य हुनै पर्छ’ बुधबार जुम प्रविधिको प्रयोग गर्दै भर्चुअल रुपमा आयोजना गरिएको एक कार्यक्रममा कृषि तथा वन विश्व विद्यालयका उपकुलपतिका डाक्टर पुण्यप्रसाद रेग्मीले यस्तो बताएका हुन् ।
‘हामी देशको लागि केही गछौ, होनाहार दक्ष तथा क्षमतावान युवाहरु देशलाई दिन्छौ भनेर लागिपरेका छौ, तर, पार्टीको भागबण्डामा पार्टीको सिफारिसमा आएकाहरुको कारण समस्या छ’ उनले भने ‘अध्ययन बिना पार्टीको आडमा आएकाहरुबाट कस्तो योगदानबाट हुन्छ प्राज्ञिक क्षेत्रमा ?’
विश्वविद्यायमा राजनीतिक संगठनलाई बन्देज नै गर्नुपर्ने उनले बताए । विश्वविद्यालयमा प्रतिष्पर्धा हुनै नदिने परिपाटीको रहेको र यसले दक्षता हासिल गर्ने हौसला विस्तारै कम हुदै आएको उनले बताए । ‘विश्वविद्यालयलाई स्वतन्त्र रुपमा प्राज्ञिक थलो बनाउने हो भने भोलीको लागि मुलुकलाई चाहिने दक्ष जनशक्ति प्रयाप्त दिनसक्छौ, राजनीतिक, व्यवसायिक, शैक्षिक सबै क्षेत्रको लागि क्षमतावान् जनशक्ति दिनसक्छ । ‘विश्वविद्याय स्तरको शिक्षा ध्वस्त भएकै राजनीतिको कारण हो’ डा. रेग्मीले भने ‘विश्वविद्यालयलाई अर्को संसद रुपमा लिने गरीन्छ, यसलाई क्षमता र दक्षता हासिल गर्ने राम्रो वातावरण बनाइयोस् ।’ आजको युवा पुस्तालाई राजनीतिमा आउने प्रेरणा दिने सक्ने विश्वासिलो आधार समेत नभएको सहभागीहरुले बताएका थिए ।
राजनीतिक नेतृत्वको द्रुत मार्ग विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सबै नीतिको मुल नीतिको भूमिकामा रहनु पर्ने राजनीति नै सकारात्मकबाटोमा नरहेको भन्दै गुनासो गरेका थिए ।
कार्यक्रममा प्रोफेसर डा. नवराज खतिवडाले राजनीतिक नेतृत्वमा द्रुतमार्ग बारे सहजिकरण गरेका थिए । वर्तमान राजनीतिक संस्कारको रुपमा विरासत सम्हाल्न, नाता कुटुम्बको माध्यम, आरक्षण नीतिको सहारा, राजनैतिक समिकरण मिलाउन, दललाई आर्थिक सहयोग गरेर तथा गैर–राजनैतिक क्षेत्रको प्रसिद्धिको सहारामा हाल राजनीतिक नेतृत्वको द्रुत मार्गको प्रयोग गर्ने गरिएको भएपनि यो कालन्तरमा प्रभावकारी नदेखिएको विश्लेषण डा. खतिवडाले सुनाए ।
कार्यक्रममा पूर्व मन्त्री गणेश शाहाले हाल कोरोना संकटको बेलामा राजनीतिकको विकास जुन रुपमा हुनु पर्ने थ्यो, त्यो विल्कुलै नभएकोमा गुनासो गरे । यसैगरी नेपाली काँग्रेसका नेता, पूर्व मन्त्री लक्ष्मण घिमिरेले हाल ‘ब्रेन ड्रेनको समस्या समाधान गर्नु सबैभन्दा ठुलो चुनौति रहेको बताए ।

