मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा भएकाे जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि शारदा माध्यमिक विद्यालयले हात पारेकाे छ । जितेको छ । पाँचौं संस्करण शिक्षक भलिबल प्रतियोगिताकाे उपाधी मकवानपुरगढी गाउँपालिका ५ स्थित शारदा माविले जितेकाे हाे ।
प्रतियोगिता अन्तरगत आइतबार भएको फाइनलमा बकैया गाउँपालिकाकाे महेन्द्र माध्यमिक विद्यालयलाई ३–० काे सोझो सेटले हराउँदै शारदाले उपाधि जितेको हो । शरदा माविले २५–१४, २५–२२ र २५–१९ को सोझो सेटमा नतीजा आफ्नो पक्षमा पारेको थियाे । उपाधि विजेता बन्दै शारदाले २५ हजार रुपैयाँ हात पारेकाे छ । यसैगरी उपविजेता चित्त बुझाएकाे महेन्द्रले १५ हजार रुपैयाँ प्राप्त गर्याे ।
यसैगरी सेमिफाइनल खेलमा पराजित हेटौंडा–५ काे जीएस निकेतन र मकवानपुरगढी ३ काे भानु माविले ५/५ हजार रुपैयाँ नगद प्राप्त गरे । जिएस निकेतनलाई २५–१८, २५–२२ को सोझो सेटले पराजित गर्दै शारदा फाइनल प्रवेश गरेको हो । यस्तै भानु माध्यमिक विद्यालय मक्रान्चुलीलाई २५–१४ र २५–२२ को सोझो सेटले पराजित गर्दै महेन्द्र फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै शारदा माविको आशिष घलानले ३ हजार रुपैयाँ पुरस्कार हात पारे । उत्कृष्ट स्पाइकरमा शारदाकै अमर गोले र उत्कृष्ट सेटरमा महेन्द्र माविका प्रकाश थापा मगर हुँदै २/२ हजार रुपैयाँ प्राप्त गरे । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविको सहव्यवस्थापनमा भएकाे प्रतियोगितामा मकवानपुरका २४ वटा विद्यालयले सहभागिता जनाएका शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालले जानकारी दिए ।
शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दहालको अध्यक्षतामा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता रामेश्वर रानाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियाे । कार्यक्रममा हेटौंडा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईं, प्रतियोगिता संयोजक राजाराम पोखरेल, वडा सचिव पुष्पराज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

