इच्छाकामना, चितवन । नेपाली महिलाहरुको तीज पर्वकाे देश परिवर्तनका निम्ति महत्वपूर्ण भूमिका रहेको बागमती प्रदेशका वन तथा वातवारणमन्त्री कृष्ण सिलवालले बताएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिकाले कुरिनटारमा आयोजित तीजगीत प्रतियोगितालाई सम्बोन्धन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली महिलाहरुको महान पर्व तीज सांस्कृतिक पर्व मात्र नभई परिवर्तनसँग जोडिएर आउने पर्व भएकाे उनले बताए । ‘हिजोका दिनमा चेलीहरु माइत आएको बेला आफ्नो दुःख, वेदना तीजको गीतमार्फत पोख्ने सांस्कृतिक चलन रहेको थियाे’ उनले भने ‘समाज परिवर्तन र देश परिवर्तनका लागि जनतालाई जागरुक बनाउन पनि तीजगीतहरु गाइने गरेकोले देश परिवर्तनका निम्ति पनि यो पर्वको महत्वपूर्ण भूमिका रहेको छ ।’
तीजगीतकै माध्यमबाट समाजमा राजनैतिक चेतना फैलाउन महिलाहरुले योगदान पुर्याएकोले देशमा परिवर्तन आउन सम्भव भएको उनले बताए । उनले स्थानीय जनताको सकारात्मक परिवर्तनका लागि आफू सदैव लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे । इच्छाकामना गाउँपालिका मन्त्री सिलवालकाे गृह पालिका समेत हाे ।