‘रेमिटान्सको आशामा हाम्रा पाखुरीहरु खाडि मुलुकमा हराए, अबको नेतृत्व को त ?’ उनले प्रश्न गरे । ६०÷६५ वर्ष नाघेका राजनैतिक नेतृत्वबाट अब के अपेक्षा गर्ने, अबको १० वर्षपछि राजनीतिमा उत्तराधिकारी को होलान्, म त देख्दिन,’ पुर्व मन्त्री घिमिरेले भने । हालका ८० प्रतिशत नेताका छोराछोरी पीआर लिएर विदेशमै स्थायी नागरिक भएको तथ्याङ्क प्रस्तुत गर्दै उनले राजनीति नयाँ पुस्ताको रोजाइ नहु नसकेकोमा दुख लागेको बताए । यसैगरी पूर्व मन्त्री कल्पना धमलाले भने निराशा हुनुभन्दा अझै युवा पुस्तालाई प्रोत्साहन गर्नतर्फ लाग्नु पर्ने बताइन् । ‘हालको नेतृत्वले नयाँ पुस्तालाई विश्वासको आधार बनाउनु हालको नेतृत्वको कर्तव्य हो, संभावना छैन भनेर पन्छिने कुरै हैन’ उनले भनिन् ।
कार्यक्रममा प्रोफेसर धर्मराज रेग्मीले सिण्डेकट बिना राजनीतिमा प्रवेश गर्न नपाइने चुनौति सबैभन्दा बढी घातक भएको बताए । ‘सिण्डिकेट तोड्नको लागि ठुलो संघर्ष आवश्यक छ’ उनले भने ‘आफ्नै सन्तानलाई देशको विकासका बारेमा विश्वास दिलाएर देशमै टिकाउन सक्नु पर्छ, देशको लागि आवश्यक युवाशक्ति युरोप र खाडि मुलुकमा नै छ, पुराना नेतृत्वहरु छोड्न नचाहने नयाँ पुस्ताहरु राजनीतिमा आउन नसक्ने सिण्डिकेटको प्रणाली फेर्नै पर्छ ।’
नयाँ पुस्ताको नेतृत्वमा आशा लाग्दा नेतृत्व क्षमता पनि नदेखिएको उनले बताए । ‘मन्त्रीको पीय बनेर आउने संगठनका नेताहरुले कसरी देश चलाउलान् भोली भन्ने लाग्छ’ उनले भने ‘नयाँ पुस्तामा जोश, जाँगर र क्षमता भन्दा झोला बोकेर मान्छे रीजाउने र पदमा पुग्ने विचार हाबि हुने गरेको छ ।’
अन्तरक्रियामा राष्ट्रिय सभाको पूर्व सदस्य धना न्यौपाने खतिवडाले महिला शिक्षाको अवस्थालाई सुधार्नु पर्ने, युवा महिलालाई नेतृत्वदायि क्षमता बढाउनेमा ध्यान दिनु पर्ने बताइन् । द्रुत गतिमा योग्य नेतृत्व निर्माण गर्न राजनीतिको नाममा कमाइखाने र पहुँचको प्रयोग गर्ने नीति तोडिनु पर्ने उनले बताइन् । वर्तामानको जस्तो छलकपटको अन्य र विश्वासको वातावरण हुनुपर्ने ।
मकवानपुर । ज्योति माध्यमिक विद्यालय हर्नामाडीमा साहित्यिक प्रशिक्षण कार्यक्रम भएकाे छ । विद्यालयको आयोजनामा बुधबार अनलाइन साहित्यिक प्रशिक्षण कार्यक्रम सञ्चालन भएको हाे ।
काव्य विधा अन्तर्गतका कविता, गजल र मुक्तक केन्द्रित साहित्यिक प्रशिक्षण भएकाे हाे । साहित्यिक प्रशिक्षणकाे सहजीकरण मकवानपुका कवि सुवास खनालले गरेका थिए । ९० जना सहभागीता रहेको उक्त कार्यक्रममा विद्यालयका शिक्षक , अभिभावक तथा विद्यार्थीहरू उपस्थित रहेका थिए ।
नियमित शिक्षण बाहेक विद्यालयले हरेक हप्ता सिकाइ सहजीकरणअन्तर्गतको १ र अतिरीक्त क्रियाकलाप अन्तर्गतको १ गरी २ वटा कार्यक्रम सञ्चालन गर्दै आएकाेमा साहित्यिक सिकाइ सहजीकरण कार्यक्रमकाे खनालले काव्य विधा अन्तर्गतकाे साहित्यिक विधागत प्रशिक्षणको सहजीकरण गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको संयोजन विद्यालयका सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले गरेका थिए। अध्यक्ष रम्तेलले ज्योति माध्यमिक विद्यालय सिर्जनात्मक गतिविधि सञ्चालनका निम्ति सधैँ तत्पर रहेको बताए । सहायक प्रधानाध्यापक चौलागाईँले विद्यालयले परीक्षाफल पनि अनलाइन माध्यमबाट प्रकाशन गर्न सफल भएको र नयाँ शैक्षिक वर्षका कक्षाहरू पनि अनलाइन माध्यमबाटै सञ्चालनमा आइसकेको जानकारी गराएका थिए ।

