मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा भएकाे सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी चर्च ब्वाइज युनाइटेडले हात पारेका छ । । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधि पोल्टामा पारेकाे हाे ।
सोमबार भएको फाइनल खेलमा साबिक विजेता मच्छिन्द्र क्लबलाई १-० गोलले पाखा लगाउँदै चर्च ब्वाइजले उपाधि जीतेकाे हो । बागमती गाउँपालिका–४, झुरझुरेस्थित शहीद स्मृति रंगशालामा भएकाे फाइनल उपाधि जीतसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाउँदै मछिन्द्रले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
चर्च ब्वाइजलाई उपाधि दिलाउन खेलको ४७ मिनेटमा समीर तामाङ गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच तामाङ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–२ गोलले हराउँदै चर्चब्वाइज फाइनलमा प्रवेश गरेको थियो । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई ३–१ गोलले हराउँदै साविक विजेता मछिन्द्रले फाइनल चर्चब्याइजसँग भेट पक्का गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै टेकेन्द्र थापा, डिफेन्डर मच्छिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मच्छिन्द्रकै रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
गाउँपालिकाकाे खेलकुद विकास समितिको आयोजनामा भएकाे प्रतियोगितामा ७ वटा विभागीय क्लब तथा ३ वटा मोफसलका क्लबकाे सहभागिता रहेकाे थियो ।

