जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर २ मालिवडामा सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आइतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल गुल्म जलेश्वरबाट मालिवडा बसपार्क इलाकामा इन्स्पेक्टर गान्धर कुमार चौलागाईंसहित खटिएको टोलीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको विआर ३१ एके ८८०७ भारतीय नम्बरको अल्टो कार चेकजाँच गर्ने क्रममा उक्त कारमा स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँ फेला पारेको हो ।
कारमा सवार भारतीय नागरिकहरु जिल्ला वैशाली हाजिपुर नगरका ३४ वर्षीय ललन कुमार र सोही ठाउँ वस्ने २६ वर्षीय मोहन कुमारलाई स्रोत नखुलेको उक्त रकम सहित पक्राउ गरिएको ९ गण हेडक्वार्टर महोत्तरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले बताए । उनका अनुसार भारतीय पाँच सय, दुई सय र एक सय दरका नोटहरू हरियो रंगको झोलामा राखी कारको डिक्कीमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला परेको हो ।
स्रोत नखुलेको रकमसहित पक्राउ गरिएका व्यक्ति तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने सशस्त्र प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन् ।