कार्यक्रममा अङ्ग्रेजी विभागीय प्रमुख उमेश पराजुली र शिक्षक सुलोचना घलानले मन्तव्य राख्नुभएको थियो । साथै विद्यालयकी छात्रा दृष्टि धिमालले अङ्ग्रेजी भाषाको कविता वाचन गरेकी थिइन् । कार्यक्रममा शिक्षकहरू अनु रोक्का ,अश्विनी अर्याल, जीवन गुरुङ , युवराज लोप्चन , सपना माल्बुले लगायतको सहभागिता रहेको थियो ।
बालबालिकाको सवालमा भर्चुअल अन्तरक्रिया
Tags: No Comments
मकवानपुर/ कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा मकवानपुरको विभिन्न बालगृहहरुमा बस्दै आएका बालबालिकाहरुको अवस्था बारे अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
मकवानपुर जिल्लाका बालगृह संचालक र मानव अधिकार संरक्षण तथा मानब वेचबिखन बिरुद्धको सन्जाल का पदाधिकारीहरु विच सोमबार भर्चुअल अन्तर्कृयात्मक कार्यक्रममा गरिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीमा बाल्बालिकाहरुको सुरक्षा के कसरी गरिएको छ र बालबलिकाहरुको बहुआयामिक क्षेत्र लाई कसरी ब्यवस्थित गरिएको भन्ने बिषयमा छलफल तथा आगामी दिनमा बालबालिका लक्षित योजना र कार्यक्रम बनाउदा समाबेश गर्नु पर्ने विषयमाथि सुझाव प्राप्त गर्ने उद्देश्यले कार्यक्रम गरिएको थियो ।
संघीय सरकारले उपलब्ध गराउन पर्ने भ्याक्सिन लगाउन नपाउनाले कोभिडको जोखिम बढी भएको भन्दै सहभागीहरुबाटले गुनासो गरेका थिए । कार्यक्रममा मकवानपुरका ८ वटा बालगृह संचालकहरुले आ–आफ्नो बाल गृहको वर्तमान अवस्था बारे जानकारी गराएका थिए ।
हाम्रो घर बालगृहकी सन्चालक इन्दिरा डल्लाकोटीले १६ जना बाबु र ११ जना नानीलाई महामारीबाट बचाउँन बाहिरको मान्छेसँगको भेट प्रतिबन्ध गरेको बताइन् । उमेर अनुसार बालबालिकाहरुलाई खेल्ने र पढ्ने समयको व्यवस्थापन गरिएको उनले बताइन् ।
औपचारिक कक्षाहरु बन्द रहेकोले बालगृह मै आश्रित ठुलो कक्षामा अध्यनरत बालबालिकाहरुले सानो कक्षामा अध्ययनरत बालबालिकाहरुलाई नियमित सिकाइमा सहयोग गरिरहेको उनले बताइन् । यसैगरी नारी संरक्षण केन्द्रका कार्यक्रम संयोजक राम मिजारले २६ बालिका र २ बालक गरी हाल २८ जनालाई हप्तामा ३ वा ४ पटक आवश्यक बिषयमा परामर्श गर्ने गरिएको र अरितिक्त कृयाकलापमा ब्यस्त गराउँने गरिएको बताए । ‘विभिन्न उमेरका बालबालिकाको समुह बनाइ उत्प्रेरित गराउँदै कोभिड बाट बचेँर बसेका छौं’ मिजारले भने ।

यसैगरी मामाघर नेपालका अर्पण पराजुलीले बालकहरुलाई अतिरिक्त कृयाकलापमा ब्यस्त
