मकवानपुर । बागमती प्रदेश सरकारले राजस्व आम्दानीको क्षेत्र बढाउन अध्ययन समिति गठन गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आम्दानीको स्रोत वृद्धिका लागि अध्ययन समिति गठन गरेको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमबमोजिन समिति निर्माण गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकार गठन भएकाे ७ आर्थिक वर्ष पूरा गर्ने चरणमा रहेको छ । यस अवधिमा सरकारको राजस्व स्रोतहरु संकलनको अवस्था, संकलनमा देखिएका समस्यालगायतका विषयमा मन्त्रालयबाट हालसम्म कुनै पनि अध्ययन भएको छैन । प्रदेशमा राजस्वका नयाँ क्षेत्र पहिचान तथा विस्तारको अध्ययन र विश्लेषणका लागि मन्त्रालयले ४ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयले निर्माण गरेको अध्ययन समितिको कार्यविवरण समेत निर्धारण गरिएको छ । सो समितिले प्रदेशको राजस्व संकलन तथा नयाँ क्षेत्रको अवस्थाबारे अध्ययन तथा विश्लेषण गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्ने छ । राजश्वका सम्भावित नयाँ स्रोतहरुको पहिचान तथा क्षेत्र अध्ययन र विश्लेषण कार्यक्रममार्फत् प्रदेशका १३ जिल्लामा नै राजस्वका विषयमा समितिले छलफल तथा अध्ययन गर्नेछ ।
मन्त्रालयले बागमती प्रदेशको राजस्वसम्बन्धी अध्ययन समिति नामाकरण दिएर गठन गरेको समिति संयोजकमा मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली छन् । यसैगरी समितिको सदस्यमा मन्त्रालयका बजेट योजना तथा कार्यक्रम महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, राजस्व तथा वित्त व्यवस्थापन महाशाखा प्रमुख, आर्थिक विश्लेषण तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख, कानुन तथा फैसला कार्यान्वयन शाखाका कानुन अधिकृत, आर्थिक विश्लेषण शाखाका प्रतिनिधि रहेका छन् ।
त्यस्तै, राजस्व क्षेत्रमा अनुभव भएका २ जना विज्ञलाई मन्त्रालयले सदस्यमा मनोनित गर्नसक्ने व्यवस्था रहेको छ भने समितिले मन्त्रालयका सचिवको स्वीकृति लिई आवश्यकताअनुसार अधिकतम ३ जनालाई बैठकमा आमन्त्रित सदस्यका रुपमा राख्न सक्नेछ । मन्त्रालयका राजस्व व्यवस्थापन शाखाका राजस्व अधिकृत समितिको सदस्यसचिव रहने व्यवस्था गरिएको छ ।
पहिलो बैठक बसेकेको मितिबाट ७५ दिन (२ महिना १५ दिन) अध्ययनको अवधि रहेको समितिले अध्ययनको क्रममा बैठक,स्थलगत भ्रमण तथा विभिन्न स्थानमा छलफल कार्यक्रम गर्नेछ । राजस्व अध्ययन समितिले प्रदेशको ३ वर्षको क्षेत्रगत राजश्व संकलनको अवस्था विश्लेषण गर्ने कार्य विवरण रहेको छ भने राजश्वको नयाँ सम्भावित क्षेत्र पहिचान गर्नेछ । विभिन्न चरणको छलफलबाट उक्त कार्य अघि बढाउने मन्त्रालयको तयारी रहेको छ ।
समितिले प्रदेश सरकलाई राजस्व प्रदान गर्ने स्थानीय तहहरुको विवरण तयार गरी अध्ययन गर्ने तथा प्रदेश र स्थानीय तहबिच राजस्व बाँडफाँडमा देखिएको समस्या पहिचान समेत गर्नेछ । मन्त्रालयहरुसँग समन्वय तथा सम्बन्धित सरोकारवलाहरुसँग छलफल/अन्तरक्रिया गरी प्रदेश आर्थिक ऐन, २०८१ ले तोकेको राजस्व संकलनमा कार्यालयलाई परेको समस्याहरु पहिचान गर्नेछ । समितिले राजश्व संकलन तथा बाँडफाँडमा देखिएका समस्या समाधानका उपायहरु समेत समेटेर प्रतिवेदन तयार गरी मन्त्रालयसमक्ष पेश गर्नेछ ।
इच्छाकामना, चितवन । नेपाली महिलाहरुको तीज पर्वकाे देश परिवर्तनका निम्ति महत्वपूर्ण भूमिका रहेको बागमती प्रदेशका वन तथा वातवारणमन्त्री कृष्ण सिलवालले बताएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिकाले कुरिनटारमा आयोजित तीजगीत प्रतियोगितालाई सम्बोन्धन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली महिलाहरुको महान पर्व तीज सांस्कृतिक पर्व मात्र नभई परिवर्तनसँग जोडिएर आउने पर्व भएकाे उनले बताए । ‘हिजोका दिनमा चेलीहरु माइत आएको बेला आफ्नो दुःख, वेदना तीजको गीतमार्फत पोख्ने सांस्कृतिक चलन रहेको थियाे’ उनले भने ‘समाज परिवर्तन र देश परिवर्तनका लागि जनतालाई जागरुक बनाउन पनि तीजगीतहरु गाइने गरेकोले देश परिवर्तनका निम्ति पनि यो पर्वको महत्वपूर्ण भूमिका रहेको छ ।’
तीजगीतकै माध्यमबाट समाजमा राजनैतिक चेतना फैलाउन महिलाहरुले योगदान पुर्याएकोले देशमा परिवर्तन आउन सम्भव भएको उनले बताए । उनले स्थानीय जनताको सकारात्मक परिवर्तनका लागि आफू सदैव लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे । इच्छाकामना गाउँपालिका मन्त्री सिलवालकाे गृह पालिका समेत हाे ।
