मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा भएकाे सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी चर्च ब्वाइज युनाइटेडले हात पारेका छ । । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधि पोल्टामा पारेकाे हाे ।
सोमबार भएको फाइनल खेलमा साबिक विजेता मच्छिन्द्र क्लबलाई १-० गोलले पाखा लगाउँदै चर्च ब्वाइजले उपाधि जीतेकाे हो । बागमती गाउँपालिका–४, झुरझुरेस्थित शहीद स्मृति रंगशालामा भएकाे फाइनल उपाधि जीतसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाउँदै मछिन्द्रले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
चर्च ब्वाइजलाई उपाधि दिलाउन खेलको ४७ मिनेटमा समीर तामाङ गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच तामाङ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–२ गोलले हराउँदै चर्चब्वाइज फाइनलमा प्रवेश गरेको थियो । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई ३–१ गोलले हराउँदै साविक विजेता मछिन्द्रले फाइनल चर्चब्याइजसँग भेट पक्का गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै टेकेन्द्र थापा, डिफेन्डर मच्छिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मच्छिन्द्रकै रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
गाउँपालिकाकाे खेलकुद विकास समितिको आयोजनामा भएकाे प्रतियोगितामा ७ वटा विभागीय क्लब तथा ३ वटा मोफसलका क्लबकाे सहभागिता रहेकाे थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा भएकाे जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि शारदा माध्यमिक विद्यालयले हात पारेकाे छ । जितेको छ । पाँचौं संस्करण शिक्षक भलिबल प्रतियोगिताकाे उपाधी मकवानपुरगढी गाउँपालिका ५ स्थित शारदा माविले जितेकाे हाे ।
प्रतियोगिता अन्तरगत आइतबार भएको फाइनलमा बकैया गाउँपालिकाकाे महेन्द्र माध्यमिक विद्यालयलाई ३–० काे सोझो सेटले हराउँदै शारदाले उपाधि जितेको हो । शरदा माविले २५–१४, २५–२२ र २५–१९ को सोझो सेटमा नतीजा आफ्नो पक्षमा पारेको थियाे । उपाधि विजेता बन्दै शारदाले २५ हजार रुपैयाँ हात पारेकाे छ । यसैगरी उपविजेता चित्त बुझाएकाे महेन्द्रले १५ हजार रुपैयाँ प्राप्त गर्याे ।
यसैगरी सेमिफाइनल खेलमा पराजित हेटौंडा–५ काे जीएस निकेतन र मकवानपुरगढी ३ काे भानु माविले ५/५ हजार रुपैयाँ नगद प्राप्त गरे । जिएस निकेतनलाई २५–१८, २५–२२ को सोझो सेटले पराजित गर्दै शारदा फाइनल प्रवेश गरेको हो । यस्तै भानु माध्यमिक विद्यालय मक्रान्चुलीलाई २५–१४ र २५–२२ को सोझो सेटले पराजित गर्दै महेन्द्र फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै शारदा माविको आशिष घलानले ३ हजार रुपैयाँ पुरस्कार हात पारे । उत्कृष्ट स्पाइकरमा शारदाकै अमर गोले र उत्कृष्ट सेटरमा महेन्द्र माविका प्रकाश थापा मगर हुँदै २/२ हजार रुपैयाँ प्राप्त गरे । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविको सहव्यवस्थापनमा भएकाे प्रतियोगितामा मकवानपुरका २४ वटा विद्यालयले सहभागिता जनाएका शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालले जानकारी दिए ।
शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दहालको अध्यक्षतामा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता रामेश्वर रानाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियाे । कार्यक्रममा हेटौंडा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईं, प्रतियोगिता संयोजक राजाराम पोखरेल, वडा सचिव पुष्पराज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा कला साहित्य महोत्सव हुने भएको छ । मकवानपुरको साहित्यिक संस्था झरना साहित्यिक परिवारको आयोजनामा बकैया–कला साहित्य महोत्सव–२०८१ हुने भएको हो ।