गराउनेमा बढी ध्यान दिएको बताए । मामाघर नेपालमा हाल १८ जना बालकहरु आश्रित छन्।यसैगरी शान्ता घर बालगृहका कार्यालय प्रमुख केदार आचार्यले हाल २० जना बालिकाहरु गृहमा रहेको र उनीहरुलाई यो महामारीको कारण हालसम्म कुनै समस्या नभएको बताए ।
मानव अधिकार संरक्षण तथा मानब वेचबिखन बिरुद्धको सन्जाल का उपाध्यक्ष माया लामा,सचिब जगन्नथ सुबेदी, सदस्य कुमारी लामा, बाल कल्याण समाजका प्रकाश खतिवडा, शेयर एन्ड केयरका कृष्ण श्रेष्ठ, नारी सीप सृजना केन्द्र अध्यक्ष सरस्वती बर्तौलालगायतले संस्थाले बालबालिका केन्द्रित कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
सञ्जालकै सदस्य संस्था सिविन बाल हेल्प लाइन मकवानपुरका प्रमुख तथा बगमती प्रदेश बाल अधिकार समितिका सदस्य झविन्द्र ज्ञवालीले लकडाउनको अवस्थामा भएका बाल संरक्षण र उद्धारका घटना जानकारी गराएका थिए । लकडाउनको अबधिमा मकवानपुरका हेटौंडा, मकवानपुर गढी, बकैया र मनहरिमा ४ वटा हुन लागेका बाल विवाहको घटनालाई
रोक्न सफल भएको ज्ञावलीले बताए ।
बालगृह सञ्जाल मकवानपुरको अध्यक्ष समेत रहेका ज्ञवलीले बालगृहका बिषयमा सबै सरोकारवालाहरुसँग सहकार्य गरिने बताए । ज्ञावलीले बालगृहमा आश्रित बालबालिकाहरुको लागि बाल कानूनी साक्षरता कक्षा सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) का फिल्ड अफिसर अधिवक्ता जगन्नाथ सुबेदीलाई लकडाउनको अवस्थामा बाल गृहमा बसेका बालबालिकाको निम्ती बाल कानुनी साक्षरता बारे भर्चुअल कक्षाहरु नियमित रुपमा चलाउनु आवश्यक भएकोले यस्तो कार्यक्रम गर्नको लागि अनुरोध समेत गरे ।
हेटौंडा उपनगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णु कुमारी लामिछानेले बाल गृह र अन्य संस्थाको कार्यसम्पादन र भावी योजनाको बारेमा आगामी समयको निम्ती उपयुक्त्त कार्यक्रम योजना तर्जुमाको गर्न सुझाब दिएकी थिइन् । हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाको आयोजना र सिविन नेपाल बाल हेल्प लाइनको संयोजनमा कार्यक्रम भएको थियो । तस्बिरःझविन्द्र ज्ञावलि
मकवानपुर । हेटाैडा उपमहानगरपालिका– २ मा रहेकाे सिद्धार्थ माध्यामिक विद्यालयमा स्थानीय तहले विद्यालय व्यवस्थापन समिति गठन गरी अध्यक्ष नियुक्त गरेपछि यसकाे बदर गर्न माग गरिएकाे छ ।
हेटौडा उपमहानगरपालिकाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेपछि बदरकाे माग गरिएकाे हाे । हेटाैडा उपमहानगरपालिकाकाे नगर शिक्षा समितिकाे निर्णयानुसार २ नं. वडा कार्यालयले जेठ २ गतेकाे पत्रबाट सिद्धार्थ माध्यामिक विद्यालयमा पुरानै समितिका पदाधिकारी रहने गरी अस्थायी समिति गठन गरी अध्यक्ष समेत नियुक्ती गरिएपछी केही अभिभावकले साे विरूद्ध ध्यानाकर्षण भएकाे बताउँदै पत्रकार सम्मेलन गरी अध्यक्ष नियुक्ति बदर गर्न माग गरेका हुन् ।
