- सिम्रन क्षेत्री
हरितालीका तीज नेपालको एक विशेष पर्व हो र विशुद्ध रुपमा नेपाल र उत्तर भारतमा मनाइने महिलाहरुको चाड हो भनिएता पनि तीज भारतमा भन्दा नेपालमै बढि चल्दै आएको र मान्दै आएका छन् भन्न पनि सकिन्छ। यो पर्व नारीहरुले समृद्धि, दाम्पत्य जीवन र पतिको दिर्घायुको कामना गर्ने पर्व हो। यस पर्वले एउटा छुट्टै इतिहास बोकेको छ । नेपाली क्यालेण्डर अनुसार तीज पर्व भाद्र शु्क्ल पक्षको तेस्रो दिन हिन्दु महिलाहरुले भगवान शिवको पूजा अर्चना गरी व्रत बसी नाचगान गरी मनाउने गर्दछन् ।
जुन सामान्यतया अंगे्रजी क्यालेण्डर अनुसार सेप्टेम्वरको सुरु वा अगस्टको अन्त्यमा पर्दछ । मनसुनलाई स्वागत गर्न तीन दिन सम्म यस पर्व मनाउने गरीन्छ भन्ने पनि प्रचलन छ । गणेश चर्तुथी र ऋषि पन्चमी पनि तीजको अंगको रुपमा मानिन्छ । तीज शब्दको शाब्दिक अर्थ वर्षायाममा माटोबाट निस्कने रातो रङको किरा हो । सोहि किराबाट पर्वको नाम रहन गएको हो भन्ने किम्बदन्ति रहेको छ । त्यसै कारण रातो रङ सहित तीज मनाईने गरिन्छ भन्ने जनविश्वास पनि रहेको छ । अन्य चार्डपर्वहरु जस्तै यस तीज पर्वको पछाडी पनि विभिन्न पौराणिक मान्यता तथा सन्दर्भहरु जोडिएको पाइन्छ ।
शिव पुराण अनुसार, तीज पर्व हिमाल पुत्रि पार्वतीको प्रसङ्ग सँग जोडिएको छ । परापुर्वकालमा हिमालय पुत्रि पार्वतीले भगवान शिवलाई पतिदेवको रुपमा प्राप्त गर्न सकुँ भनि घोर तपस्यामा तल्लिन भइन् तर उनको यो तपस्या पुरा हुन सकेन । तपस्या सफल हुन नसकेपछि । जगतका पालनकर्ता भगवान विष्णुलाई आफ्नो तपस्यामा केहि कमिकमजोरी भएर होकि ! अथवा पूजा विधि नजानेर होकि ! कसरी तपस्या गर्नाले सफल भइन्छ भन्ने कुरा थाहा पाउनका लागि उनले भगवान विष्णुको प्राथना गरीन् । भगवान विष्णुलाई, शिवलाई प्राप्त गर्न के कस्तो व्रत, उपसना, पुजा विधिका सम्बन्धमा बताइदिनका लागि विन्ति चढाइन् ।
त्यसपछि भगवान विष्णुले पार्वतीलाई सम्पूर्ण पूजा विधि बारे जानकारी दिए । हरिले दिएको तालिका अनुसार गर्ने पूजा भएका कारण पनि यस पर्वलाई हरि तालिका तीज भनिएको हो भन्ने कथन रहेको छ । त्यस्तै, श्रीमद्भागवत महापुराणको प्रसङ्ग अनुसार भाद्र कृष्ण अष्टमीको दिन श्री कृष्णको जन्म भएको थियो । श्री कृष्णको जन्म भएको एघारौँ दिन नामाकरणको दिन गोकुलका गोपिनिहरुले बाजागाजा सहित नाचगान गरी खुशियाली साटासाट गरेर उत्सव मनाए । यसकारण पनि तीजमा महिलाहरु नाचगान गरी खुशियाली साटासाट गरेको सन्दर्भमा तीजमा महिलाहरुले नाचगान गर्ने पर्वको थालनी भएको प्रचलन पनि रहेको छ ।
त्यस्तै गरी, राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान श्री विष्णु सँग गरीदिने वचन पार्वतीलाई मन नपरे पछि आफुले मन पराएको वर पाउन जङ्गलमा गएर शिवजीको तपस्या गर्न थालिन । पार्वतीले तपस्या गरेको एक सय वर्ष पुरा भइसक्दा पनि आफुले चाहेको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरिन पानी पनि नपिइकन निराहर व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनि आर्शिवाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । यसै तिथी देखी हिन्दु नारीहरुले यस दिनलाई उत्सवको रुपमा मनाउन थालेको पाइन्छ भन्ने कथन रहेको छ ।
