काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारले बराबरी खेलेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित प्रतियोगितामा चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तरगत आइतबारकाे खेल २-२ गोलको बराबरीमा सकिएको हो ।
सबै गोल पहिलो हाफमै भएका थिए । काठमाडौंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलमा पुगिसकेका दुई टोलीबिचको खेलमा निकै रोमाञ्चक प्रतिस्पर्धा भएकाे थियाे । घरेलु टोली छैटौँ मिनेटमा नै पछि परेको थियो । म्याट नोई खिनको फ्रिकिक गोलमा परिणत भएकाे थियाे । तर, म्यानमारको अग्रता लामो समय टिक्न सकेन ।
११ औँ मिनेटमा साबित्रा भण्डारीको शानदार पासमा सविता रानामगरले नेपाललाई खेलमा फर्काइन् । यद्यपि, १७ औँ मिनेटमा म्यानमारले पुनः अग्रता लियो । मे हेट लुले प्रतियोगितामा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । खेलमा नेपालले दुईपटक कम्ब्याक गर्दै खेल बराबरी गरेको हो ।
नेपालले ४१ औँ मिनेटमा पुनः कम्ब्याक गर्यो । यसपटक प्रीति राईको पासमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसरको सदुपयोग गर्न सकेनन् । फाइनल खेल आगामी बुधबार हुनेछ ।