विद्यालयले गत पुस २४ गते अभिभावक भेला गरी विद्यालय व्यवस्थापन समितिकाे म्याद समाप्त भएकाेले निर्वाचन कमिटी गठन गरी अभिभावक मध्येबाट उमेदवारी दिन लगाइएकाेमा २६ जनाकाे उमेदवारी दर्ता भएकाे थियाे । तर लामाे कसरतमा उम्मेदवारहरूबीच सहमति हुन नसेकाे भन्दै पहिलेकाे अध्यक्षलाइ नै अस्थायि अध्यक्षमा पुन नियुक्ती गरिएकाे थियाे ।
शिक्षा ऐन विपरीत कदम चाल्न लागेकाेले पटक पटक त्यसकाे विराेध गर्दै आएकाे र स्थानीय तहबाटै गलत कामलाइ साथ दिएपछि आफूहरू त्यसकाे विराेधमा उत्रेकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ । पटक पटक छलफल गर्दा निवर्तमान अध्यक्ष मधु बजगाँइकाे विकल्पमा अन्य व्यक्तिकाे नाम सहमति जुट्ने अवस्था रहँदा रहँदै विद्यालय प्रशासनबाट वडा कार्यालयलाइ पत्राचार गरिएकाे प्रति समेत ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
साथै हुदै नभएकाे अभिभावकलाइ अभिभावक भएकाे देखाउँन विद्यालयका प्रध्यानाध्यापकले विद्यार्थीकाे कृर्ते हाजिर समेत गराउने गरेकाे विज्ञप्तिमा भनिएकाे छ । यसैगरी हेटाैडा उपमहानगरपालिका २ नं. वडा कार्यालयले अहिले बनाएकाे अस्थायी विद्यालय व्यवस्थापन समितिका ३ जना सदस्य समेतले राजिनामा दिएका छन् । ‘गलत क्रियाकलापमा संलग्न विद्यालयका प्रअकाे राजिनामा र याेग्यता नपुगेका व्यक्तिलाइ गरिएकाे अध्यक्षकाे नियुक्ती बदरकाे गरी यथाशीघ्र विद्यालय व्यवस्थापन समिति गठनकाे लागि हामी जाेडदार माग गर्दछाै’ विज्ञप्तिमा भनिएकाे छ ।
सम्बन्ध र सन्तान
Tags: No Comments
‘बाल बालिकाको सर्वोत्तम हितको कुरा म बेला बेलामा यस्तै कार्यक्रममा सुन्छु, अभिभावकहरु, शिक्षकहरु, अधिकारकर्मीहरुबाट सबैले बालबालिकाको हितको कुरा गर्नु पर्छ भन्ने गरेका छन्, तर आफ्नै घरमा आमाबुबाको सम्बन्धबाट पीडित बालबालिकाको हितको लागि कस्ले के गर्ने ?’
एउटी १८ वर्षिया नानीको यो सवालले मलाई चसक्क छोयो । भर्चुअल माध्यमबाट सञ्चालित कार्यक्रममा उनी बोलिरहेकी थिइन् । क्यामरा अन नभएकोले उनको अनुहार मैले देख्न पाइन । तर, उनको बोलिको गतिले म आभाष गर्दै थिएँ कि उनको आँखा पनि रसाएका छन् ।
‘गाउँपालिका अध्यक्ष ज्यूलाई मेरो यो प्रश्न’ उनले यति बेलेर माइक पनि अफ गरिन् । लगत्तै मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमगाई बोले । ‘बालबालिकामाथि हुने हिंसा, मानसिक टर्चर तथा पारिवारीक बेमेलको कारण सिर्जना हुने कठिन अवस्थाहरुमा हामी सधैं चनाखो छौ । स्थानीय टोल विकास संस्था, वडा कार्यालयले यो समस्याको समाधान गर्न सक्छ, नत्र गाउँपालिकाले नै पनि विवाद मिलाउने काम गर्छ । यो भन्दा महत्वपूर्ण कुरा हामी सिङ्गाे गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणाको तयारीमा छौ । यो अघि यस्ता समस्या समाधान हुनेछ ।’ अध्यक्षको पनि कुरा टुङ्गियाे ।