झरना साहित्यिक परिवारको ३१३ औँ साहित्य शृङ्खला एवम् ३२ औँ वार्षिकोत्सवका अवसरमा आगामी १६ र १७ फागुनमा बकैया–कला साहित्य महोत्सव–२०८१ आयोजना गरिने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
बकैया–५ स्थित कर्मप्राप्ति माविमा हुने महोत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन हुने आयोजक सस्थाका सचिव मसान उपासकले जानकारी दिएको छ ।
कर्मप्राप्ति माविको सहकार्यमा हुने महोत्सवमा बकैया गाउँपालिका सहयोग रहने उपासकले बताए ।
११ विद्याका सम्मान प्रदान गरिने
कला महाेत्सवमा विभिन्न ११ विधामा सम्मान प्रदान गरिने भएकाे छ । साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गगरेकाे होमनाथ–टीकामाया प्रतिभा सम्मान भैरहवाका स्रष्टा प्राडा कपिल लामिछानेलाई प्रदान गरिने भएको छ । उक्त सम्मानकाे राशी नगद २१ हजार १ सय २१ रुपैंया रहेकाे छ ।
त्यस्तै साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिता नाममा स्थापना गरेको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८१ इलामका शिव अधिकारीलाई प्रदान गरिने भएको छ । १५ हजार ५ सय ५५ रुपैंया राशिको उक्त पुरस्कार चैतको चौथो शनिबार हेटौंडामा आयोजना हुने मुक्तक साँझमा प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित पुरस्कार नगद रू. १५ हजार ५ सय ५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८१ मकवानपुरका मुक्तककार देवराज खरेललाई प्रदान गरिने भएको छ ।साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित नगद रू ८ हजार ५ सय राशि सहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८१ मकवानपुरका बिर्खे अञ्जानलाई प्रदान गरिने भएको उपासकले बताए ।
साहित्यसेवी राजन दङ्गालले आफ्नो दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको नगद रू. ७ हजार ७ सय ७७ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८१ गजलकार बबी थापालाई प्रदान गरिने छ । साहित्यसेवी तुलसी गिरीद्वारा स्थापित ७ हजार ७ सय ७७ रुपैंया राशिको सञ्जीवनी बुटि साहित्य सम्मान–२०८१ बाराका नियात्राकार अप्सरा पुडासैनीलाई प्रदान गरिने छ ।

मकवानपुरमा रही यस संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत पत्रकार प्रदान गरिने स्व. गोकर्ण गौतमको परिवारद्धारा स्थापना गरिएको ११ हजार १ सय ११ रुपैंया राशिको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८१ मकवानपुरका पत्रकार ज्योति न्यौपानेलाई प्रदान गरिने उनले जानकारी दिए ।
बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका ५ हजार ५ सय ५५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८१ पुरस्कार सन्तोष विकलाई प्रदान गरिने भएको छ । बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापित ७ हजार ७ सय ७७ रुपैंया राशिकाे खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८१ गरेको पुरस्कार मुर्तिकार ओमभक्त भण्डारीलाई प्रदान गरिने भएको छ ।
साहित्यकार जनार्दन खनालले आफ्ना मातापिताको नाममा स्थापना गरेको ७ हजार ७ सय ७७ रुपैंया राशिकाे ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८१ ललितपुरका रत्न विरही घिमिरेलाई प्रदान गरिने भएको छ । बकैया गाउँपालिकाभरीका विद्यालयमध्ये उत्कृष्ट शिक्षक सम्मान –२०८१ बुद्ध माविका हरि घिमिरेलाई प्रदान गरिने भएको छ ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष विश्वनाथ सन्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने लगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुर हेटौंडाकाे भएकाे यु–१६ फुटबल प्रतियोगिताको उपाधि हेटौंडा १५ नम्बर वडाले हात पारेकाे छ । उपमहानगरपालिका स्तरीय अनुपम घलान स्मृति प्रतियाेगिता अन्तरगत शनिबारकाे फाइनलमा हेटौडा १८ नम्बर वडालाई सडन डेथमा पराजीत गर्दै हेटौंडा–१५ ले उपाधि जितेको हो ।