यस पर्वमा विवाह गरेर पराइ घर गएका छोरीचेलीहरुलाई माईत ल्याइने प्रचलन रहेको छ । यस हरितालीका तीजमा महिलाहरुले पराइ घरको विभिन्न जिम्मेवारी तनावको साथसाथै दुःख र पिडालाई बिर्सने र एक आपसमा दुःख सुःख साटासाट गर्ने, मिठा मिठा परीकारहरु खाने तथा नाचगान गर्ने गरिन्छ । पुराना भाका र शैलीका गीतहरु गाउने ति गीतका भाकाहरुको माध्यमबाटै मनको वह पोख्ने तथा समाजमा घटेका घटनाहरुलाई गीतको माध्यमबाट प्रकट गर्ने गरीन्छ । महिलाहरु स्वतन्त्र भएर रमाउन पाउने अवसरको रुपमा पनि यस पर्वलाई लिइन्छ । शिव पार्वतीको पूजा अर्चना गर्ने, श्रिङ्गार गर्ने, दर खाने जस्ता कृयाकलापहरु यस पर्वमा समावेश छन् । अनदिको लट्ट, तिलको छोप हालिएको करेलाको अचारलाइ यस पर्वको विषेश परीकारको रुपमा लिइन्छ ।
धार्मिक महत्व अनुसार, हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । द्वितिया तिथिका राति दर खाइ्रन्छ । तीजका दिन अर्थात तृतीयाको विहान जलाशयमा गई स्नान गरी शुद्ध भई पानी पनि नपिइ निराहर भएर व्रत बस्ने प्रचलन रहेको छ । महिलाहरु शिव मन्दिर तथा ठूलो चौरमा भेला भई नाचगान गर्ने गर्दछन् । साँझमा शिवको पूजा गरी कन्यालाई टिका लगाई फलाहर गर्दछन् । भोलिपल्ट चौथीका दिन गणेश चतु्र्थी गरी व्रतको पालना गरेर खाना खाइन्छ ।
तीजको तेस्रो दिन पञ्चमिका दिन व्रतालु महिलाहरुले ३६५ वटा दत्तुनले दाँत माजेर माटोलेपन गरी स्नान गर्छन् । वैज्ञानिक खोज अनु्सार पनि दत्तुनलाई औषधिको रुपमा प्रयोग गरीन्छ । यस कारण पनि परापुर्वकाल देखि दत्तुनलाई हाम्रो जीवनमा समावेश गरेको पाइन्छ । परम्पारिक महत्व हिमालय पुत्रि पार्वतीबाट सुरु भएको तीजको परम्परा निकै पुरानो छ । हरितालीका तीजको व्रत सकिए पछि मनाइने पञ्चमीको परम्परागत महत्व भने फरक रहेको छ ।
चाहे विवाहित हुन् या अविवाहित हुन् सम्पुर्ण हिन्दु नारीले यो दिन आफ्ना लागी मनाउछन् । यो दिनलाई महिलाको रजस्वलासँग जोडेर हेर्ने परम्परा रहेको छ । युवतीहरु प्रथम रजस्वला पछि मात्र पञ्चमि पूजामा साविक ह्ुन्छन् भने विवाहित तथा प्रौढ एवम् महिलाहरु र रजस्वलाका वखत छुन नहुने चिज वा देविदेवतालाई भुलवस छोइएको भएपनि दत्तुन टोकेपछि सम्पूर्ण पाप पखालिने कुरामा विश्वास गर्छन । पञ्चमीको दिन ऋषिमुनी वशिष्ठ, कश्यप, विश्वामित्र, जमदग्नि, अत्रि गौतम र भारद्वाज ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरो भएर उम्रने कर्कलोको तरकारी तथा एकदलिए अन्न मात्र खाइन्छ । यस दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मियता तथा सद्भाव बढ्ने विश्वास रहेको छ । तीज पर्वको परम्परागत महत्व सम्बन्धसँग जोडिएर आएको छ । सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा आपसमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्वको रुपमा मानिन्छ । अहिले पनि यसको आस्था र महत्व उत्तिकै रहेको छ ।