आमा बुबालाई सम्बन्ध टुटाउनको लागि अदालतको ढोका खुल्नु नै नानी बाबुहरुको भविष्यको धेरै संभावनाहरुको ढोका बन्द हुन सक्ने जोखिम बढ्नु हो ।
गाउँपालिका अध्यक्ष ज्यूको यि कुरा ति नानीले बुझिन् या बुझिनन् । उनको चाहेको प्रश्नको पूर्ण उत्तर यो थियो कि थिएन, उनले कति गहिरायि चाहेकी थिइन् ? कस्तो घटनाको बारेमा अग्रजसँग के सहयोग चाहन्थिन् गहिरायीमा कोही कसैले जान्न चाहेनन् । या त्यो उपर्यक्त समय भएन । त्यसपछि ति बालिकाले प्रतिप्रश्न पनि गरिनन् । उत्तरले चित्त बुझ्यो वा आफैं मन बुझाएर बसिन् ।
कार्यक्रम अगाडि बढ्दै रह्यो । बालअधिकारकर्मीहरु विभिन्न सवालमा अन्तरसंवाद गरिरहे । यो बिचमा मेरो मानसपटलमा भने धेरै प्रश्नहरु मडारिरहे ।
जीवन सधैं सरल रेखामा सहज गतिमा कहाँ बग्दछ र ? चाहेर वा नचाहेर जीवनको गति प्रायः सधैं बक्र रेखामा आफ्नै गतिमा बढीरहन्छ । ‘सम्बन्ध’ मात्रै जुन यस्तो कुरा हो, यसले बक्ररेखामा कष्टकर बन्ने जीवनलाई सहज बनाउन सक्दछ । जतिवटा पय लगाए पनि डोरीको एकै गाँठो भने झै जतिवटा सम्बन्धहरुको पयबाट जीवन डोर्याउँदै रहेपनि सहज बनाउने जीवनको डोरीमा एउटै गाँठो भनेको नै ‘सम्बन्ध’ हो । डोरीको कुनै ‘पय’ मा कुहिएको ‘गाँस’ पर्न जाँदा त्यहाँनेर डोरी कमजोर हुन्छ, सबै पयहरु उत्तिय बलियो नमक्किएको पर्यो भने, सिङ्गाे डोरीले धेरै भारीहरु बोक्न सक्छ ।
जुन भारीलाई भारीको रुप दिन,कसिलो बनाउ, डोरीलाई डोरीको रुपमा राख्ने सबैभन्दा महत्वपूर्ण काम त्यहीँ एउटा गाँठोले गर्दछ । अर्थात् जीवनमा ‘सम्बन्ध’को गाँठो । त्यही सम्बन्ध पनि चाहे जस्तो हुन सक्दैन । या भनौ चाहे जस्तो बनाउन सकिएन भने जीवन कहाँनेर चुडिने हो पत्तो हुन्न,बिचमा मक्किएको गाँसको पय परेको डोरी जस्तै । १८ वर्षिया ती नानीले उठाएको त्यो सवालमा मेरो मथिङ्गल अझै पनि रगमगाइरह्यो । साँच्चै सम्बन्ध संधै सुमधुर रहंदो हो त, हजारौं नानीबाबुको जीवन कस्तो मज्जाले फक्रँदो होला है खुल्ला आकाशमा । कति प्रगति गर्दा हुन् तिनीहरुले खुलेर यो धरतीमा ।
जीवन सधैं सरल रेखामा सहज गतिमा कहाँ बग्दछ र ? चाहेर वा नचाहेर जीवनको गति प्रायः सधैं बक्र रेखामा आफ्नै गतिमा बढीरहन्छ । ‘सम्बन्ध’ मात्रै जुन यस्तो कुरा हो, यसले बक्ररेखामा कष्टकर बन्ने जीवनलाई सहज बनाउन सक्दछ ।