मकवानपुर । बागमती प्रदेश सरकारले ऐनको रुपमा ल्याउने तयारी गरेको ‘प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०८०’ का बिषयमा सरोकारवालाहरुले दिएको सुझावलाई बागमती प्रदेशसभामा समितिको बैठकमा प्रस्तुत गरिएको छ ।
बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिमा समितिको बैठकमा विधेयकका बिषयमा प्राप्त राय, सुझावहरु लिखित रुपमा समितिको बैठकमा प्रस्तुतीकरण समेत गरेर यसका बारेमा समिक्षा गर्दै सुझावपत्र हस्तान्तरण गरिएको हो ।
सभापति, सांसद, समितिका सचिव, समितिका कर्मचारी र सरोकारवाहरुकाबीचमा अन्तरक्रिया कार्यक्रमका आएका सुझावलाई लिखित रुपमा पेस गरेका जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईले बताए । जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्वन्धमा व्यावस्था गर्न बनेको विधेयकमाथि प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिमा समितिका सभापति, सांसद, समितिका सचिव, समितिका कर्मचारी र सरोकारवाहरुबिच अन्तरक्रिया गरिएको थियो । सोही अन्तकृयामा प्राप्त सुझावलाई लिखित रुपमा प्रस्तुत पेश गरिएको अध्यक्ष हुमागाईले बताए ।
जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाई, अधिवक्ता बालकृष्ण अधिकारीले बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
मकवानपुर । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले नागरिकले घरमै बसेर सुविधा लिने गरी योजना बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । मन्त्रालयको आयोजनामा मंगलबार हेटौंडामा भएकाे सवारी कर तथा नविकरण, दस्तुर संकलन व्यस्थापनका बिषयमा अन्तरक्रियामा उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रदेश सरकार र मातहतका कार्यालय प्रति नागरिकको विश्वास बढाउन विश्वस्त हुनेगरी कार्यसम्पादन गर्नु पर्ने बताउँदै मन्त्री महर्जनले भने, ‘यातायातसम्बद्ध करमा राखिएको छुटको व्यवस्था बारे संचारमाध्यम र सामाजिक संजाल मार्फत् सूचना सम्प्रेषण गरि सुसूचित गर्न आवश्यक रहेकाेले काम गर्न लागि परौं ।’
यस्तै, कार्यक्रममा प्रदेश आर्थि मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मन्त्रालयहरुले बनाएको योजनाहरुको कार्यान्वयनमा अर्थ मन्त्रालयले सधैं साथ दिने बताए ।
कार्यक्रममा सार्वजनिक खरिद ऐन, नियमावली अनुसार बाई ब्याक मेथोड अर्थात् पुरानो दिने नयाँ लिने विधिबाट सरकारी निकायले बिक्री गर्ने सवारी साधनको नामसारीको कार्यविधि तयार पार्ने सम्बन्धमा सुझाव दिन गठित कार्यदलको प्रतिवेदन समेत मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बागमती प्रदेशमा चालु आर्थिक बर्षको लागि जारी आर्थिक ऐनमा यातायात क्षेत्रसँग सम्बन्धित कर संकलनको व्यवस्थाको कार्यान्वयनमा प्रशासनिक सुधार, प्रभावकारीता तथा सेवा प्रवाहका सम्बन्धमा गर्न सकिने सुधारका विषयमा छलफल भएको थियो ।
मकवानपुर। नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाईं चयन भएका छन् । मकवानपुरगढी निवासी हुमागाईंलाई शनिबार भएको सल्लाहकार कमिटीको बैठकले अध्यक्षमा चयन गरेको हाे ।
जिल्लाकै सबैभन्दा ठूलो राजनीतिक दल एमालेकाे सल्लाहकार कमिटी अध्यक्षमा हुमागाईंकाे यो दोस्रो कार्यकाल हो । हुमागाईं मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्वमध्येका एक हुन् । पञ्चायत कालिन समयमा कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा सहभागी हुमागाईंलाई जिल्लामा सम्मानित नेताका रुपमा लिने गरिन्छ ।
पार्टीले मकवानपुरगढीमा पहिलो पटक सम्पर्क गरेको नेताका साथै मकवानपुर गढीमा नेकपा एमालेको जग बसाल्ने हुमागाईं हुन् । उनकै नेतृत्वमा गढीमा एमाले विस्तार भएको थियो ।
यस्तै, एमाले जिल्ला सल्लाहकार कमिटी सचिवमा चेतनाथ खतिवडा चयन भएका छन् । अध्यक्ष हुमागाई र सचिव खतिवडाले शनिवार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ लिए । यसैगरी, ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठकबाट बनमाली सुवेदी अध्यक्ष, चन्द्रकान्ता श्रेष्ठ सचिव चयन भएको एमाले पार्टी जिल्ला अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए ।
मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने पुस्ता, अग्रज नेताहरुको सल्लाह र युवाहरुको साथमा पार्टीलाई गतिशील ढंगले अगाडि बढाउने पार्टी जिल्ला अध्यक्ष पोख्रेलले बताए । जिल्ला अध्यक्ष पोखरेलको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।