मकवानपुर । मकवानपुरको हेटौंडा क्याम्पसले ३५ औँ स्थापना दिवस मनाएको छ । हेटौंडा उपमहा नगरपालिका वडा नम्बर ४ मा रहेको क्याम्पसले साताव्यापी कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
क्याम्पसले ३५ औँ स्थापना दिवसका अवसरमा भएको अतिरिक्त क्रियाकलाप सप्ताहका विजयीलाई मङ्गलबार एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण तथा सम्मान गरेको हो । स्थापना दिवसको समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले देशको समग्र विकासका लागि शिक्षा क्षेत्रको विकास अनिवार्य भएको बताए ।
प्रदेश सरकारले सामुदायिक शैक्षिक संस्थाको विकासलाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोग गरिने प्रतिवद्धता उनले व्यक्त गरे । कार्यक्रममा हेटौंडा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आनन्दराम पराजुलीले हेटौंडा क्याम्पसको जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान रहेको बताए । प्रदेश सरकारले सामुदायिक क्याम्पसमा गरिने लगानीमा वृद्धि आवश्यक भएको उनले बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख बालकृष्ण शर्मा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष नमूना पाण्डे, स्वतन्त्र विद्यार्थी युनियनका सभापति अभि मैनालीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शिक्षक सेवा आयोगबाट लिइएको परीक्षामा प्राथमिक तहतर्फ १ नम्बरमा नाम सिफारिस भएका क्याम्पसका छात्रा एलिषा घिमिरेलाई सम्मान गरिएको थियो ।
क्याम्पसका अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मनोज पोखेरेलले साताव्यापी रुपमा भएको भलिवल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिण्टन लागयतका प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको जानकारी दिए ।