आमा बुबाको सम्बन्धकै कारण बालबालिका पीडित हुनुपर्ने यो जत्तिको विडम्बना अर्को के होला र? जन्मदाताले नै सन्तानलाई बेवास्ता गर्दाको मार्मिक पीडामा जकडिएर हुर्किएपछि त्यो सन्तानले भोलीको भविष्य कस्तो बनाउँला ? उसलाई शिक्षाको प्रयाप्त ज्योती कसरी प्राप्ता होला ? आमा बुबा जसले संसार टेकाउँछन्, उनीहरु हुदाँहुदै उनीहरुबाट आभाष हुन नसकेको आफ्नोपन अरु को बाट प्राप्त गर्नसक्लान् यस्ता बालबालिकाहरुले ।
अर्को घटनाको याद आयो ।
केही दिन अगाडि जिल्ला अदालत परिसर पुग्दा एक जना अधबैंसे पुरुष भेटिए । साथमा थिइन् सानी नानी । नजिकै थिइन् अर्की अधबैंसे महिला । साथमा आएका अन्य केही महिलाहरुको गुनगुन आवास सुनेर थाहा लाग्यो कि उनीहरु सम्बन्ध विच्छेदको लागि अदालत परिसरमा थिए ।
कोरोना महामारीको कारण अघिल्लो वर्षको लकडाउनमा घरैबस्दै बिग्रेको अरे सम्बन्ध ।
‘कसरी के भयो र’ मैले जान्न चाहे ।
‘अघिपछि त खाना खायो अफिस गयो, साँझमा घर आयो, थोरै समय हुने भेट खासै तनाव दिन्नथ्यो, लकडाउनको समयमा अति नै भयो, बच्चाको अगाडि सधैंभरी झगडा, अनि छुट्टीन थालेको ।’
ति महिलाको आफन्त रहेछिन् अर्की महिलाले एकै स्वाशमा यत्ति भनिन् ।
‘कति वर्ष भयो विहे भएको ?’
‘१३ वर्ष, लब म्यारिज, पहिलो अति राम्रो थ्यो, पोहोरबाट खै के भयो उनीहरु नै जानुन्’ ती महिलाले थपिन् ।
‘अनि बच्चा ?’ मैले सोधे ।
‘९ वर्षकी नानी छ, खै अदालतले के भन्छ कुन्नि ।’
घडी हेर्दै उनीहरु अदालतभित्र पसे । म गेटबाट बाहिरीएँ ।
म गेटबाट त बाहिरीएँ तर मन बाहिरिन पटक्कै मानेन । आँखामा ति ९ वर्षिया नानी घुमिरहिन् ।
…… फुलबुट्टे पिङ्क कलरको फ्रक लगाएकी, पँहेलो फूलवाला हेडबिन शिरमा अड्याएर कपाल छाडेकी, सामान्य चप्पल, आँखामा गाजल लगाएकी ती नानी । अब ति नानीले बाबाबाट आमा बाबा दुबैको वा आमाबाट बाबा आमा दुबैको माया कसरी पाउलिन् ?
जसरी आमा बाबाले सहजै सम्बन्ध छुटाउनको लागि अदालतको बाटो रोजे, के ती नानीको जीवन पनि सहजै अगाडि बढ्ला त ? यो अघिल्लो वर्षको कोरोना महामारीले निम्त्याएको घटना थियो त्यो । हामी फेरि निषेधाज्ञाको परिधिमा छौ । यस वर्ष फेरि कोरोना महामारीको झनै डरलाग्दो चपेटामा परेका छौ । थाहा छैन, यस्ता हजारौं नानीबाबुहरुको आमा बुबाले सम्बन्धलाई समझदारीमा अगाडि बढाउन नसकेकै कारण अदालतको ढोका ढकढक्याउने छन् । बस् उनीहरुलाई अदालत खुल्ने दिनको प्रतिक्षा छ सायद । आमा बुबालाई सम्बन्ध टुटाउनको लागि अदालतको ढोका खुल्नु नै नानी बाबुहरुको भविष्यको धेरै संभावनाहरुको ढोका बन्द हुन सक्ने जोखिम उत्तिकै बढ्नु हो (मेरो बुझाइमा, केही अवस्था फरक पनि हुन सक्लान् ।)