यस पर्वको सामाजिक महत्व पनि रहेको छ । नेपाल कृषिप्रधान मुलुक भएका कारण बालीनाली रोपीसकेपछि तीज फुर्सदको समयमा मनाईने पर्व हो । यस पर्वलाई आपसी प्रेम वढाउने पर्वको रुपमा पनि लिइन्छ । यो धार्मिक तथा र्सास्कृतिक महत्व वोकेको तीज पर्वले घर भित्र चुलोमा मात्रै रुमल्लीने महिलाहरुलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्नो दुःख सुःख अरु समक्ष पोख्न पाउने भएकाले पनि यस पर्वलाई नेपाली हिन्दु नारीहरुले धुमधामका साथ मनाउने गर्दछन् ।
यस पर्वले महिलाहरुको दुःख, वेदनाको पोकाहरुलाई फुकाउने वातावरण सिर्जना गरीदिन्छ । वालिनाली लगाईसकेपछि फुर्सदको समयमा बाबु दाजुभाई गएर छोरी चेलीलाई भेट्ने, माईती लिएर फर्कने चलन छ । जसलेगर्दा माईती र चेलीको आपसी संम्बन्धलाइ अझै बलियो बनाउन यस पर्वले ठूलो भुमिका खेल्दछ । विवाह भएर टाढा पुगेका दिदीवहिनीबिच भेट गराएर दुःख सुःख साटासाट अवसर पनि यस पर्वले जुराइदिन्छ ।
त्यस्तै, तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व रहेको छ । तीजका दिन महिलाले लगाउने रातो सारी सुःख समृद्धि एवम् साहसको प्रतिक मानिन्छ भने रातो रङले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास रहेको छ । पोतेले शान्ति र आनन्द प्राप्त गर्छ भने रातो टिका सौभाग्यको प्रतिक हो भन्ने जनविश्वास रहेको छ ।
तर, आजभोली समय बित्दै जाँदा यि पवित्र पर्वहरु आधुनिकिकरणको नाउमा होटलमा भेला भएर एक महिना देखी पार्टी आयोजना गरी मदिरा सेवन गर्ने, नाचगान गर्ने एउटा नराम्रो विकृती भित्रिएको छ । त्यस्तैगरी आजभोली उत्श्रीङ्खल गीत गाउने तथा श्रीङ्गारको नाममा गरगहना प्रदर्शन गर्ने र नाचगानको नाममा अङ्ग प्रदर्शन गर्ने जस्ता भड्िकलो शैली अपनाएर दर खाने जस्ता विकृितले हाम्रो संस्कार र संस्कृतिका मुल्य मान्यतालाई घटाउदै गएको साथै लज्जित बनाउदै लगेको छ ।
साथै सामाजलाई दुषित बनाउँदै गएको हुनाले यस्ता नराम्रा विकृतिलाई हटाई हाम्रो रितिरिवाज, चाडपर्व, संस्कार संस्कृती सभ्यतालाई स्वच्छ बनाउन नितान्त आवश्यक छ । यधपि, अहिले हिन्दु महिलाहरुले मान्ने तीज अन्य समुदाय तथा अन्य जातीले पनि मनाउन थालेका छन् । यो हाम्रो लागि राम्रो पक्ष हो तर हिजोआज तिज केहि भड्किलो हँुदै गएको छ । तीजको रमझममा पनि आजभोली पश्चिमेली शैली भित्रीन पुगेको कारण तिज केहि उत्ताउलो हुनथालेको छ ।
यसलाई हामिले वेलैमा सुधार गर्नुपर्दछ र हाम्रो संस्कृतिलाई जोगाउन हामी सबैले आफ्नो – आफ्नो तर्फवाट हामीले सकेको सक्दो पहल गर्नुपर्छ । धार्मिक सांस्कृतिक, सामाजिक, वैज्ञानिक महत्व भएका यि चाडपर्वको रहस्य बुझेर सबैले सत्य तथा समानुचित ढङ्गले यिनको पालना गर्नु हामी सबैको कर्तव्य हो किनकी हाम्रा मूल्यमान्यता, संस्कार र संकृतिले हाम्रो देशलाई चिनाउँछ र हामीलाई चिनाउँछ ।