मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा कला साहित्य महोत्सव हुने भएको छ । मकवानपुरको साहित्यिक संस्था झरना साहित्यिक परिवारको आयोजनामा बकैया–कला साहित्य महोत्सव–२०८१ हुने भएको हो ।
झरना साहित्यिक परिवारको ३१३ औँ साहित्य शृङ्खला एवम् ३२ औँ वार्षिकोत्सवका अवसरमा आगामी १६ र १७ फागुनमा बकैया–कला साहित्य महोत्सव–२०८१ आयोजना गरिने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
बकैया–५ स्थित कर्मप्राप्ति माविमा हुने महोत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन हुने आयोजक सस्थाका सचिव मसान उपासकले जानकारी दिएको छ ।
कर्मप्राप्ति माविको सहकार्यमा हुने महोत्सवमा बकैया गाउँपालिका सहयोग रहने उपासकले बताए ।
११ विद्याका सम्मान प्रदान गरिने
कला महाेत्सवमा विभिन्न ११ विधामा सम्मान प्रदान गरिने भएकाे छ । साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गगरेकाे होमनाथ–टीकामाया प्रतिभा सम्मान भैरहवाका स्रष्टा प्राडा कपिल लामिछानेलाई प्रदान गरिने भएको छ । उक्त सम्मानकाे राशी नगद २१ हजार १ सय २१ रुपैंया रहेकाे छ ।
त्यस्तै साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिता नाममा स्थापना गरेको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८१ इलामका शिव अधिकारीलाई प्रदान गरिने भएको छ । १५ हजार ५ सय ५५ रुपैंया राशिको उक्त पुरस्कार चैतको चौथो शनिबार हेटौंडामा आयोजना हुने मुक्तक साँझमा प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित पुरस्कार नगद रू. १५ हजार ५ सय ५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८१ मकवानपुरका मुक्तककार देवराज खरेललाई प्रदान गरिने भएको छ ।साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित नगद रू ८ हजार ५ सय राशि सहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८१ मकवानपुरका बिर्खे अञ्जानलाई प्रदान गरिने भएको उपासकले बताए ।
साहित्यसेवी राजन दङ्गालले आफ्नो दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको नगद रू. ७ हजार ७ सय ७७ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८१ गजलकार बबी थापालाई प्रदान गरिने छ । साहित्यसेवी तुलसी गिरीद्वारा स्थापित ७ हजार ७ सय ७७ रुपैंया राशिको सञ्जीवनी बुटि साहित्य सम्मान–२०८१ बाराका नियात्राकार अप्सरा पुडासैनीलाई प्रदान गरिने छ ।

मकवानपुरमा रही यस संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत पत्रकार प्रदान गरिने स्व. गोकर्ण गौतमको परिवारद्धारा स्थापना गरिएको ११ हजार १ सय ११ रुपैंया राशिको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८१ मकवानपुरका पत्रकार ज्योति न्यौपानेलाई प्रदान गरिने उनले जानकारी दिए ।
बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका ५ हजार ५ सय ५५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८१ पुरस्कार सन्तोष विकलाई प्रदान गरिने भएको छ । बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापित ७ हजार ७ सय ७७ रुपैंया राशिकाे खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८१ गरेको पुरस्कार मुर्तिकार ओमभक्त भण्डारीलाई प्रदान गरिने भएको छ ।
साहित्यकार जनार्दन खनालले आफ्ना मातापिताको नाममा स्थापना गरेको ७ हजार ७ सय ७७ रुपैंया राशिकाे ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८१ ललितपुरका रत्न विरही घिमिरेलाई प्रदान गरिने भएको छ । बकैया गाउँपालिकाभरीका विद्यालयमध्ये उत्कृष्ट शिक्षक सम्मान –२०८१ बुद्ध माविका हरि घिमिरेलाई प्रदान गरिने भएको छ ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष विश्वनाथ सन्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने लगायतकाे उपस्थिति रहेको थियो ।