सम्बन्धको डोरी कसिलो बनाउनको लागि समझदारी, अर्थात एकापसको बुझाइ अनिवार्य सर्त रहन्छ । ढुङ्गाेलाई माटोको भर भनेझौ दुबैलाई दुबैको आड–भरोस, भर–थेग हुँदा मात्रै सम्बन्धमा मिठास जन्मन्छ । र, त्यही मिठासमा सन्तानको भविष्य फक्रन्छ निस्फिक्रीले । एउटाले अर्कोको आवश्यकता, दुख पीडा, पीरमर्कामा साथ नदिने हो भने किन देखावाटी सम्बन्धमा रहनु भन्ने धारणा बढेको छ । आमा बुबाको सम्बन्ध आफैंमा सन्तुष्टि हुन सकेन भने सन्तानको सउज्वल भविष्य कसरी संभव छ । झ्वाट्ट सुन्दा सामान्य लागेपनि यहाँ सबैभन्दा गहिरो कुरा सेचना कै अभाव छ । के श्रीमान् श्रीमतीको सम्बन्धलाई समझदारीमा कसिलो बनाउने कुरामा दुबै सचेत भैदिए सम्बन्ध समझदारीमा चल्दैनथ्यो होला त ? यसो भन्दैमा महिलामाथि हुने हिंसा सहेरै बसौ भन्न खोजिएको अर्थ नलगाइयोस् । आमाबुबा सेचत भएमा बालबालिकाहरु आफ्नो अभिभावकहरुको आफ्नोपन नपाएर बैचैन हुनुपर्ने अवस्था आउँन्न ।
पुनः त्यहीँ १८ वर्षिया नानीको सवालमा फर्कन चाहन्छु, ‘आफ्नै घरमा आमाबुबाको सम्बन्धबाट पीडित बालबालिकाको हितको लागि कस्ले के गर्ने ?’ आमा बुबाबाहेक अन्य पक्षको जिम्मेवारी छ कि छैन यहाँ ? अहिले कोरोना महामारीको कारण सबै बालबालिका घरको चौघेरामा सिमित बस्न बाध्य छन् । उसैपनि उनीहरुलाई घर भित्र भन्दा बाहिर रमाएको आदत बढी छ । स्कुलको कक्षा कोठा, चौर, अतिरीक्त कक्षाहरु, घर–छिमेकको खेल मैदानहरु साथीभाइहरु सबैलाई बिरानो मान्न बाध्य छन् आजको परिस्थितीमा बालबालिकाहरु । यतिमात्रै हैन दैनिक सयौं बालबालिकाहरु कोरोना संक्रमणबाट पीडित भइरहेका छन्, कतिले त अभिभावकाको न्यानो काम समेत गुमाइसकेकका छन् कोरोनाकै कारण । यो सकसपूर्ण घडीमा सबै सन्तानको रक्षा गर्नु जरूरी छ, बालबालिकाहरूलाइ उनीहरूकाे इच्छा अनुसार रमाउने वातावरण प्रदान गर्दै सिप कला काैशलतालाइ प्राेत्साहन गर्दा मात्रै पनि सकारात्मक प्रभाव पर्नसक्छ ।

अब यहाँनेर बालबालिकाको सर्वोत्तम हितको सवाल के हो ? कसले ध्यान दिने यस्तो
परिस्थितिमा बालबालिकाको हितको खातिर ? महामारीको कारण त्रसित बालमनोविज्ञानको लागि कसले के गर्ने ? स्वास्थ्य स्वस्थ बालबालिकाहरुको लागि मानसिक स्वास्थ्य पनि ठिक राख्न घरलु वातावरण ठिक राखेर पनि धेरै हदसम्म अभिभावकले भूमिका निर्वाह गर्न सक्छन् ।
बालबालिकाहरुलाई उनीहरुको इच्छा अनुसारको गतिविधिमा संलग्न हुन प्रेरित गर्ने, उनीहरुसँगै खेल्ने रमाउने गरिदिँदा नै पनि धेरै हदसम्म उनीहरुको बैचेनलाई कम गर्न सकिन्छ ? टोल टोलमा स्थानीय सरकार छ । यो अवस्थामा बालबालिकालाई घरैमा रहेर रमणीय वातावरणमा सिकाइलाई बढावा दिने प्रकारको कार्यक्रमहरु ल्याउनु पर्छ । बालअधिकारको क्षत्रमा कार्यरत संघसंस्थाहरुले बालबालिकाको आन्तरीक क्षमता प्रस्फुटको लागि कार्यक्रमहरु सञ्चारमाध्यमार्फत गर्न सक्छन् । यो विषय अवस्थालाई अवसरको रुपमा लिने सकिने प्रकारको कार्यक्रमहरु ल्याउन किन पहल नगर्ने ? (सहीखबर साप्ताहिकको प्रिन्ट संस्करणबाट)