चितवन । अक्षर समूहले अनायासै गजलकार रामकृष्ण अनायासलाई सुनाएकाे छ । अनायासले शनिबार चितवनकाे भरतपुरमा सुरुवातमै छोरीकाे नाममा गजल सुनाए..
छोरी नभएको त्यो महल घर लाग्दैन,
सरकार नागरिकतामा किन आमाको थर लाग्दैन ।
परीक्षा आयो पुस्तक कहिल्यै आएन कर्णालीमा,
पर्चा आयो झण्डा बोकेर भोट माग्नेको भर लाग्दैन ।
……
माथिका गजलका शेरमा पाका पुस्तादेखि युवा पुस्ताले वाह वाही गरेका थिए । गजल सुन्न युवापुस्तादेखि पाका स्रस्टासम्मको उपस्थिति थियो । कार्यक्रमकाे माहोललाई सम्बोधन गर्दै अनायासले छोरीको नाममा लेखिएको माथिका गजल सुनाए ।
भरतपुरमा शनिबार युवा गजलकार रामकृष्ण अनायासको ‘गजल साँझ’ आयोजना गरियो । अक्षर समूह चितवनले आयोजना गरेको कार्यक्रममा अनायासले १२ वटा गजल प्रस्तुत गरे । अनायासले गजल मार्फत व्यङ्ग्य गर्दै भने..
आज घरमै बस, बाटोमा सरकारको सवारी छ,
भन्देउ न पुलिस दाइ कतिलाई समात्ने तयारी छ ।
बाले मृगौला बेचेर आमाको उपचार गर्दैछन्,
यता सेवा बन्द भन्दै अस्पतालको सूचना जारी छ ।
……
गजलकार अनायासले गजलमार्फत सुशासनको अपेक्षा राखे । नागरिकलाई अनाहकमा दु:ख दिने सरकारलाई खबरदारी गर्दै उनले भने….
एक्लै निस्किएको छु मसाल बोकेर गाउँबाट,
ए काठमाडौं, म जतिबेला पनि आउन सक्छु ।
मेरा गजललाई त्यति कमजोर नठान महासय,
म गजल लेखेरै यो सरकार गिराउन सक्छु ।
……
उनले माया प्रेम, समसामयिक, राजनीतिक, सामाजिक गजल प्रस्तुत गरेका थिए । सामाजिक संजाल र अनलाइनहरुमा गजल गतिविधि गर्दै आएका अनायास गजल मञ्च चितवनका उपाध्यक्ष हुन् ।
पुस्तक चर्चा एवम् विभिन्न स्रस्टाका जयन्ती तथा दिवस मनाउँदै आएको अक्षर समूहले मोती जयन्तीको अवसर पारेर एकल गजलवाचनको कार्यक्रम गरिएकाे अक्षर समूहका सचिव लेखराम सापकोटा बताए ।
अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातका अनुसार नेपाली गजलमा मोतीराम भट्टको योगदानको सम्मान गर्दै गजल बिधाको कार्यक्रम गरिएको हो । अक्षर समूह चितवनका पूर्व अध्यक्ष भूपिनले संस्थाबाट यसअघि पनि गजलको कार्यक्रम गर्ने क्रममा गजलकार प्रभाकर पण्डितको गजलसङ्ग्रहको अन्तर्क्रिया एवम् गजलवाचन राखिएको बताए ।
अनायासका बारेमा अक्षर समूहका सचिव सापकोटाले चर्चा गरेका थिए ।