खेलकाे निर्धारित समय गोलरहित बराबरीमा राेकिएपछि टाइब्रेकरमा धकेलिएकाे थियाे । टाइब्रेकरमा दुबै टोलीबाट ४–४ गोल गरेपछि नतिजाकाे लागि सडन डेथकाे साहारा लिइएकाे थियो । सडन डेथमा हेटौंडा–१५ विकास थिङले प्रहार गरेको बल गोलमा परिणत भएसँगै उस्ले उपाधि माथि कब्जा जमाएकाे हो । उपाधिसँगै हेटौंडा–१५ ले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेतामा चित्त बुझाएकाे हेटौंडा–१८ ले ७० हजार रूपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै हेटौंडा–१८ का अभिराज थापा मगरले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको हेटौंडा १५ का उत्कृष्ट प्रशिक्षक उज्जव वाईवा, उत्कृष्ट फरवार्ड रेहान घलान, उत्कृष्ट गोलरक्षक विकेश थिङ, उत्कृष्ट डिफेन्डर नविन लो घोषित भए ।
हेटौंडा–१८ का साजन लोप्चन उत्कृष्ट मिडफिल्डर घोषित भए । विधागत उत्कृष्ट प्रशिक्षक तथा खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरे । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिकाे आयोजना गरेको प्रतियोगितामा १० वटा वडाकाे टिमको सहभागिता रहेको थियो ।
झुरझुरे बागमती । साविक विजेता मछिन्द्र फुटबल क्लब काठमाडौं साताैं संस्करणकाे बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फाइनल प्रवेश गरेकाे छ । प्रतियोगिता अन्तरगत शनिबार भएकाे अन्तिम सेमिफाइनलमा थ्रीस्टार क्लब ललितपुरलाई ३–० गोलले पाखा लगाउदैं मछिन्द्र उपाधी नजिक पुगेकाे हाे ।
बागमती–४ स्थित शहीद स्मृति रंगशालामा भएकाे खेलमा साविक विजेता मछिन्द्र क्लबले चौथो संस्करणकाे गोल्डकप विजेता थ्री स्टारलाई पराजीत गरेकाे हाे । थ्रीस्टारका लागि खेलकाे पहिलाे हाफकाे ३७ औं मिनेटमा एलेक्सले १ गोल गर्दैं सुरुवाती अग्रता लिएका थिए । सुरुवाती अग्रता बनाएको थ्रीस्टारले अग्रता कायम राख्न भने सकेन । मछिन्द्रकाे जीतमा खेलकाे बयालिसौं मिनेटमा शिशिर लेखीले गोल गर्दै खेललाई बराबरी पुर्याएका थिए ।
खेलकाे दोस्राे हाफमा ५१ औं मिनेटमा मछिन्द्रका समिरराज थोकरले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै खेलकाे ८९ औं मिनेटमा मछिन्द्रका स्टेफेनले थप १ गाेल गर्दै अग्रता बढाएका थिए । थ्रीस्टारले १ गोल पछि खेलका फर्कने प्रयासका बावजुत सकेन । दोस्राे सेमिफाइनलकाे म्यान अफ दी म्याच मछिन्द्रका टिम क्याप्टेन देवेन्द्र तामाङ घाेषित भए । उनले १० हजार रुपैंया हात पारे ।
फाइनल प्रवेशसँगै मछिन्द्रले फाइनलमा पहिलो चर्च व्वाइज युनाइटेडसँगकाे भेट पक्का गरेकाे छ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–२ गोल अन्तरले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा स्थान बनाएकाे थियाे । साेमबार हुने फाइनलमा उपाधी रक्षाका लागि प्रतियाेगितामा पहिलाे पटक सहभागी चर्च व्वाइज र मछिन्द्र भिड्ने छन् ।
प्रतियोगितामा मछिन्द्रले सर्लाहीको बागमती युवा क्लबलाई र थ्री स्टारले हिमालयन शेर्पालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । गत संस्करणमा मछिन्द्रले विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै उपाधी जितेको थियो भने थ्री स्टारले चौथो संस्करणमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै उपाधी जितेको थियो ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियाेगितामा ७ विभागीय टोली तथा ३ वटा माेफसलकाे टाेलीले सहभागिता जनाएका थिए ।