मकवानपुर। नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाईं चयन भएका छन् । मकवानपुरगढी निवासी हुमागाईंलाई शनिबार भएको सल्लाहकार कमिटीको बैठकले अध्यक्षमा चयन गरेको हाे ।
जिल्लाकै सबैभन्दा ठूलो राजनीतिक दल एमालेकाे सल्लाहकार कमिटी अध्यक्षमा हुमागाईंकाे यो दोस्रो कार्यकाल हो । हुमागाईं मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्वमध्येका एक हुन् । पञ्चायत कालिन समयमा कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा सहभागी हुमागाईंलाई जिल्लामा सम्मानित नेताका रुपमा लिने गरिन्छ ।
पार्टीले मकवानपुरगढीमा पहिलो पटक सम्पर्क गरेको नेताका साथै मकवानपुर गढीमा नेकपा एमालेको जग बसाल्ने हुमागाईं हुन् । उनकै नेतृत्वमा गढीमा एमाले विस्तार भएको थियो ।
यस्तै, एमाले जिल्ला सल्लाहकार कमिटी सचिवमा चेतनाथ खतिवडा चयन भएका छन् । अध्यक्ष हुमागाई र सचिव खतिवडाले शनिवार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ लिए । यसैगरी, ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठकबाट बनमाली सुवेदी अध्यक्ष, चन्द्रकान्ता श्रेष्ठ सचिव चयन भएको एमाले पार्टी जिल्ला अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए ।
मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने पुस्ता, अग्रज नेताहरुको सल्लाह र युवाहरुको साथमा पार्टीलाई गतिशील ढंगले अगाडि बढाउने पार्टी जिल्ला अध्यक्ष पोख्रेलले बताए । जिल्ला अध्यक्ष पोखरेलको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

