मकवानपुर । मकवानपुर हेटौंडाकाे भएकाे यु–१६ फुटबल प्रतियोगिताको उपाधि हेटौंडा १५ नम्बर वडाले हात पारेकाे छ । उपमहानगरपालिका स्तरीय अनुपम घलान स्मृति प्रतियाेगिता अन्तरगत शनिबारकाे फाइनलमा हेटौडा १८ नम्बर वडालाई सडन डेथमा पराजीत गर्दै हेटौंडा–१५ ले उपाधि जितेको हो ।
खेलकाे निर्धारित समय गोलरहित बराबरीमा राेकिएपछि टाइब्रेकरमा धकेलिएकाे थियाे । टाइब्रेकरमा दुबै टोलीबाट ४–४ गोल गरेपछि नतिजाकाे लागि सडन डेथकाे साहारा लिइएकाे थियो । सडन डेथमा हेटौंडा–१५ विकास थिङले प्रहार गरेको बल गोलमा परिणत भएसँगै उस्ले उपाधि माथि कब्जा जमाएकाे हो । उपाधिसँगै हेटौंडा–१५ ले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेतामा चित्त बुझाएकाे हेटौंडा–१८ ले ७० हजार रूपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै हेटौंडा–१८ का अभिराज थापा मगरले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको हेटौंडा १५ का उत्कृष्ट प्रशिक्षक उज्जव वाईवा, उत्कृष्ट फरवार्ड रेहान घलान, उत्कृष्ट गोलरक्षक विकेश थिङ, उत्कृष्ट डिफेन्डर नविन लो घोषित भए ।
हेटौंडा–१८ का साजन लोप्चन उत्कृष्ट मिडफिल्डर घोषित भए । विधागत उत्कृष्ट प्रशिक्षक तथा खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरे । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिकाे आयोजना गरेको प्रतियोगितामा १० वटा वडाकाे टिमको सहभागिता रहेको थियो ।

